बर्दिया– भूमि प्रशासनसम्बन्धी सेवा नागरिकलाई आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने सरकारी नीतिअनुसार बर्दियामा सेवा विस्तारको तयारी तीव्र पारिएको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये राजापुर र ठाकुरबाबा नगरपालिकाले सेवा सञ्चालनमा ल्याइसकेका छन् भने बाँकी छ स्थानीय तहले पनि मङ्सिरभित्र सेवा सुरु गर्ने तयारी गरेका छन् ।
भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारी योजनाअनुसार जिल्लामा पहिलो चरणको काम अघि बढाइएको हो । स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले सदरमुकाम वा सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
राजापुर नगरपालिकाले गत असोज १३ गतेदेखि भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको हो । नगरप्रमुख दीपेश थारूका अनुसार चार जना कर्मचारी करारमा नियुक्त गरी सेवा सुरु गरिएको थियो । नगरपालिकाले आफ्नै जनशक्तिसमेत परिचालन गरी हाल नौ जना कर्मचारीमार्फत सेवा प्रवाह गरिरहेको छ ।
नगरपालिकाले छुट्टै शाखा स्थापना गरी मालपोत तथा नापीसम्बन्धी सेवा दिइरहेको छ । भूमि प्रशासन शाखाका प्रमुख तथा सहायक प्रशासकीय अधिकृत सञ्जीव ज्ञवालीका अनुसार शाखामा दैनिक औसत पाँच जना सेवाग्राही सेवा लिन आउने गरेका छन् ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिका कार्यक्षेत्र रहेको भूमि प्रशासन कार्यालय राजापुरमै सञ्चालनमा रहे पनि नगरपालिकाले छुट्टै संरचना बनाएर सेवा दिन थालेको उनले बताए।
यसैगरी, ठाकुरबाबा नगरपालिकाले गत मङ्सिर २ गतेदेखि भूमि प्रशासन सेवा सुरु गरेको छ । नगरपालिकाले आफ्नै जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले बताए।
प्राविधिक सहयोगका लागि भूमि प्रशासन कार्यालय र नापी कार्यालय बर्दियासँग थप जनशक्ति माग गरिएको उनले जानकारी दिए । हाल दुवै नगरपालिकाले अनलाइन प्रणालीमा जग्गाधनी पुर्जाको विवरण प्रविष्टि भएका जग्गाधनीलाई मात्र सेवा उपलब्ध गराइरहेका छन् ।
राजापुर नगरपालिकाको भूमि प्रशासन शाखा प्रमुख ज्ञवालीका अनुसार मालपोततर्फ लिखत पारित, नामसारी, रोक्का तथा फुकुवालगायत सेवा प्रदान भइरहेका छन् । त्यसैगरी, नापीतर्फ जग्गा नापजाँच, रेखांकन, कित्ताकाट, ट्रायल चेक तथा ट्रेस नक्सा उपलब्ध गराउने काम भइरहेको छ ।
भूमि प्रशासन कार्यालय बर्दियाका प्रमुख धर्मराज बिनाडीका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्राचारअनुसार स्थानीय तहले एक महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । मन्त्रालयले गत कात्तिक १६ गते जारी गरेको सूचनाबमोजिम मङ्सिर १६ गतेभित्र जिल्लाका सबै स्थानीय तहमा सेवा सुरु गर्ने लक्ष्यसहित समन्वय भइरहेको उनले बताए ।
बर्दियाका आठवटै स्थानीय तहमा सेवा सञ्चालनका लागि भूमि प्रशासन कार्यालयले सहजीकरण गरिरहेको छ । सेवा सुरु गर्न बाँकी स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको प्रमुख बिनाडीले जानकारी दिए ।
बढैयाताल गाउँपालिकाले पनि मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारूका अनुसार सेवा प्रवाहका लागि आवश्यक कर्मचारी माग गर्दै मन्त्रालयमा पत्राचार गरिएको छ ।
नापी कार्यालय बर्दियाले स्थानीय तहमा नापीसम्बन्धी सेवा सञ्चालनका लागि समन्वय गरिरहेको छ । सेवा सुरु हुन बाँकी पालिकामा सेवा सञ्चालनका विषयमा निरन्तर छलफल भइरहेको नापी कार्यालयका सहायक प्रमुख नापी अधिकृत कृष्णप्रसाद ढकालले बताए। उनका अनुसार हाल फोनमार्फत समन्वय भइरहेको छ भने आगामी साता सबै पालिकामा पुगेर आवश्यक सहजीकरण गर्ने तयारी गरिएको छ ।
यसअघि भूमि प्रशासन कार्यालयले गत मङ्सिर ३ गते जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै सेवा सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पाँच जना कर्मचारीलाई ‘फोकल पर्सन’ तोकेको थियो ।
पहिलो चरणमा मन्त्रालयसँग भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि सम्झौता गरेका देशभरका १३३ स्थानीय तहमध्ये बर्दियाका राजापुर र ठाकुरबाबा नगरपालिकाले कार्यालयको पत्राचारअघि नै सेवा सुरु गरिसकेको प्रमुख बिनाडीले बताए।
पहिलो चरणमा स्थानीय तहले अनलाइन प्रणालीमा जग्गाधनी पुर्जाको नम्बर प्रविष्टि भएका जग्गाधनीलाई आधारभूत सेवा उपलब्ध गराउने छन् । यसअन्तर्गत जग्गाधनी पुर्जा वितरण, पुर्जामा भएका सामान्य त्रुटि सच्याउने, नामसारी तथा अंशबण्डालगायत सेवा प्रवाह गरिनेछ ।
भूमि प्रशासन कार्यालयका अनुसार हाल सबै जग्गाको विवरण अनलाइन प्रणालीमा प्रविष्ट भइसकेको छैन । प्रविष्ट हुन बाँकी विवरण अद्यावधिक गर्ने काम भइरहेको छ ।
त्यसैगरी, भूमि प्रशासनसम्बन्धी सबै कागजात र अभिलेखसमेत स्थानीय तहमा हस्तान्तरण भइसकेका छैनन् । स्थानीय तहको संस्थागत क्षमता र जनशक्तिको दक्षता अभिवृद्धि हुँदै गएपछि क्रमशः थप सेवा हस्तान्तरण गरिने प्रमुख बिनाडीले बताए।
सरकारी रणनीतिअनुसार आगामी दिनमा भूमि प्रशासनसम्बन्धी सबै सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने लक्ष्य रहेको छ । त्यसपछि भूमि प्रशासन कार्यालयले समन्वय, अनुगमन तथा निरीक्षण गर्ने र स्थानीय तहबाट सम्भव नभएका काममा सहयोग गर्ने भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।














प्रतिक्रिया