काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले परिपत्र जारी गर्दै सरकारी वेबसाइटहरूको साइबर सुरक्षा मजबुत बनाउन र प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न तोकिएको सुरक्षा मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।
केन्द्रले सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मन्त्रालय तथा स्थानीय तहलाई मातहतका वेबसाइटमा प्रयोग भइरहेका एसएसएल/टीएलएस प्रमाणपत्रको वैधता तत्काल जाँच गर्न निर्देशन दिएको छ। प्रमाणपत्र नभएका वा म्याद सकिएका वेबसाइटमा आधिकारिक निकायबाट वैध प्रमाणपत्र जडान गरी आवश्यक कन्फिगरेसन मिलाउन पनि भनिएको छ।
निर्देशनअनुसार सरकारी वेबसाइटहरू सुरक्षित सञ्चार माध्यम एचटीटीपीएस (HTTPS) मार्फत मात्र सञ्चालन हुने व्यवस्था मिलाउनुपर्नेछ। साथै, वेबसाइटमा टीएलएस १.२ वा टीएलएस १.३ प्रोटोकल मात्र प्रयोग गर्नुपर्नेछ।
केन्द्रले पुराना तथा असुरक्षित एसएसएल, टीएलएस १.० र टीएलएस १.१ प्रोटोकल पूर्ण रूपमा निष्क्रिय गर्न पनि निर्देशन दिएको छ। एसएसएल/टीएलएस प्रमाणपत्रको म्याद समाप्त हुनुअघि नै नवीकरण गर्ने व्यवस्था मिलाउन र त्यसलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।















प्रतिक्रिया