काठमाडौँ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बी ‘पर्म’ सार्वजनिक गर्दै सन् २०३० सम्म नौसेनामा थप पाँच वटा यस्ता पनडुब्बी समावेश गर्ने घोषणा गरेका छन्।
क्रेमलिनले सार्वजनिक गरेको भिडियोअनुसार राष्ट्रपति पुटिनले शुक्रबार उत्तरपश्चिमी सहर सेभेरोद्विन्स्कस्थित सेभ्माश शिपयार्डमा आयोजित समारोहमा पनडुब्बीको अनावरण गरेका हुन् । अनावरणलाई उक्त पनडुब्बी नौसेनालाई औपचारिक रूपमा हस्तान्तरण गर्ने प्रक्रियाका रूपमा लिइएको छ ।
समारोहमा पुटिनले रूस विश्वका थोरै देशमध्ये एक भएको बताउँदै अत्याधुनिक आणविक पनडुब्बी निर्माण गर्ने क्षमता रहेको उल्लेख गरे। उनले यस्ता हतियारको विश्वव्यापी पहुँच र रणनीतिक महत्व रहेको बताए।
पुटिनका अनुसार सन् २०३० सम्म रूसी नौसेनाले थप पाँच वटा आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बी प्राप्त गर्नेछ । तीमध्ये तीन वटा यासेन–एम वर्गका हुनेछन् । ‘पर्म’ पनि यही वर्गको पनडुब्बी हो ।
यी पनडुब्बीले क्रुज मिसाइल बोक्न सक्ने र विश्वका विभिन्न समुद्री क्षेत्रमा सञ्चालन गर्न सक्ने क्षमता राख्छन् ।
आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बी रूसको आणविक प्रतिरोध क्षमताको महत्वपूर्ण हिस्सा मानिन्छन् । लामो समयसम्म पानीमुनि गोप्य रूपमा सञ्चालन हुन सक्ने भएकाले यस्ता पनडुब्बीले सम्भावित आक्रमणपछि पनि जबाफी कारबाही गर्ने क्षमता प्रदान गर्छन् ।














प्रतिक्रिया