आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ : महामन्त्री संग्रौला « Khabarhub

आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ : महामन्त्री संग्रौला


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन आयोगबाट पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक भएसँगै लामो समयदेखिको आन्तरिक विवाद र वैधानिकताको प्रश्न सदाका लागि समाप्त भएको बताएकी छन् । 

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै उनले अब पार्टीभित्र अलमलिनुपर्ने कुनै कारण नरहेको भन्दै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेकी हुन् ।

महामन्त्री संग्रौलाले निर्वाचन आयोगको निर्णयपछि अब ‘हामी नै आधिकारिक कांग्रेस हौँ’ भन्ने स्पष्ट सन्देश देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथ तहसम्म पुर्‍याउनुपर्ने बताइन् । 

पार्टीले अघि सारेको ‘हामी तयार छौँ’ अभियानलाई केवल औपचारिक सभा वा नारामा सीमित नराखी टोल र बुथ तहको वास्तविक संगठनात्मक कार्यभारसँग जोड्नुपर्नेमा उनले जोड दिइन् । 

युवाको ऊर्जा, पुरानाको अनुभव र आम नागरिकको विश्वासलाई समेट्दै आजैबाट बुथ समिति अद्यावधिक गर्ने, क्रियाशील सदस्यता नवीकरणलाई पारदर्शी बनाउने तथा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई व्यवहारमा उतार्नुपर्ने उनले बताइन्  ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संग्रौलाले चुनावको मुखमा गरिने दौडधुपभन्दा आजैदेखिको कार्यशैलीले नतिजा निर्धारण गर्ने बताइन् । 

टिकट वितरणअघि नै स्वच्छ छवि र लोकप्रिय उम्मेदवार चयनको आधार तयार पार्नुपर्ने तथा पार्टीको आधिकारिक निर्णयविरुद्ध बागी उम्मेदवारी दिने वा असहयोग गर्नेलाई तत्काल कडा कारबाही गर्ने सन्देश तल्लो तहसम्म दिनुपर्ने उनले उल्लेख गरिन् । 

विगतमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा कामको तथ्याङ्कसहित प्रचारप्रसार गर्दै आगामी ५ वर्षको स्पष्ट भिजन लिएर जनताको घरदैलोमा जान पनि उनले सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरिन् ।

बैठकमा उनले प्रधानमन्त्री बालेन नेतृत्वको वर्तमान सरकारका पछिल्ला गतिविधिहरू लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासन विपरीत रहेको भन्दै कडा आलोचना गरिन् ।

अमेरिका–इरान युद्धका कारण विश्वभर अस्थिरता र महँगी बढिरहेका बेला जनताका दैनिक समस्या समाधान गर्नुको सट्टा सरकार मौलिक अधिकार संकुचित गर्न लागेको उनले आरोप लगाइन् । 

पत्रिकाको कार्यालयमै गएर धरपकड गर्ने, नेपाल  प्रहरीको अनुसन्धान प्रक्रियामा बाधा पुर्‍याउने र प्रधानमन्त्रीका सल्लाहकार स्वयंले अनुसन्धानका लागि लिइएको  मोबाइल फोन लगेर राख्ने जस्ता गैरकानुनी कार्य कांग्रेसलाई स्वीकार्य नहुने उनले स्पष्ट पारिन् ।

उनले नेपालको राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको चुच्चे नक्सा र ईपीजी प्रतिवेदन बुझ्ने तथा कार्यान्वयन गर्ने राष्ट्रिय अडानबाट सरकार विचलित भएको भन्दै संसद् र सडक दुवै मोर्चाबाट यसको भण्डाफोर गर्नुपर्ने धारणा उनले राखिन् ।

प्राकृतिक विपद् र जनजीविकाका सवाल उठाउँदै महामन्त्री संग्रौलाले गत भदौमा आएको भोटेकोशी, त्रिशूली र बूढीगण्डकी क्षेत्रको बाढीपहिरोबाट प्रभावित नागरिक अझै पुनर्वासको पर्खाइमा रहेको बताइन् । 

प्रभावित परिवारको तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको ग्यारेन्टीका लागि राज्यलाई बाध्य पार्नुपर्नेमा उनले जोड दिइन् । 

त्यसैगरी, विस्थापित र भूमिहीन सुकुम्वासीहरूको समस्यालाई भोट बैंकका रूपमा नहेरी मानवीय मर्यादा र सामाजिक न्यायका आधारमा रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँचसहित सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था मिलाउन पनि उनले  माग गरिन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ६ : १३ बजे

आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ : महामन्त्री संग्रौला

ललितपुर– नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन आयोगबाट

हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले

आगलागीबाट पाँच वर्षमा सोलुखुम्बुमा १६ करोडभन्दा बढीको क्षति

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो पाँच वर्षको अवधिमा आगलागीका घटनाबाट

‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’

दमौली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति

शाहरुखको ‘किङ’को रनटाइम सार्वजनिक, ‘पठान’ र ‘जवान’भन्दा लामो हुने

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म ‘किङ’ प्रदर्शनअघि नै