काठमाडौं- पटक पटक विवादमा परेर भाइरल भइरहने डा. कमल (निकोलस) भुसालले फागुन २१ गतेको निर्वाचनका लागि घोषणा पत्रको मस्यौदा ल्याएका छन् ।
‘जेन-जीको जुत्ता’ चुनाव चिह्नसहितर बुटवल क्षेत्र नम्बर २ मा उठेका उनले पृथ्वीलाई सन् २१०० सम्म स्वर्ग बनाउने लक्ष्य लिएका छन् ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत घोषणापत्रको मस्यौदा सार्वजनिक गरकेा हुन् । भुसालले वि.सं. २०९० सम्म नेपाललाई ‘हरित स्वर्ग’ र सन् २१०० सम्म विश्व शान्ति संगठनमार्फत् पृथ्वीलाई स्वर्गका रूपमा चिनाउने योजना ल्याएका छन्।
उनले घोषणापत्र लेखनको प्रारम्भिक चरणमा सर्वसाधारणबाट सुझावको अपेक्षा पनि मागेका छन् ।
भुसालले ल्याएको अवधारणामा आर्थिक र सामाजिक सुधारका लागि समय सीमासहितका स्पष्ट प्रतिज्ञा समावेश गरिएको छ।
सांसदका रुपमा पदभार ग्रहण गरेको एक महिनाभित्र ‘जेन-जी’ पुस्ताका सबै माग पूरा गर्ने र तीन महिनाभित्र सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितको डुबेको बचत फिर्ता गर्ने जिकिर गरेका छन् ।
उनले एक वर्षभित्र शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, खानेपानी र बिजुली पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने उल्लेख गरेका छन् ।
तीन वर्षभित्र स्वदेशमै रोजगारी सिर्जना गरी देशको सम्पूर्ण ऋण तिर्ने लक्ष्य उनको छ। पाँच वर्षभित्र तीन हजार खर्बको अर्थतन्त्र निर्माण गरी सबै नेपालीलाई करोडपति बनाउने योजना उनको छ । त्यसपछि आठ वर्षभित्र नेपाललाई स्वर्गको नमुना बनाउने दाबी उनले गरेका छन् ।
राज्यको शासकीय स्वरूप र नीतिगत व्यवस्थामा परिवर्तन गरेर नेपाललाई वैदिक सनातन हिन्दू, बुद्ध र किरात राष्ट्र घोषणा गर्ने पनि उनले बताएका छन्।
अहिलेको संघीय संरचनामा असहमति जनाएका उनले प्रदेश सभा खारेज गर्ने तथा शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिने नीति ल्याएका छन्।
नेपालका खानी, पानी, जल, जंगल र जडीबुटीको वैधानिक प्रयोगमार्फत् आर्थिक क्रान्ति गर्ने र ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासनयुक्त नेपाल बनाउने लक्ष्य उनले राखेका छन्। आयात न्यूनीकरण गर्दै तीन वर्षभित्र व्यापार घाटा अन्त्य गर्ने पनि उनको दाबी छ । यातायात व्यवसायलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने योजना पनि उनले ल्याएका छन् ।
रूपन्देहीलाई विकासको केन्द्र बनाउँदै बुटवललाई शिक्षा, तिलोत्तमालाई उद्योग र सैनामैनालाई सूचना प्रविधिको केन्द्रबिन्दु बनाउने योजना पनि उनले ल्याएका छन्।
लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण, तिनाउ खोलाको तटबन्ध निर्माण, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र ज्योतिनगरको पहिरो नियन्त्रण गर्ने उनको योजना छ ।
पर्यटन प्रवर्द्धन गर्न एक वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न धार्मिकस्थल र पार्कको स्तरोन्नति गर्ने तथा हरेक वडामा खेल मैदान र एक प्रदेश–एक रंगशाला निर्माण गर्ने प्रतिबद्धता उनले गरेका छन् ।
विश्वका नागरिकका रूपमा आफूलाई ‘गुरु राष्ट्र’को प्रतिनिधि ठानेका उनले नेपाललाई बनाइएको दाबी गर्दै राष्ट्रियता, एकता, मानवता र आत्मनिर्भरतालाई मूल सिद्धान्त मान्ने बताएका छन्।
‘देशको खाऊँ, देशको लाऊँ र देशमै रमाऊँ’ भन्ने नारासहित आत्मनिर्भर नेपाल महाअभियान चलाउने र रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने एजेन्डा उनले ल्याएका छन्।













प्रतिक्रिया