एजेन्सी – पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा हेलिकप्टरका पाइलट गम्भीर घाइते भएका छन्।
पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादनका लागि परिचित दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यका (भ्राएम) क्षेत्रमा गस्ती तथा उद्धार अभियान सञ्चालन गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको थियो। दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने बाँचेका पाइलट एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि राजधानी लिमा लगिएको छ।
अधिकारीहरूका अनुसार अयाकुचो क्षेत्रको दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार रातिदेखि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। ती सैनिकलाई उद्धार गर्नुपर्ने कारणबारे भने अधिकारीहरूले खुलाएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा उद्धार गरिएका सैनिकसमेत रहेको जनाइएको छ।
पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भ्राएम उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको गतिविधिका कारण दशकौँदेखि सैन्य निगरानीमा रहँदै आएको छ।
यसअघि गत फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।
संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु विश्वमा कोकाको पात र कोकेन उत्पादन गर्ने प्रमुख मुलुकमध्ये एक हो।

















प्रतिक्रिया