काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन् । सर्पले आफूमाथि खतरा महसुस नगरेसम्म हत्तपत्त मानिसलाई आक्रमण पनि गरिहाल्दैनन् । आफूलाई खतरा महसुस हुँदा मात्रै आत्मरक्षाको लागि उनीहरुले टोक्न खोज्छन् । विषालु सर्पले टोक्यो भने मानिसको ज्यानै जान सक्छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा सर्प उद्धार गरेर धेरै कन्टेन्ट क्रिएटरहरु भाइरल भइरहेका छन् । यस्ता कतिपय कन्टेन्ट क्रिएटरहरुले तालिम नै नलिई भ्यूजका लागि स्टन्ट गरिरहेको पाइन्छ । केही समयअघि सानो लापरवाहीका कारण सर्पले टोकेर एक जनाको मृत्यु भएको थियो । त्यसकारण देखासिकीको भरमा उद्धारकर्ता बन्नु ज्यानको लागि जोखिम हुन सक्छ ।
वि.सं.२०६६/६७ सालदेखि सर्प उद्धारकको काम गर्दै आएका यमलाल कँडेलका अनुसार अहिले कतिपय कन्टेन्ट क्रिएटरले भिडियो मनिटाइजेसनको लागि विशेषगरी राजगोमन (किङ्ग कोब्रा) को उद्धार गरेर सामाजिक सञ्जालमा हाल्ने गरेका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘सर्पको भिडियो धेरै मानिसको रुचिको विषय हो । मानिसहरु खतरनाक मानिने सर्प उद्धार गरेको मन पराउँछन् । त्यसकारण भ्यूजका लागि सर्पलाई धेरै दुःख दिने गरेको देखिन्छ ।’
‘कतिपयले जंगलको सर्प पनि उद्धार गर्दै भिडियो बनाइरहेको देखिन्छ, जुन अत्यन्त गलत हो । जंगल, बारी खोला, कुलोका सर्प उद्धार गर्ने होइन, त्यो उनीहरुको घर हो । मान्छेको घर अथवा वस्तीभित्र पसेका सर्प मात्रै उद्धार गर्ने हो । यसबारे धेरैले मेसो पाएका छैनन्’, उनी थप भन्छन्, ‘सर्पको भिडियो हालेपछि डलर कमाइ हुन्छ भन्ने सोचले जहा भेट्यो, त्यहीँको सर्प उद्धार गरेका छन् ।’
४९ वर्षीय कँडेलले अण्डर एसएलसीसम्म मात्रै अध्ययन गरेका छन् । उनी २०५९ सालमा गुल्मीबाट बसाईँ सरेर चितवन झरेका थिए । ९ वर्षको उमेर बुवा बितेपछि उनको बाल्यकाल दुःखमै बिते । मानव सेवा आश्रममा पनि आवद्ध रहेका उनी भन्छन्, ‘बुवाले सके सबैलाई राम्रो गर्नू, नसके नराम्रो कसैलाई नगर्नू भन्नु हुन्थ्यो । बुवाले देखाएको मार्गमा हिँड्ने प्रयास गर्दैछु ।’
सर्प उद्धारको प्रक्रिया कस्तो हुन्छ ? उद्धारकसँग विशेष के गुण हुन्छ ? उद्धारक नहुदाँ के गर्ने ? सर्पको टोकाइबाट कस्तो अवस्थामा मानिसको मृत्यु हुन्छ ? यसको न्यूनीकरणका लागि के–के गर्न सकिन्छ ? यस्तै विषयमा रहेर कँडेलसँग खबरहबले कुराकानी गरेको छ । उनको भनाइ जस्ताको त्यस्तै-
मलाई पहिलेदेखि सर्पले टोकेर मान्छे किन मर्छ ? नेपालमा यति धेरै मेडिकल कलेज छन् । तर, सर्पले टोकेका मानिसलाई किन बचाउन सकिन्न भन्ने जिज्ञासा थियो । मिडियामा पनि मृत्युको समाचार आउँथे तर सर्पको टोकाइबाट बच्ने सतर्कता नआउने हुन्थ्यो ।
गुल्मीबाट चितवन बसाई सर्दा पहिलो पटक नै अजिङ्गर समातेको थिएँ । वन कार्यालयका कर्मचारी, प्रहरी र सर्वसाधारणको अगाडि मैले त्यो अजिङ्गर सजिलै समातेँ । देख्नेसुन्नेले आँटिलो मान्छे भने । अर्को वर्ष पनि समातेँ । त्यसपछि यमलालले सर्प समात्छ भन्ने सन्देश गयो ।
म सरकारी अस्पतालमा सर्पले टोकेर मान्छे कसरी मर्छ ? भन्ने बुझ्न गए । सरकारी अस्पतालमा मात्रै एन्टी स्नेक भेनम किन पाइन्छ, निजीमा किन पाइँदैन ? यसबारे सुरुमा कसैले वास्ता गर्नुभएन । तर बुझ्दै जाँदा जनचेतनाको कमीले सर्पको टोकाइबाट मानिसको मृत्यु हुने रहेछ । सर्पले टोकेपछि झारफुकमा लाग्ने, कपडा अथवा डोरीले बाँध्ने, ब्लेडले काटेर रगत निकाल्ने जस्ता घातक उपाय अपनाउँदा अस्पताल पुर्याउन ढिला हुने र मृत्यु हुने रहेछ । ८ वर्ष अगाडिको तथ्याङ्क अनुसार ३० प्रतिशत मृत्युको कारण ढिला अस्पताल पुग्नु रहेको थियो । अहिले त्यो दर घटेर १० प्रतिशतमा आएको छ ।
त्यसकारण म जनचेतना फैलाउन जुटेँ । अनि टिकटकमा भिडियो बनाएर हाल्न थालेँ । सर्प विशेषज्ञहरुसँग भेटघाट गरेँ, किताब पढेँ । अंग्रेजीमा लेखिएका कुरा छोरीको सहयोगमा पढेर बुझेँ ।
सर्पको टोकाइबाट जसले परिवारको सदस्य गुमाउनुभएको छ, उहाँहरुलाई सर्प मार्नैपर्छ भन्ने लाग्नु स्वभाविक हो । यसमा के भन्न सकिन्छ भने घरभित्र पसेको सर्प कुनैपनि हालतमा बाहिर निस्कन सक्ने अवस्था छैन, सर्पले टोक्ने नै भयो भन्ने अवस्थामा आफ्नो विवेकले काम गर्न सकिन्छ । म मान्छेलाई मारेर भएपनि सर्प बचाउनुपर्छ भन्दिनँ ।
तर, घरभित्र पसेको सर्पलाई सकेसम्म भगाउने नै हो । उद्धार गरेर जंगल फर्काइएको सर्प फेरि वस्तीमा फर्केर आउँछ भन्ने हुँदैन । किङ्ग कोब्रा, ब्याण्डेडेड करेटजस्ता सर्पले कमन करेट, गोमन लगायतका मान्छे मार्ने अरु विषालु सर्प खान्छन् । किङ्ग कोब्रा, ब्याण्डेडेड करेट प्राय जंगलमै बस्छन् । उनीहरु जंगलमा आगलागी हुँदा वा खुराकको कमी हुँदा मात्रै मानव वस्ती छिर्छन् । नत्र आउँदैनन् ।
मानव समुदायले सर्पलाई वस्तीमा आउने वातावरण बनाउनु हुँदैन । सर्पहरु कुहिएका काठमा बस्छन् । त्यसलाई चलाउनु हुँदैन । जंगली जनावर हामीले खान भएन । देशैभरबाट उद्धारको खबर आउँछ । तर सबै ठाउँमा जान सक्दिनँ । त्यसकारण उनीहरुसँग सर्पको फोटो माग्छु । कति घातक सर्प हो, हेर्नुपर्छ । टोकेपनि असर नगर्ने सर्प भएमा उद्धार गर्ने तरिका बताइदिन्छु ।
सिन्धुपाल्चोकबाट केही दिनअघि फोन आयो । तरिका सिकाइदिएपछि किङ्ग कोब्रा उद्धार गरेका छन् । सामाजिक सञ्जालबाट उपायहरु बताइदिन्छु । पारिश्रमिक लिएर काम गरेको छैन । समाजसेवाको रुपमा काम गर्दै आइरहेको छु । राति १२ बजे पनि पुगेर उद्धार गर्छु । सर्प उद्धारकको रुपमा काम गर्दा सबैभन्दा धेरै खर्च भनेको इन्धन हो । जहाँ बोलायो, त्यहाँ पुग्नुपर्छ ।
केही विदेशमा बस्ने साथीहरुले ग्लब, स्टिकहरु पठाइदिनुहुन्छ । त्यो करिब एक वर्षलाई काम लाग्छ । धार्मिक कार्यक्रमहरुमा भजन गाउँछु । हरेक दिन खाजा खान्न । त्यसको सय रुपैयाँ जोगाएर त्यस्तै इक्विपमेन्ट किन्ने गरेको छु । मेरो पार्टी प्यालेस पनि छ । तर कोरोनापछि त्यति राम्रो व्यवसायमा भइरहेको छैन ।
समाजसेवामा जीवन समर्पण गरेकालाई राज्यले उपेक्षा गरेजस्तो लाग्छ । केही मूल्याङ्कन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । सर्प उद्धारकको बीमा सुनिश्चित हुनुपर्ने हो । यस वर्गमा म नपर्न सक्छु । तर सरकारले लायक व्यक्तिका लागि बीमा गरिदिनुपर्छ ।
मेरो वडाले गत वर्ष ५० हजारको इक्विपमेन्ट उपलब्ध गरायो । यो वर्ष पनि उति नै रकम छुट्याइएको रहेछ । उहाँहरुले वडाले सर्प उद्धारको तालिम दिने, जनचेतनाको तालिम राखेको भए त्यो पैसा खर्च गर्नसक्थे । अहिले आएको बजेटको पैसा लिएको छैन ।












प्रतिक्रिया