भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त « Khabarhub

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

रसुवामा उद्धारको कहालीलाग्दो अवस्था : लास चिन्ने अवस्था छैन



काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो भूभागलाई तहसनहस बनायो। बस्ती बगायो, सडक र पुल भत्कायो, सयौँ परिवार छुटायो र धेरैको अकालमै ज्यान लियो । सयौँलाई बेपत्ताको अवस्थामा पुर्‍यायो।

विपद्को घाउमा उद्धारकर्मीहरू अझै व्यस्त छन्। कतै भग्नावशेषमा हराइरहेकाको खोजी भइरहेको छ, कतै बालुवाले पुरिएका शव निकालिँदै छन्। आफन्तहरू भने भेटिएका शव आफ्नै मान्छेको हो कि होइन भन्ने पहिचान गर्न नसक्ने पीडादायी अवस्थामा छन्।

यही बीच चीनतर्फको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेको खबर आएपछि त्रिशूली र भोटेकोशी आसपासका क्षेत्रमा फेरि सतर्कता बढाइएको छ। तर स्थानीय जनप्रतिनिधिले अहिलेको अवस्था बुधबारजस्तो भयावह नरहेको बताए ।

ठूलो विनाश हुने अवस्था छैन, तर सुरक्षित रहनुपर्छ

गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले चीनबाट ताल फुटेको जानकारी आएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सतर्क गराइएको बताएका छन् ।

चीनबाट करिब आधा घण्टाअघि मात्रै बाढीको सूचना आएको थियो। त्यसपछि नदी किनार र जोखिममा रहेका क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ।

‘पहिला जहाँ बाढी आएको थियो, त्यही क्षेत्रमा असर गर्ने भएकाले त्यहाँ ठूलो विनाश भइसकेको छ। पहिलाको जति विनाश हुने अवस्था छैन। तर राहत र उद्धारका लागि मानिसहरू खटिरहेका छन्, त्यसकारण केही समस्या र जोखिम हुन सक्छ भनेर उताबाट जानकारी आएको छ,’ अध्यक्ष तामाङले भने।

उनका अनुसार अहिले प्रहरीले जोखिम क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेको छ। ‘त्रिशूली नदीको बहाव जाने क्षेत्रमा जोखिम रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको म्यासेज आएको छ,’ उनले भने।

रसुवाबाट चिनियाँ क्षेत्रमा ताल बनेको स्थानसम्म पुग्न करिब १७ देखि २० किलोमिटर दूरी रहेको जानकारी आएको छ। त्यसैले तत्काल ठूलो त्रास फैलाउनुपर्ने अवस्था नभए पनि रातिको समय र जारी उद्धार कार्यका कारण थप सावधानी आवश्यक रहेको उनको भनाइ छ।

‘आत्तिहाल्नुपर्ने र ठूलो विनाश हुने अवस्था नरहे पनि रातको समय भएकाले र उद्धार कार्य भइरहेकाले केही गतिविधि स्थगित गर्नुपर्ने हुन सक्छ। यस विषयमा छलफल भइरहेको छ,’ उनले भने।

नदी किनार खाली गराउँदै सुरक्षाकर्मी

गोसाईकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार वाईवाले त्रिशूली र भोटेकोशी नदी आसपास रहेका नागरिकलाई अहिले डाँडातर्फ सार्ने काम भइरहेको बताएका छन्।

बाढीको बहाव बुधबारको तुलनामा निकै कम भए पनि नदी किनारमा बस्न जोखिम रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको उनले बताए।

‘नदी किनार आसपासमा रहनुभएका व्यक्तिहरूलाई डाँडातर्फ सार्ने काम भइरहेको छ। नदी किनार आसपासका क्षेत्रमा उद्धार कार्य पनि रोकिएको छ। बाढी आइरहेको छ तर त्यसको बेग बुधबारको जति ठूलो छैन,’ वाईबाले भने।

बुधबारको बाढीबाट जोगिएका माथिल्लो क्षेत्रका केही बासिन्दालाई समेत अहिले सुरक्षित स्थानतर्फ सारिँदै गरेको उनले बताए । ‘भयानक नै हुने अवस्था छैन तर सतर्क हुनुपर्ने देखिन्छ। प्रहरीले पनि सूचना जारी गरिरहेको छ। सूचनालाई हेलच्याक्र्याइँ नगरी डाँडातर्फ गइदिनुहोला,’ उनले आग्रह गरे।

उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई समेत सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान भनिएको उनले बताए।

उद्धार रोकिएको छैन

बाढीको नयाँ जोखिमका कारण केही समय त्रास बढे पनि पानीको बहाव ठूलो मात्रामा नबढेको वडाध्यक्ष वाईबा बताउँछन्।

‘खबर आएपछि सबैजना सुरक्षित स्थानतर्फ जानुभएको छ। तर ठूलो मात्रामा बहाव बढेको छैन। अहिले त्यस्तो ठूलो जोखिम छैन। जुनसुकै बेला पनि हुन सक्छ भन्ने किसिमको सूचना भने आइरहेको छ,’ उनले भने।

चीनतर्फ पानीको बहाव घटेपछि त्यहाँ खोजी तथा उद्धार कार्य पुनः अघि बढिरहेको जानकारी आइरहेका बेला नेपालतर्फ पनि सतर्कता अपनाउँदै खोजी कार्य जारी राखिएको छ।

लास चिन्न नसक्दा अर्को पीडा

विपद्को सबैभन्दा कठिन पाटो अहिले उद्धारपछि सुरू भएको छ। धुन्चे क्षेत्रका वडाध्यक्ष दावा सिदार वाईवाका अनुसार नेपाली सेनाले विभिन्न स्थानबाट शव निकालिरहेको छ। तर शवको पहिचान गर्न समस्या भइरहेको छ।

‘विडम्बना के छ भने शव चिन्ने अवस्था छैनन्। धेरैजना आफन्त गुमाएको पीडामा हुनुहुन्छ, तर लास पनि कसको हो भनेर ठम्याउने अवस्था छैन। कस्तो परिस्थिति बन्यो,’ उनले भने।

बाढीले शवलाई बालुवा, माटो र भग्नावशेषमा पुरेको तथा धेरै शव क्षतविक्षत अवस्थामा भेटिने भएकाले आफन्तबाट तत्काल पहिचान हुन नसकेको उनले बताए।

यसले उद्धारपछिको अर्को मानवीय संकट सिर्जना गरेको छ। आफन्त गुमाएका परिवार एकातिर आफ्नो मान्छे हराएको पीडामा छन् भने अर्कोतिर भेटिएको शव आफ्नै आफन्तको हो कि होइन भन्ने निश्चित गर्न नसक्ने अवस्थामा छन्।

वाईबाका अनुसार यस्ता परिवारलाई मनोसामाजिक परामर्शको आवश्यकता पनि देखिएको छ। ‘आफन्त गुमाएर धेरै व्यक्ति छटपटाइरहनुभएको छ। उहाँहरूलाई कसरी काउन्सेलिङ गर्ने भन्ने विषय पनि सोच्नुपर्ने देखिन्छ,’ उनले भने।

रसुवादेखि चितवनसम्म खोजी

बाढीले बगाएका तथा बेपत्ता भएका व्यक्तिको खोजी अब एउटा गाउँ वा जिल्लामा सीमित छैन। वाईबाका अनुसार रसुवादेखि चितवनसम्म त्रिशूली र त्यससँग जोडिएका नदी किनारमा शव तथा बेपत्ताको खोजी गर्नुपर्ने अवस्था छ।

‘ठूलो संख्यामा सेनालाई खोजीका लागि परिचालन गरिएको देखिन्छ। रसुवादेखि चितवनसम्मको नदी किनारका क्षेत्रमा नै शवहरू खोज्नुपर्ने अवस्था छ,’ उनले भने।

सुरुङभित्र फसेका व्यक्तिको उद्धार प्रयास पनि जारी रहेको उनले बताए। विभिन्न स्थानमा फसेकाहरूलाई निकाल्ने काम भइरहेको छ भने भेटिएका शवलाई सुरक्षित स्थानमा लैजाने काम पनि सँगसँगै चलिरहेको छ।

तर अहिलेसम्म कति मानिस हराइरहेका छन् भन्ने यकिन विवरण तयार पार्न कठिन भइरहेको छ।

संख्या यकिन गर्न कठिन

विपद् प्रभावित क्षेत्रमा स्थानीयबाहेक बाहिरबाट आएका मानिसहरूको संख्या पनि उल्लेख्य भएकाले बेपत्ताको वास्तविक संख्या निर्धारण गर्न समस्या भइरहेको वडाध्यक्ष वाईबाले बताए।

‘कति संख्यामा हराउनुभयो भन्ने नामावलीको यकिन विवरण तयार पार्ने कोसिसमा छौँ। तर धेरै बाहिरबाट आएका मान्छेहरू पनि भएकाले समस्या छ,’ उनले भने।

यसले उद्धार र खोजी मात्र होइन, मृतक तथा बेपत्ताको वास्तविक तथ्यांक संकलनमा समेत चुनौती थपेको छ।

उद्धारमा कोसिस जारी

स्थानीय जनप्रतिनिधिहरूले विपद्पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धारमा सक्रिय रहेको बताएका छन्।

‘सरकारका तर्फबाट उद्धारका लागि कुनै पनि कसुर बाँकी राखिएको छैन। जति सक्दो चाँडो समस्या समाधान गरौँ भनेर सबैजना लाग्नुभएको देखिन्छ,’ उनले भने।

उनका अनुसार हेलिकोप्टरबाट पनि प्रभावित क्षेत्रको निगरानी भइरहेको छ भने नेपाल र चीनबीच पनि निरन्तर समन्वय भइरहेको छ।

बढेको बहावले रोक्न सक्छ उद्धार

उद्धारकर्मीहरूका लागि अहिले सबैभन्दा ठूलो चुनौती मौसम र नदीको बहाव बनेको छ। अहिलेको अवस्था सामान्य बन्दै गएको भए पनि चीनतर्फबाट पानीको बहाव बढेको सूचना आएमा नेपालतर्फ भइरहेको खोजी तथा उद्धार तत्काल रोक्नुपर्ने हुन सक्छ।

‘उद्धार कार्य आज सकिनुपर्ने हो। तर उताबाट बहाव बढेको सूचना आएपछि रोक्नुपर्ने हुन्छ, सतर्कता अपनाउनुपर्ने हुन्छ। त्यसकारण समस्या भयो,’ उनले भने।

बाढीले बगाएको ठूलो क्षेत्र, बालुवाले पुरिएका शव र क्षतिग्रस्त संरचनाका कारण उद्धार कार्य कहिले पूर्ण रूपमा सकिन्छ भन्ने यकिन गर्न नसकिने उनको भनाइ छ।

‘सबै शव बालुवाले पुरिएको अवस्थामा छन्। त्यसकारण यसै भन्न सकिने अवस्था छैन,’ उनले भने।

एउटा बाढीको घाउमाथि अर्को जोखिम

बुधबारको बाढीले रसुवासहितका क्षेत्रमा छाडेको घाउ अझै ताजा छ। उद्धारकर्मीहरू थाकेका छन्, परिवारहरू आफन्तको खोजीमा छन् । स्थानीय प्रशासन क्षतिको वास्तविक विवरण संकलन गर्न संघर्ष गरिरहेको छ।

यही अवस्थामा चीनतर्फ बनेको ताल फुटेको खबरले फेरि त्रिशूली र भोटेकोशी किनारमा त्रास सिर्जना गरेको छ।

तर स्थानीय जनप्रतिनिधिको सन्देश स्पष्ट छ: अहिले बुधबारजस्तो ठूलो विनाशको संकेत छैन, तर जोखिमलाई सामान्य ठानेर नदी किनारमा बस्नु हुँदैन।

अहिलेको प्राथमिकता एउटै छ, नागरिकलाई सुरक्षित राख्ने र रोकिएको उद्धारलाई सम्भव भएसम्म छिटो पुनः अघि बढाउने। त्यसका लागि नदीको प्रत्येक बहाव, चीनतर्फबाट आउने प्रत्येक सूचना र मौसमको प्रत्येक परिवर्तन महत्वपूर्ण बनेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : ५३ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा