काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको छ । गाउँका फाँटहरूमा यतिबेला धान पाक्ने क्रममा छ भने पाकिसकेको बाली भित्र्याउने सुरुवाती काम थालिएको छ ।
अहिले मुख्यतः मौसमको अवस्था हेर्दै किसानहरू बिस्तारै धान काट्ने, खेतमै सुकाएर कुनिउँ लगाउने र त्यसपछि दाइँ हालेर धान झाँट्ने काममा जुटेका छन् ।
भौगोलिक कठिनाइ र आधुनिक थ्रेसर मेसिन सहजै उपलब्ध नभएका कारण पहाडी भेगमा अझै पनि बिहानको पारिलो घामसँगै खेतको खलामा गोरु घुमाइघुमाई परम्परागत शैलीमै दाइँ हाल्ने गरिएको छ । गाउँबाट युवाहरू बाहिरिएका कारण कृषि जनशक्तिको अभाव भए पनि यहाँका किसानले ‘अर्म-पर्म’ परम्परालाई जीवितै राखेका छन् ।
पालैपालो सामूहिक रूपमा काम सघाउने यही संस्कृतिका कारण वर्षभरिको मेहनतले उब्जाएको बाली समयमै घर भित्र्याउन सहज भएको छ। फाँटतिर भर्खरै सुरु भएको यो धान काट्ने, कुनिउँ लगाउने र दाइँ हाल्ने काम सकिए लगत्तै फेरि पाकेको कोदो बाली थन्काउने चटारो सुरु हुन्छ ।
मंसिर-पुस हिउँदसम्मै गाउँघरमा यस्तै खेतीपातीको कामले व्यस्तता बढाउने गर्छ ।
तस्बिरहरू : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी





















प्रतिक्रिया