जलवायु परिवर्तनका चुनौती बढ्दै « Khabarhub

जलवायु परिवर्तनका चुनौती बढ्दै


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२-८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको देखाएको छ । विश्वव्यापी रूपमा बढ्दो तापक्रम र हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको असर तीव्र बन्दै गइरहेको अवस्थामा नेपालले पनि उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि आफ्ना प्रतिबद्धता तथा कार्यक्रमलाई अघि बढाएको छ ।

आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संरचना तथा सम्झौतामा सक्रिय सहभागिता जनाउँदै आएको छ । नेपाल जैविक विविधता महासन्धि, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना महासन्धि, क्योटो प्रोटोकल र पेरिस सम्झौताको पक्ष राष्ट्र हो । राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६, वातावरण संरक्षण ऐन, २०७६ तथा स्थानीय तहको अनुकूलन कार्ययोजनालगायतका नीति तथा संस्थागत व्यवस्था कार्यान्वयनमा रहेका छन् । 

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को प्रतिवेदन २०२३-२०२४ अनुसार पृथ्वीको औसत तापक्रम पूर्वऔद्योगिक काल (१८५०–१९०००) को तुलनामा १.४५ डिग्री सेल्सियसले वृद्धि भएको छ । 

आगामी वर्षहरूमा यो वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिइएको छ । बढ्दो तापक्रमले वातावरणीय, आर्थिक तथा सामाजिक क्षेत्रमा प्रत्यक्ष असर पार्नुका साथै मानव समुदाय र पारिस्थितिकीय प्रणालीबीचको सन्तुलनमा चुनौती थपिएको प्रतिवेदनमा उल्लेख छ ।

जर्मनवाचले सन् २०२५ मा सार्वजनिक गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (१९९३–२०२२)अनुसार नेपाल जलवायु जोखिमका दृष्टिले उच्च जोखिम भएका मुलुकमध्ये ६९ औँ स्थानमा रहेको छ ।

विश्वव्यापी रूपमा हरितगृह ग्यास उत्सर्जन निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ । सन् १९९० मा विश्वको कूल उत्सर्जन ३२ अर्ब ७३ करोड मेट्रिक टन रहेकोमा सन् २०२३ मा यो बढेर ५० अर्ब ८० करोड मेट्रिक टन पुगेको छ । विश्वको कुल उत्सर्जनमध्ये करिब ६० प्रतिशत हिस्सा चीन, अमेरिका, भारत, रूस, ब्राजिल, जापान र अन्य प्रमुख १० राष्ट्रबाट हुने गरेको छ ।

नेपालमा पनि पछिल्ला वर्षमा हरितगृह ग्यास उत्सर्जन बढ्दो क्रममा रहेको सर्वेक्षणले देखाएको छ । सन् १९९० को दशकमा वार्षिक औसत दुई करोड २७ लाख मेट्रिक टन उत्सर्जन हुने गरेकोमा पछिल्लो दशक (२०१४–२०२३) मा यो बढेर वार्षिक औसत चार करोड ९६ लाख मेट्रिक टन पुगेको छ ।

नेपालको कूल उत्सर्जनमा कृषि क्षेत्रको योगदान अझै उच्च भए पनि यसको अनुपात घट्दो क्रममा छ । सन् १९९० मा कृषि क्षेत्रबाट ७८.२५ प्रतिशत उत्सर्जन हुने गरेकोमा सन् २०२३ मा घटेर ४८.५७ प्रतिशतमा झरेको छ । यद्यपि ऊर्जा, औद्योगिक, भू–उपयोग परिवर्तन तथा यातायात क्षेत्रबाट उत्सर्जन भने बढ्दै गएको छ ।

नेपालले सन् २०२५ मा तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी–३) सार्वजनिक गर्दै सन् २०३० सम्म १७।१२ प्रतिशत र सन् २०३५ सम्म २६।७९ प्रतिशत हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्य निर्धारण गरेको छ ।

जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका क्षेत्रमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय वित्तीय सहयोग पनि प्राप्त गरिरहेको छ । आर्थिक वर्ष २०८१र८२ सम्म विभिन्न १३ परियोजनामार्फत १६३.७९ मिलियन अमेरिकी डलर प्राप्त भएको छ भने चालु आवको फागुनसम्म थप १८ मिलियन अमेरिकी डलर बराबरका तीन परियोजनाका लागि सम्झौता सम्पन्न भएका छन् ।

वन क्षेत्रबाट कार्बन व्यापारमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । तराई भू–परिधिमा सञ्चालन भएको रेड प्लस कार्यक्रममार्फत करिब १८ लाख ८० हजार टन कार्बनडाइअक्साइड उत्सर्जन घटाई पहिलोपटक वन विकास कोषमा ९४ लाख अमेरिकी डलर प्राप्त भएको छ ।

त्यसैगरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आर्थिक वर्ष २०८१-८२ मा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत दुई लाख एक हजार ९२२ मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण गरी कार्बन व्यापारबाट ६६ लाख ५५ हजार युरोभन्दा बढी आम्दानी गरेको छ ।

नेपाल सरकारले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३६ जिल्लाको वन क्षेत्रको कार्बन बिक्रीका लागि ४० मिलियन अमेरिकी डलर बराबरको उत्सर्जन कटौती खरिद सम्झौतासमेत गरेको छ ।

यता, जलवायु परिवर्तनको प्रभाव विशेषगरी हिमाली क्षेत्रमा गम्भीर बन्दै गएको विषयलाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न २०८२ जेठमा काठमाडौँमा सगरमाथा संवाद सम्पन्न गरिएको थियो । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : १३ बजे

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ

निश्चलको आग्रह : अनुसन्धान चाहिँ मबाटै सुरू गरियोस्

काठमाडौं –  गत भदौ २३ र २४ को जेन-जी आन्दोलनबारे

भारतमा चरम गर्मी चेतावनी

नयाँदिल्ली– भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री