मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालस्थित ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहलमा पुनर्निर्माण गरिएको हो ।
रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान ध्वज गुल्मको अग्रसरतामा विभिन्न सरकारी निकाय, स्थानीय संस्था तथा व्यवसायीको सहकार्यमा चौतारी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले चौतारीको उद्घाटन गरेका छन् ।
स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आएका बेला मिलिचौरमा आफ्नै नाममा उक्त चौतारी निर्माण गरेका थिए ।
स्थानीय बुढापाकाका अनुसार राजा महेन्द्रले यही चौतारीमा बसेर राराको प्राकृतिक सौन्दर्यबाट प्रभावित हुँदै ‘हिमालमा नेपाल कहाँबाट झर्यौ तिमी, स्वर्गकी अप्सरा रारा’ कविता रचना गरेका थिए । राजा महेन्द्रको रारा भ्रमण र कवितासँग जोडिएको प्रसङ्गले चौतारीलाई ऐतिहासिक महत्व दिएको रोकायाले बताए ।
विसं २०२० मा निर्माण भएको चौतारी उचित संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको थियो । समयमै संरक्षण हुन नसक्दा ऐतिहासिक सम्पदा नै लोप हुने जोखिम बढेपछि पुनर्निर्माण गरिएको हो ।
चौतारी पुनर्निर्माणमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल तथा लज, मष्टो कुलदेवता प्रतिष्ठान, स्मार्ट कटेज तथा रेष्टुरेन्ट र मनकामना रिसोर्टलगायत संस्थाले सहयोग गरेका छन् ।
रारा तालको किनारमा रहेको मिलिचौर खुला चौर र तालको मनोरम दृश्यावलोकनका लागि परिचित छ । पुनर्निर्माणपछि महेन्द्र चौतारी रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बन्ने अपेक्षा गरिएको छ । पर्यटकले चौतारीमा बसेर तालको दृश्यावलोकन गर्नुका साथै तस्बिर तथा श्रव्यदृश्य खिच्ने गरेका छन् ।

















प्रतिक्रिया