काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ वैशाख १ गतेदेखि माघ १२ गतेसम्मको अवधिमा नेपालमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावरको आक्रमण, लेक लाग्नु, हिउँ पहिरो आदि गरी ६ हजार ११४ वटा विपद्का घटनामा ४ सय ३१ जनको मृत्यु भएको हो ।
विपद्का घटनामा परी एक हजार ६ सय ७१ जना घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । विपद्का घटनामध्ये सबैभन्दा बढी सर्पदंश (सर्पको टोकाइ) बाट ९७ जनाको मृत्यु भएको छ ।
त्यस्तै आगलागीमा परी ७५, पहिरोमा परी ७१, चट्याङ लागेर ४४, जनावरको आक्रमणमा परी ४३, बाढीमा परी ३७, लेक लागेर ३५, हावाहुरीमा परी ८, भारी वर्षाका कारण ७, हिउँ पहिरोमा परी ६ र वन डढेलोमा परी एकजनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधीमा बाढीमा परी २७, पहिरोमा परी ५, हिउँ पहिरोमा परी ५ र जनावरको आक्रमणमा परी एकजना गरी ३८ जना बेपत्ता भएका छन् ।
विपद्का घटनाबाट उक्त अवधीमा ११ हजार ७ सय ३२ परिवार प्रभावित भएका छन् ।













प्रतिक्रिया