काठमाडौँ – ओपनरद्वय लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेको शतकीय पारीको मद्दतले भारत ‘ए’ लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार राति सम्पन्न पहिलो सेमिफाइनलमा भारत ‘ए’ ले दिएको ३ सय १८ रनको विशाल लक्ष्य श्रीलंकाले ४१ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाको सहज जितमा ओपनर लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेले पहिलो विकेटका लागि २१ ओभर ३ बलमा १ सय ७४ रनको सानदार साझेदारी गर्दै जितको बलियो आधार तयार पारेका थिए । प्लेयर अफ द म्याच घोषित जयवर्द्धनेले आक्रामक ब्याटिङ गर्दै ७० बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ५ रन बनाए ।
यस्तै, क्रुसपुलेले १ सय ७ बलको सामना गर्दै १२ चौका र ३ छक्का प्रहार गरी १ सय १६ रनको सर्वाधिक योगदान दिए ।
त्यसपछि निशान मदुष्का र कप्तान पवन रत्नायकेले तेस्रो विकेटका लागि अविजित ५३ रनको साझेदारी गर्दै ५१ बल बाँकी छँदै टोलीलाई जित दिलाए ।
मदुष्काले ५६ बलमा ५ चौका र १ छक्कासहित ५८ रन तथा रत्नायकेले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे । भारतका हर्षित राणा र शाहबाज अहमदले १–१ विकेट लिए पनि अन्य बलर महँगो साबित भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रनको योगफल खडा गरेको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७८ रन बनाए ।
यस्तै, शाहबाज अहमदले ४८ बलमा ४ छक्का प्रहार गर्दै अविजित ५४ रन र कप्तान तिलक बर्माले ६६ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । वैभव सूर्यवंशीले २७ बलमा ४० रन तथा तनुष कोटियनले २८ रन जोडे ।
बलिङतर्फ श्रीलंकाका निपुन धनन्जय, रविन्दु फर्नान्डो र जनिथ लियानागेले समान २-२ विकेट हात पारे भने गरुका संकेथ र लाहिरु समाराकुनको नाममा १–१ विकेट रह्यो ।

















प्रतिक्रिया