प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन् « Khabarhub

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका कामबारे २० बुँदे विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका व्यक्तिहरूसँग प्रत्यक्ष जानकारी लिएको बताएका छन् । उनले प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन् ।

उनका अनुसार अहिले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु रहेको छ ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन् ।

प्रधानमन्त्रीका अनुसार हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी छ । आज मात्रै ६९ वटा हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको छ । थप हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको र निजी हेलिकप्टरलाई समेत सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहतमा परिचालन गरिएको उनले बताएका छन् ।

हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।

रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन् । करिब ३ हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ ।

प्रभावित नागरिकको तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत राहत सामग्री १० ट्रक पठाइएको तथा थप खाद्य र गैरखाद्य सामग्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइरहेको उनले जानकारी दिएका छन् ।

प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी तथा आधारभूत सेवाको व्यवस्था गरिएको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थासमेत उद्धार र राहतमा परिचालित रहेको शाहले बताएका छन् । रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

स्वास्थ्यतर्फ स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा १००–१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको प्रधानमन्त्रीले बताएका छन् ।

प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको र विभिन्न अस्पतालबाट मेडिकल टोली, औषधि तथा आवश्यक उपकरणसहित टोली परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

त्यस्तै, प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक तथा धादिङको बैरेनी ब्यारेकलाई सामग्री संकलन तथा वितरण केन्द्रका रूपमा प्रयोग गरिएको छ ।

प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनरीलगायत अत्यावश्यक सामग्री पठाइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट ‘द्यज्क्ष्क्ज्ःब् ऋग्द्यभ्’ समेत त्रिशूलीतर्फ पठाइएको उनले उल्लेख गरेका छन् ।

दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि सरकारले आपत्कालीन प्राथमिकतामा राखेको छ । प्रधानमन्त्रीका अनुसार हालसम्म नेपाल टेलिकमका ३८ र ल्अभिि का ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन् । प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ ।

प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको पनि प्रधानमन्त्रीले बताएका छन् । नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल सुविधा उपलब्ध गराएको तथा ल्अभिि ले समेत निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको उनले जानकारी दिएका छन् ।

सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गर्न निर्देशन दिइएको छ ।

नदी तटीय क्षेत्रमा सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । भोटेकोशी र त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको भन्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको विवरण संकलनका लागि ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको उनले जानकारी दिएका छन् । यसबाट फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई थप लक्षित बनाइने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले मृतकका परिवारलाई प्रचलित कानूनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनको काम व्यवस्थित रूपमा अघि बढाइएको बताएका छन् ।

विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको पनि उनले उल्लेख गरेका छन् । भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ लगायतका अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले अब सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित रहेको बताएका छन् ।

उनले संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै रहेको उल्लेख गर्दै उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : १२ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी