प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गत माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा फागुन १४ गते बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा चार हजार ३८ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भई सम्बोधन गरेको छ ।

प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ९५८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३८६, मतदाता शिक्षासम्बन्धी १५७ र अन्य एक हजार १११ रहेका आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कुल जिज्ञासामा ४२६ ‘भ्वाइस मेल’ रहेका छन् ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम जारी रहेको आयोगले जनाएको छ ।

यसरी खटिएका मतदाता शिक्षा स्वयंसेवकबाट आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने कार्य भइरहेको छ । मतदाता शिक्षा स्वयंसेवकले सम्पादन गरेका कार्यको अनुगमनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनकर्ता तोकी निजहरूबाट अनुगमन तथा सहजीकरणको काम पनि भइरहेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

विद्युतीय मतदाता शिक्षा एकाइबाट ४७० सामग्री उत्पादन गरी प्रचारप्रसार

विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत स्थापना गरिएको मतदाता शिक्षा एकाइले हालसम्म ४७० वटा सामग्री उत्पादन गरेर स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सचेतना सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ । यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धन गर्नुका साथै आममतदाताले आधिकारिक सूचना पाउने अपेक्षा आयोगले गरेको आयोगका प्रवक्ता भट्टराईले बताए ।

मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडियो सन्देश, गीति सन्देश, लघु भिडियो तथा जिङ्गलहरू प्रकाशन एवं प्रसारण गरिरहेको छ । यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका छन् ।

मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा छ ।

निर्वाचनको पूर्वतयारीबारे कूटनीतिक निकायलाई जानकारी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र पर्यवेक्षणको व्यवस्थाका सम्बन्धमा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई आयोगले जानकारी गराएको छ । सो क्रममा छोटो समयमा निर्वाचन तयारी अन्तिम चरणमा पुर्याएकामा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले खुसी व्यक्त गर्दै तयारीका विविध पक्ष तथा पर्यवेक्षण अनुमतिलगायत विषयमा जिज्ञासा राखेका थिए ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि राष्ट्रियतर्फका ३९ वटा र अन्तरराष्ट्रियतर्फ चारवटा गरी ४३ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको छ । अनुमति पाएका संस्थाका प्रतिनिधिलाई अभिमुखीकरण सम्पन्न गरी करिब चार हजार ५०० जना पर्यवेक्षकका लागि परिचयपत्र जारी भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र र निर्वाचन सामग्री

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तथा आवश्यक निर्वाचन सामग्री सातै प्रदेशका सवै जिल्लामा पु¥याइसकिएको जनाएको छ । मतपत्र तथा प्रदेश र जिल्ला कार्यालयबाट खरिद गरिएका बाहेकका सामग्री आयोगले पठाएको हो ।

आसन्न निर्वाचनमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरिएको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ भएको छ ।

एक सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण

आसन्न निर्वाचनमा एक लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम भएका छन् । अस्थायी मतदाताले मतदान गर्नेगरी देशभर जम्मा १४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

आयोगका सचिवको नेतृत्वमा निर्वाचनसम्बन्धी समग्र समन्वय एवं व्यवस्थापनका लागि केन्द्र स्थापना गरी कार्यान्वयनमा रहेको छ । केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र आयोगका प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहेको छ ।

केन्द्रमा नेपाल प्रहरीको सञ्चार उपकरणसहितको टोलीसमेत क्रियाशील छ । केन्द्रले मतपत्र र निर्वाचन सामग्रीको ढुवानीमा सुरक्षा समन्वय, निर्वाचन सुरक्षासम्बन्धी गतिविधि सङ्कलन तथा विश्लेषण, हेलिकप्टर आवश्यक पर्ने मतदान केन्द्रहरूको जिल्लाबाट विवरण लिई एकीकृत गरी सोको परिचालनलगायतका कार्यहरू गरिरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : १४ बजे

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र