काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्ने लगायत विषय समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।
उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसद्लाई विघटन गरेर एनजीओ- आइएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको आरोप लगाए ।
समयमै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले बताए ।
अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारणा राखे ।
उनले हरेक निर्वाचनबाट मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्ति नै सत्तामा आउने गरेको भन्दै यसपटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्नेलाई मद्दत गरेर सदनमा पठाउन आग्रह गरे । आफ्नो पार्टीसमेत निर्वाचनमा होमिएकाले मत दिन उनले अपील गरे ।













प्रतिक्रिया