बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा रेलका दुई डिब्बा लिकबाट बाहिरिएका छन् भने दर्जनौँ यात्रु घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी म्याड्रिडबाट दक्षिणपश्चिमी सहर सेभिलतर्फ गइरहेको तीव्र गतिको रेल रोकिएको अर्को रेलको पछाडिको भागमा ठोक्किएको हो । स्पेनी अधिकारीहरूले सुरुमा १० जनाको मृत्यु भएको बताएका थिए । पछि सरकारी समाचार संस्था ईएफई लगायतका सञ्चारमाध्यमले मृतकको सङ्ख्या कम्तीमा ३० पुगेको जनाएका छन् ।
रेल सञ्जाल सञ्चालक संस्था एडीआईएफका अनुसार दुर्घटना टोलेडो प्रान्तमा भएको हो । घटनापछि म्याड्रिड, सिउदाद रियल तथा आन्डालुसिया क्षेत्रबीचको रेल सेवा स्थगित गरिएको छ ।
कास्टिला–ला मान्चा क्षेत्रकी प्रवक्ता एस्थर पाडिलाका अनुसार उर्दा र लस येबेनेस सहरबीच खेतबारीले घेरिएको समथर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा एउटा रेलको डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने त्यसका धातुका टुक्रा घटनास्थलमा छरिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले सरकारी प्रसारण संस्था टीभीईलाई बताएअनुसार उद्धारकर्मीहरू सबैभन्दा बढी क्षति पुगेका दुई डिब्बामा केन्द्रित भएर फसेका यात्रुको उद्धार तथा शव निकाल्ने काममा जुटेका छन् । घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा पठाइएको छ ।
‘ठक्कर निकै तीव्र थियो । त्यसैले यो ठूलो त्रासदी हुने अनुमान गरेका छौँ,’ गार्सियाले भने।
स्पेनी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा सरकारी रेल कम्पनी रेनफे र निजी रेल कम्पनी इरियोका रेल संलग्न थिए । प्रारम्भिक विवरणअनुसार रेनफेको रेलले इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।
पाडिलाका अनुसार रेनफेको रेलमा ३९७ र इरियोको रेलमा १४७ यात्रु सवार थिए । इटालेली स्वामित्वको इरियोले आफ्ना सुरक्षा प्रोटोकल सक्रिय पारिएको र सम्बन्धित अधिकारीसँग समन्वय भइरहेको जनाएको छ ।
दुर्घटनापछि उद्धार कार्यमा आपतकालीन सेवा, दमकल र प्रहरी परिचालन गरिएको छ । उद्धार कार्यमा सहयोग गर्न सैन्य आपत्कालीन टोलीसमेत खटाइएको छ । नजिकैको उर्दा सहरका मेयर म्यानुएल गालानका अनुसार घाइते यात्रुको हेरचाहका लागि स्थानीय खेलकुद भवनलाई तयारी अवस्थामा राख्न नागरिक सुरक्षा अधिकारीहरूले नगरपालिकालाई आग्रह गरेका थिए ।
दुर्घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्ना पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । कास्टिला–ला मान्चा क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजले पनि आफू दुर्घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिएका छन् ।
यसअघि जनवरीमा दक्षिणी स्पेनमा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएपछि जनवरीको घटना स्पेनको सबैभन्दा घातक रेल दुर्घटना बनेको थियो । त्यस घटनाले देशको व्यापक उच्च गतिको रेल सेवाको सुरक्षाप्रति समेत प्रश्न उठाएको थियो ।














प्रतिक्रिया