बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान « Khabarhub

बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर बर्सेनि करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।

बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले यस्तो आह्वान गरेको हो। राष्ट्रसङ्घीय महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यस वर्ष पहिलोपटक यो दिवस मनाइँदैछ।

राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेका छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका छन् । गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा उनले गरिबीलाई बालविवाहको प्रमुख कारणका रूपमा औँल्याउँदै द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने बताएका थिए ।

बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको भनाइ थियो।

महासचिव गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ। तर, अहिलेको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उनले चेतावनी दिएका छन्

यसैगरी, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिएका छन्।

बालविवाह मानवअधिकारको उल्लङ्घन भएको उल्लेख गर्दै उनले १८ वर्षलाई विवाहको न्यूनतम उमेर निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन तथा न्याय र संरक्षण सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने र बालिकालाई आफ्ना जीवनसँग सम्बन्धित निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ।

राष्ट्रसङ्घका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख यस क्षेत्रमा छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख महिला तथा बालिका बालविवाहमा परेका छन्।

पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकामा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ।

बालविवाहले बालिकाको शिक्षा, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रतामा असर पार्नुका साथै किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घको भनाइ छ।

दिगो विकास लक्ष्यको लक्ष्य नं ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, वर्तमान प्रगतिको गति कायम रहे बालविवाह अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ।

बालविवाह अन्त्यका लागि कानुनी सुधारसँगै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार र सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : ४३ बजे

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ : भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

खोटाङ– किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । 

बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– विश्वभर बर्सेनि करिब एक करोड २० लाख बालिकाको १८

भारतलाई हराउँदै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा

काठमाडौँ – ओपनरद्वय लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेको शतकीय पारीको

आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम