जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र दक्षिण लेबनानका केही क्षेत्र इजरायलमा गाभ्न आह्वान गरेका छन् ।
उनले कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध सैन्य कारबाही अघि बढाउन पनि आग्रह गरेका हुन् । इजरायली समाचार वेबसाइट ‘वाइनेट’ का लागि तयार पारिएको पोडकास्टमा स्मोट्रिचले गाजाको ‘येलो लाइन’ सम्म र लेबनानको लितानी नदीसम्मका क्षेत्र इजरायलमा गाभ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, “म चाहन्छु, हामीले कम्तीमा गाजाको ‘येलो लाइन’ र लेबनानको लितानी नदीसम्मका क्षेत्र गाभौँ । किनभने युद्ध जहाँबाट सुरु भएको हो, त्यहीँ पुगेर अन्त्य भयो भने शत्रुलाई फेरि युद्ध गर्नबाट केले रोक्छ ?”
वेस्ट बैंकलाई इजरायलमा गाभ्ने पक्षमा लामो समयदेखि वकालत गर्दै आउनुभएका स्मोट्रिचले ‘जुडिया र सामरिया’ भनेर उल्लेख गर्दै त्यहाँ सैन्य कारबाही अघि बढाउनुपर्ने र आतङ्कवादलाई समर्थन गने प्यालेस्टाइनी प्राधिकरणलाई विघटन गर्नुपर्ने बताए ।
सन् १९६७ देखि इजरायली कब्जामा रहेको वेस्ट बैंकमा इजरायली र प्यालेस्टाइनीबीचको तनाव तथा हिंसा गाजा युद्ध सुरु भएयता थप बढेको छ । इजरायलले वेस्ट बैंकमा निर्माण गरेका बस्तीलाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत अधिकांश देश तथा संयुक्त राष्ट्रसङ्घले अवैध मान्दै आएका छन् । त्यहाँ पाँच लाखभन्दा बढी इजरायली बसोबास गर्छन् भने करिब ३० लाख प्यालेस्टाइनी पनि सोही क्षेत्रमा बसोबास गर्छन् ।














प्रतिक्रिया