कर्णाली- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ सङ्घीयताको मर्मअनुसार सञ्चालन गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक पूर्वाधारका कारण दुई विधाका खेल लुम्बिनी प्रदेशमा सञ्चालन गर्नुपरे पनि अधिकांश खेल कर्णालीमै हुने जानकारी दिए।
उनका अनुसार पौडी र टेनिसका खेल बाँके र बर्दियामा सञ्चालन हुनेछन् भने २२ विधाका खेल सुर्खेतमा आयोजना गरिनेछ ।
फुटबलको सेमिफाइनल र फाइनल खेल सुर्खेतमा नभई जुम्लामा सञ्चालन गर्न लागिएको विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री पोखरेलले सङ्घीयताको मर्मअनुसार कर्णालीका सबै जिल्लालाई प्रतियोगितासँग जोड्ने उद्देश्यले उक्त निर्णय गरिएको बताए।
‘सुर्खेतलाई मात्र कर्णाली भनेर नबुझ्न आग्रह गर्दछु’, उनले भने, ‘जसरी कर्णालीवासीको खुसीका लागि काठमाडौँ छोडेर प्रतियोगिता कर्णालीमा ल्याइएको हो, त्यसैगरी जुम्लावासीको खुसीका लागि पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल त्यहाँ सञ्चालन गर्ने निर्णय भएको हो ।’
महिला फुटबलको सेमिफाइनल र फाइनल खेल भने प्रदेश रङ्गशालामै हुने उनले स्पष्ट पारे।
मन्त्री पोखरेलले खेलकुदको कुम्भ मेलाका रूपमा लिइने प्रतियोगिता सफल बनाउन कर्णालीवासीसहित सबै सरोकारवालालाई आग्रह गरे। मङ्सिर १६ गते हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने उनले जानकारी दिए ।
यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले प्रतियोगिता कर्णाली प्रदेशसँगै सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएकाले भव्य रूपमा सम्पन्न गर्न सबैलाई आह्वान गरे।
उनले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्रतियोगिता अवलोकन गर्न आवश्यक सहयोग गर्न आग्रह गरे।
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । उनले कर्णालीमा आठ विधाका खेल अनौपचारिक रूपमा सञ्चालन भइसकेको बताउँदै तयारीको थप प्रगतिबारे मङ्सिर १५ गते जानकारी गराइने उल्लेख गरे।














प्रतिक्रिया