काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई भत्केका टहरामा आफ्ना किताब र सामान खोज्दै गर्दा सोमबार दिउँसो भेटिइन् । प्रगति माध्यामिक विद्यालयबाट कक्षा ६ को परिक्षा दिएर बसेकी ईश्वरीलाई अब कता बस्ने र कहाँ जाने भन्ने पिरलोले सताएको छ । उनलाई नयाँ ठाउँ जाने मन पनि छैन ।
‘अब सातमा पढ्ने हो । तर नयाँ स्कुल जानै मन छैन । वैशाख २२ गतेदेखि स्कुल लाग्छ अरे । म कुन स्कुल जाने भनेर अलमल छु ।’ उनले भनिन् । बस्ने ठेगान नहुँदा कुन र कताको स्कुलमा पढ्ने पनि उनलाई थाहा छैन ।
‘नयाँ बस्ने ठाउँ कहाँ हो, नयाँ साथी कस्ता हुने हुन् ?’ खबरहबसँग उनले प्रश्न गरिन् । ठूलो भएपछि फोटोग्राफर बन्ने सपना बोकेकी ईश्वरी घरबारको ठेगान नहुँदा पढ्नै मन नलागेको बताउँछिन् ।
आफू बस्ने टहरा भत्केपछि परिवारका अरु सदस्यको हालत समेत के गरौँ कसो गरौँ भएको छ । यस्तो अवस्थामा घरकी कान्छी छोरी ईश्वरीलाई आमाबुवा र दाइहरुको चिन्ताले पनि सताएको छ ।
घर नहुँदा परिवारका ठूलो सदस्य पनि निरीह भएको देख्दा उनी खिन्न छिन् । घर भत्किँदा आमाबुवा र दाइहरुले पनि दुःख पाएको देखेर आफूलाई रुन मन लागेको ईश्वरीले सुनाइन् ।
आफू विगत दुई दिनदेखि सरकारले तोकेको होटेलमा बसिरहेको उनले जानकारी दिइन् । तर, आफूहरु सुकुम्बासी हो भन्ने थाहा पाएपछि होटेलवालाले पनि राम्रो व्यवहार नगरेको उनको गुनासो छ ।

‘मलाई बालेन सरकार मन परेको छैन ।’ निर्दोष आँखा टिलपिल पार्दै मलिन स्वरमा उनले भनिन् ।
बस्तीमा पसेर डोजरले २० वर्षदेखि बस्दै आएको टहरा भत्काइदिएपछि शनिबार फूलमाया राई बेहोस् नै भएकी थिइन् । उनलाई प्रहरीले एम्बुलेन्समा वीर अस्पतालाई पुर्याएर उपचार गराए । ६ दशक उमेर नाघेकी फूलमायाले ज्यामी काम गरेर ६ सन्तान हुर्काइन् ।
नातिनातिना खेलाउने उमेरकी फूलमायाको बयोवृद्ध भाग्यमा सुकुमबासी बस्तीको टहरा पनि नसिब भएन । खबरहबसँग उनले दुखेसो पोख्दै भनिन्, ‘डोजर चलेको दिन टेन्सनले बेहोस भएँ । एम्बुलेन्समा राखेर मलाई वीर अस्पताल लगे । कति दुख भोगेँ तर कहिल्यै बेहोस भएको थिइनँ । छानै हरायो, घरै हराएपछि सहनै सकिनछु । जहाँ बस्यो त्यहीँको माया लाग्ने रहेछ ।’

फूलमायाको परिवारमा सात सदस्य छन् । सरकारले व्यवस्था बालाजुस्थित होटलमा उनीहरुलाई तीन वटा कोठा दिइएको छ । तर, त्यहाँ परिवारका महिला र केटाकेटी मात्रै गएर सुतेका छन् । बस्तीमा उनीहरुका २० वटा कुखुरा, पाँच वटा हाँस र तीन वटा कुकुर छन् । यसरी पालेर राखेका जनावरलाई फूलमायाको परिवारले त्यसै छोडेर जान सकेको छैन । त्यसैले, घरका पुरुष सदस्यहरु सुकुम्बासी बस्तीमै टिनको छानो हालेर बसिरहेका छन् ।
भत्किएको टहरा हेर्दा मुटु फुटेको भन्दै भक्कानिएकी फूलमायाले जन्मेको ठाउँभन्दा सुकुमबासी बस्तीकै धेरै माया लागेको बताइन् । उनी भन्छिन्, ‘हामी आइमाई र केटाकेटी मात्रै होटलमा गएर सुतेका छौँ । सामान चोरी हुन्छ भनेर केटाहरु यहीँ बसिरहेका छन् । यहाँ हाँसकुखुरा छन्, यिनीहरुलाई कहाँ लिएर जाने ? दुःख गरेर पालेको कुखुरा यत्तिकै छोडेर जान भएन ।’
‘यहाँ पहिले उसैपनि धेरै चोरी हुन्थ्यो । फेरि खोरमा थुनेर पालेका कुखुरा आफैँ अन्न खोजेर खान जान्दैनन् ।’ उनले भनिन्, ‘बाहिर यत्तिकै छोडर हिँड्न पनि मिलेन । तीन वटा कुकुर छन् । कुकुरलाई पनि होटलमा ठाउँ छैन । मान्छेसँग हाँस, कुखुरा, कुकुर सबै जनावर जोडिएका हुन्छन् नि । हिजो सजिलो हुँदा पाल्ने अनि आज अप्ठेरोमा तिनीहरुलाई छोडेर कसरी हिँड्नु ? होटलमा १५ दिन राख्ने अरे । त्यसबेलासम्म छानबिन गरेर सक्ने भनेको छ ।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पालामा बनाएको अपार्टमेन्टमा आफूहरु नजाने फूलमाया भनाइ छ । ‘दुई कोठामा सात जना परिवारको सदस्य कसरी अटाउँछ ? बसेर मात्रै हुने हो ? काम गरेर खानु पर्दैन ? कि सुकुमबासीको अपार्टमेन्टमा सधैँ खाना पनि आउँछ ? सबै कुरा सरकारले बेहोर्ने हो र ? होइन भने गरिबले काम गरेर खाने वातावरण बन्नुपर्छ कि पर्दैन ? जहाँ गएपनि कुखुरा पाल्ने ठाउँ चाहियो । कमाइ गर्नुपरेन ?’ उनी सरकारलाई प्रश्न गर्छिन् ।
त्यसैगरी, सुकुमबासी बस्तीमै टहराको टिन र बाँस छुट्याउदै गरेकी सुन्तली राईले गरिबमारा सरकारलाई आइन्दा भोट नहाल्ने भन्दै झोँक्किइन् । ‘२० वर्षदेखि यहाँ बसिरहेका छौँ । सुकुम्बासी र हुकुमबासी डोजर लगाएर छुट्याउने हो कि पहिले छुट्याउने हो ? सामान झिक्न नपाउँदै डोजर चलायो । कोठा खोज्न जाने कि सामान थन्क्याउने ?’ उनी प्रश्न गर्छिन् ।
‘जुन घरमा काम गरिन्थ्यो, त्यही घरमा कोठाभाडा माग्न पुगिएछ । सुकुम्बासीलाई सबैले हेप्ने रहेछन् । हामीलाई मान्छेकै दर्जामा राख्दैनन् ।’ सुन्तली थप भन्छिन्, ‘हामी गरिब छौँ । हाम्रो ज्याला पनि थोरै छ । घरजग्गा जोड्न सकेनौँ । तर, काम गरेर खान सक्ने ताकत छ । यो ताकत सरकारले प्रयोग गर्छ कि गर्दैन ?’ आक्रोशित भावमा उनले सोधिन् ।

‘सुकुम्बासी बस्तीमै ज्यामी काम गरेर हुकार्एको छोराले नुवाकोटमा चार आना जमिन किनेको भरमा मलाई हुकुमबासी बनाइदिए । गरिब भनेको आधा पेट खाएरै बस्ने, फाँटेका लुगा लाएरै बस्ने भन्ने हुँदो रहेछ ।’ उनले भनिन्, ‘गरिबले ज्यामी काम गरेर मिठा खान सक्दैन ? राम्रो लाउन सक्दैन ? गाउँमा पखेरो जोड्न सक्दैन ? अब चुनावमा कसैलाई पनि भोट दिन्नँ । गरिबको नेता नहुने रहेछ ।’
चार आना जग्गा भएकी हुकुमबासी भनेर समाचार लेखेको भएर उनी मिडियासँग रिसाएकी रहेछिन् । साथै उनले सधैँ सुकुम्बासीको पक्ष लिने मिडियाले समेत यसपाली साथ नदिएको गुनासो गरिन् । ‘बालेनले मिडिया सबै किनिसकेछ । प्रहरीले बालेनको मिडियाबाहेक अरु मिडियालाई बस्ती छिर्न नदिएर भ्रम छर्यो । बालेनको मिडियाले सबैलाई हुकुमबासीको ट्याग लगाइदियो ।’ सुन्तलीले भनिन् ।













प्रतिक्रिया