सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण « Khabarhub

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ । हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको चपेटामा परिसकेको छ ।

प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार विशेषगरी चुरे क्षेत्रका वनमा डढेलोको प्रभाव अत्यधिक देखिएको छ । जसले वन संरक्षण, जैविक विविधता तथा स्थानीय समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ ।

निर्देशक विष्टले मैदानी क्षेत्रको तुलनामा चुरे क्षेत्रका वनमा डढेलो बढी लागेको बताए। उनले मैदानी क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूह र वन कर्मचारीको सक्रियताले डढेलोलाई तुलनात्मक रूपमा सजिलै नियन्त्रण गर्न सकिने भए पनि चुरे क्षेत्रको भौगोलिक विकटता नै प्रमुख चुनौतीका रूपमा उभिएको बताए। 

‘चुरे क्षेत्र भिरालो, दुर्गम र सडक सञ्जालविहीन छ, डढेलो लागेको स्थानमा पुग्नै जोखिमपूर्ण हुन्छ, कतिपय स्थानमा पुग्नै सकिँदैन’, उनले भने, ‘त्यसमाथि आधुनिक यन्त्र र उपकरणको अभाव छ, जसले नियन्त्रण झन् कठिन बनाएको छ ।’

वन सुरक्षाकर्मी र कर्मचारीलाई डढेलो नियन्त्रणका लागि चुरे क्षेत्रमा पैदलनै जानु पर्ने भएकाले त्यो निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यसले गर्दा सानो आगो ठूलो डढेलोमा परिणत हुने जोखिम बढ्दै गएको छ ।

उनका अनुसार, डढेलो लाग्नुका कारणमा मानवीय गतिविधि प्रमुख रहेको छ ।  स्थानीय गोठालाले छिट्टै हरियो घाँस उमार्ने आशामा आगो लगाउने, च्याउ टिप्ने क्रममा आगो बाल्ने, खेतबारीमा गहुँका नल पोल्ने तथा नाली सरसफाइ गर्दा लगाइएको आगो वन क्षेत्रमा फैलिने कारणले डढेलो निम्त्याउने गरेको पाइन्छ । 

यसका साथै प्राकृतिक कारण र जलवायु परिवर्तनले पनि डढेलोको जोखिम बढाएको छ । विशेषगरी ‘अलनिनो’को प्रभावका कारण तापक्रम बढ्दै जाँदा वन क्षेत्रमा चिस्यान घट्ने र सुख्खापन बढ्ने हुँदा आगो सल्किने सम्भावना उच्च हुन्छ । त्यसको प्रभाव सुदूरपश्चिमका वन क्षेत्रमा पनि परेको छ । 

‘अलनिनो प्रशान्त महासागरको सतह तापक्रम असामान्य रूपमा बढ्ने जलवायु प्रणाली हो, जसले तापक्रम वृद्धि, वर्षा ढाँचामा परिवर्तन र खडेरीको अवस्था सिर्जना गर्छ’वन निर्देशक बिष्टले भने, ‘यस्तो अवस्थामा वन क्षेत्र अत्यधिक सुक्खा हुने भएकाले सानो लापरवाहीले पनि ठूलो डढेलो निम्त्याउन सक्छ ।’
उनी भन्छन्, ‘जति तापक्रम बढ्दै जान्छ, त्यति नै डढेलोको जोखिम र क्षति पनि बढ्दै जान्छ ।’

डढेलोका कारण वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै जडीबुटी, घाँस र काठलगायतका वन पैदावारमा ठूलो क्षति पुग्ने गरेको छ । यसले वनमा आश्रित स्थानीय समुदायको दैनिक जीवन र आयआर्जनमा प्रतिकूल प्रभाव पारेको पार्दै आएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवस्था भने विगतका वर्षको तुलनात्मक रूपमा नियन्त्रणमै रहेको छ । निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनयकुमार झाका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष निकुञ्ज क्षेत्रमा डढेलो कम मात्रामा लागेको छ । 

निकुञ्ज प्रशासनले डढेलो नियन्त्रणका लागि पूर्वतयारीलाई प्राथमिकता दिएको जनाएको छ । सामुदायिक वन क्षेत्रमा भने जोखिम बढ्दै गएको सरोकारवालाले बताएका छन् । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनका पदाधिकारी र उपभोक्ता दिगो वन व्यवस्थापन कार्यविधि छिट्टै लागू गर्नुपर्ने मागसहित केही दिनदेखि आन्दोलनमा रहेकाले वन संरक्षणमा आवश्यक ध्यान पुग्न सकेको छैन । 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ४७ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई