काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले आग्रह गरेको छ।
सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सरोकारवालालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र राहत तथा उद्धारमा सहभागी हुन अनुरोध गरेको छ।
प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलमा विपद्को कठिन घडीमा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाहरूले देखाएको तत्परता सराहनीय रहेको उल्लेख गरिएको छ।
तर, पूर्वसमन्वयबिना साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र ट्राफिक जाम सिर्जना भएको सचिवालयले जनाएको छ।
सवारी चापका कारण आपतकालीन बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्न कठिनाइ भइरहेको तथा नेपाल सरकारका उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था सिर्जना भएको सचिवालयको भनाइ छ।
त्यस्तै, विषम परिस्थिति र जोखिमयुक्त भूगोलमा आवश्यक पूर्वतयारीबिना पुग्दा स्वयं राहतदाता तथा स्वयंसेवकको सुरक्षामा समेत जोखिम बढ्न सक्ने भन्दै सचिवालयले सचेत गराएको छ।
सचिवालयले राहत तथा उद्धार कार्यलाई थप अव्यवस्थित र जोखिमयुक्त हुन नदिन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने कार्य रोक्न आग्रह गरेको छ। राहत वा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी पूर्वसमन्वय गर्नुपर्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले क्षेत्रगत आवश्यकता र प्राथमिकताका आधारमा प्राप्त राहत सामग्रीलाई सम्बन्धित प्रभावित स्थानसम्म पुर्याउने एकीकृत व्यवस्था मिलाउने सचिवालयले जनाएको छ।
सचिवालयले विपद्को समयमा नागरिक तथा सामाजिक संस्थाले देखाएको सद्भाव र सहयोगको भावनाको कदर गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत सामग्री उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्याउन सबैमा अपिल गरेको छ।












प्रतिक्रिया