काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढीविद्ले बताएका छन् ।
जलविज्ञान तथा जलअनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चामेमा पहिरो खसेर नदी थुनिए पनि मनाङको जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कमा तत्काल नदीको जलसतह घट्दो क्रममा रहेको जानकारी दिएका छन् ।
‘नदी थुनिए पनि ठूलो जोखिम छैन, तर आवश्यक सतर्कता अपनाउन जरुरी छ’, उनले भने, ‘मनाङको जलमापन केन्द्रबाट उपलब्ध तथ्यांकअनुसार तत्काल पानीको सतह बढेको देखिँदैन । अहिले वर्षा पनि रोकिएकाले नदीमा पानीको सतह घट्दै गइरहेको छ ।’
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार चामेस्थित मर्स्याङ्दी नदीमा पहिरो खसेपछि नदी आंशिकरूपमा थुनिएको हो । बाढीविद् पराजुलीले नदीको अवस्था र जलसतहको निरन्तर निगरानी भइरहेको जनाउँदै तत्कालका लागि उच्च जोखिम नरहे पनि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।














प्रतिक्रिया