देउवा सिङ्गापुर उड्दा सहयोगी पनि गुमनाम ! « Khabarhub

देउवा सिङ्गापुर उड्दा सहयोगी पनि गुमनाम !



काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उडेपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ । चुनावको मुखमा देश छोड्दै देउवाले मौन असन्तोष व्यक्त गरेको देखिन्छ ।

विदेशमा बसेका नेपाली नागरिकहरु धमाधम टिकट काटेर भोट हाल्न स्वदेश फर्किएका बेला निवर्तमान सभापतिले देश छोड्ने विषय देशप्रति माया नभएको आरोप लगाइएको छ ।

पार्टीको दुई कार्यकाल सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति एकाएक चुनाव छोडेर हिडेका छन् । कतिपयले फागुन २१ गतेको चुनाव छल्न उनी उपचारको बहानामा सिंगापुर हानिएको टिप्पणी गरेका छन् ।

उसो त देउवाले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशमार्फत उनलाई सभापतिबाट अपदस्थ गरेको घटना पनि उनले स्वीकार्न सकिरहेका छैनन् ।

भदौ २४ को जेन–जी आन्दोलनका क्रममा देउवा दम्पती घरमै कुटिए । जेन–जी आन्दोलन र विशेष महाधिवशनबाट फालिँदा पनि देउवाले धैर्य गुमाएनन । धेरैले उनको यस व्यवहारको प्रशंसा पनि गरे ।

तर चुनावकै बेला देउवाको सिंगापुर यात्रा चुनाव छल्ने बहाना हो वा साच्चै उपहार हो ? शंका उब्जिएको छ । उनकी पत्नी आरजु यतिबेला भारतमा धार्मिक यात्रा गरिरहेकी छिन् ।

देउवा दम्पतीले चुनाव छल्ने प्रयास गरिरहदाँ उनी निकटका नेताहरु पनि गुमनाम छन् । आफूले टिकट पाउदाँसम्म सही तर अरुले टिकट पाउदाँ गलत लाग्ने मनोदशाबाट देउवापक्ष ग्रस्त देखिन्छन् ।

प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर– १ मा सिंहले २०६४, २०७०, २०७४ र २०७९ गरी चारवटा चुनाव जितेका थिए । भदौमा भएको जेन–जी आन्दोलनका बेला सिंह उपप्रधान तथा सहरी विकास मन्त्री थिए । त्यो आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तन गरेर जानुपर्ने बहस चुलियो । उनी नियमित महाधिवेशनका पक्षमा थिए ।

आमचुनाव अघि महाधिवेशन गर्न हुँदैन भन्ने मत थियो । तर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बोलाएको विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्‍यो । महाधिवेशनबाट नयाँ नेतृत्व आए पनि काठमाडौं १ मा सिंहले नै टिकट पाउने आशा गरिएको थियो । तर यसपालि उनले टिकट पाएनन् ।

यस क्षेत्रमा यसपटक प्रबल थापाको उम्मेदवारी रहेको छ । कांग्रेसको उम्मेदवार जिताउन लागिपरेको स्रोतले बताएपनि सिंह प्रचारप्रसारमा भने देखिएका छैनन् । बरु उनकी पत्नी सिर्जना सिंह घरदैलो कार्यक्रममा आकलझुकल देखिने गरेकी छन् ।

कृष्ण सिटौला

तेह्रथुमको संग्रातीमा जन्मिएका सिटौलालाई झापाली नेताका रुपमा चिनिन्छ । उनले बृहत् शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

तात्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र सिटौला गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् । तर उनी गृहमन्त्री छँदा भएको सुडान घोटालामा २९ करोड अनियमिततामा मुछिएको आरोप छ ।

०४८ साल यता उनले भाग लिएका ६ वटा चुनावमध्ये उनले ३ वटामा मात्रै जीत हात पारेका छन् । सिटौलाले ०४८, ०५१ र ०६४ सालका चुनाव हारेका छन् भने ०५०, ०५६ र ०७० मा भएका संसदीय चुनाव जितेका छन् ।

तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेस भित्रबाटै धेरैले सिटौलाको राजनीति सकियो भन्ने टिप्पणी गरेका थिए । झापा–३ कांग्रेसबाट राजेन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । यद्यपि सिटौला प्रचारप्रसारमा देखिएका छैनन् ।

पूर्णबहादुर खड्का

शेरबहादुर देउवाका अत्यन्तै विश्वासिला खड्का पाँच पटक सांसद र पाँच पटक मन्त्री भइसकेका छन् । उनी दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, एक–एक पटक सञ्चार र उद्योग तथा वाणिज्य मन्त्री भए ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक–पटक समातिएर खडकाले करिब ५ महिना हिरासतमा बिताउनुपर्‍यो । २०४८, २०५१, २०५६ मा उनले प्रत्यक्ष चुनाव जितेर सांसद भए भने २०६४ सालमा उनी समनुपातिक सांसद बने ।

२०७० सालमा भएको चुनावमा जितेका खड्का २०७४ सालमा भने पराजित भएका थिए । ०७९ मा भने सुर्खेतका जनताले उनलाई विजयी बनाएर पठाए । उनले कार्यवाहक सभापतिसमेतको भूमिका निर्वाह गरेका छन् ।

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनपछि सभापति देउवाको अनुग्रहमा मनोनित उपसभापति भएका हुन् । यसपटक उनका कान्छा भाइ विष्णुबहादुर खड्का सुर्खेत–१ बाट उम्मेदवार बनेका छन् । पार्टीको आन्तरिक समस्याले गर्दा चुनावमा भाग नलिएपनि उनी भाइ जिताउन मैदानमै छन् ।

रमेश लेखक

कांग्रेसका केन्द्रीय सदस्य रहेका लेखक बौद्धिक र प्रभावशाली नेताका रुपमा चिनिन्छन् । २०७९ सालमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– ३ बाट निर्वाचित भएका थिए । यसअघि ०५६ र ०७० सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर ०७४ सालको निर्वाचनमा भने एमालेसँग झिनो मत अन्तरले पराजित भएका थिए ।

पहिलो प्रतिनिधि सभाको चुनाव जितेको दुई वर्षपछि लेखकले कांग्रेसको संसदीय दलको सचेतकका रुपमासमेत काम गरे ।शान्तिप्रक्रियापछि नेपालको अन्तरिम संविधानलाई अन्तिम रुप दिन पनि उनको भूमिका छ ।

पटक पटक उनी भौतिक पूर्वाधार तथा योजना मन्त्री र गृहमन्त्री बने । तर उनको कार्यकालमा जेन–जी आन्दोलनमा १९ जना विद्यार्थीले ज्यान गुमाएपछि राजिनामा दिए । लेखक पनि यतिबेला गुमनाम छन् ।

लेखक उम्मेदवारसँगै घरदैलो कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएको स्रोतले बताएको छ ।

डा. शशांक कोइराला

उनी कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कान्छा पुत्र हुन् । साथै, उनी एक आँखाको चिकित्सक (ओप्थ्याल्मोलोजिष्ट) हुन् । ०४६ साल अघिसम्म डाक्टरी पेशामा रहेका उनी बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । कोइराला नवलपरासीबाट चार कार्यकाल विजयी जनप्रतिनिधि समेत हुन् ।

विराटनगरमा जन्मिएका उनी ०६४ देखि नवलपरासी निर्वाचन क्षेत्र नं–१ बाट चुनाव लड्दै र जित्दै आएका छन् । काम नगरेपनि उक्त क्षेत्रका जनताले कांग्रेसलाई भोट हाल्छन् भनेर उनी आफैले भनेका थिए । सधै सुरक्षित क्षेत्रबाट चुनाव लड्दै आएका शशांकले यस पटक टिकट पाउन सकेनन् । उनी पार्टी सभापति बन्ने दौडमा छन् ।

शशांक काठमाडौंमा छन् । तर उनका सहयोगी कांग्रेस उम्मेदवार जिताउन नवलपुर–१ मा खटिरहेको उनका निकट स्रोत बताउँछ । यस क्षेत्रमा बालकृष्ण घिमिरे उम्मेदवार छन् ।

बालकृष्ण खाण

देउवा निकट रहेर राजनीतिक छलाङ लिने नेतामध्ये खाण एक हुन् । विद्यार्थी राजनीति मार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका हुन् । पञ्चायतकालमा उनले २ वर्ष जेलजीवनसमेत बिताए।उनको गृहनगर रूपन्देही क्षेत्र नम्बर –३ हो ।

कांग्रेसका केन्द्रीय सदस्य उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएर संघीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक भएर काम गरे । रक्षामन्त्री, शिक्षा राज्यमन्त्री र गृहमन्त्री बनेर काम गरे । तर अन्तमा नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिए । आज उक्त मुद्दाकै कारण टिकट प्राप्त गर्न सकेनन् ।

उनी चुनाव प्रचारमा मात्रै नभएर पार्टीको अन्य कार्यक्रमहरुमा पनि सहभागी भएको देखिदैन । पार्टीभित्रै खाण चुनाव उठेमा कांग्रेसलाई नोक्सान हुने टिकाटिप्पणी हुँदै आएको छ । यसपटक उनको क्षेत्रमा सुशील गुरूङको उम्मेदवारी रहेको छ ।

वीरबहादुर बलायर

डोटीका स्थायीबासी बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति हुन् । ०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका उनले ०३६ सालबाट सक्रिय रुपमै लागेका हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनले तीन वर्ष ६ महिना बन्दी जीवन बिताएका छन्
बलायर ०४६ सालको जनआन्दोलनताका ‘हिरो’ नेताको रुपमा चिनिन्छन् ।

विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी कार्यालयमा उनको समूहले गिरिजाप्रसाद कोइराला चढेको गाडीमा चढेर नाराबाजी गरेका थिए । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा डोटी क्षेत्र नम्बर १ बाट हार व्यहोरे पनि बलायरले ०७० सालमाविजयी हासिल गरेका थिए ।

त्यसैगरी ०७९ उनले कैलाली ४ बाट निवार्चित भएका थिए । सन्तनेता कृष्णप्रसादसँग नजिक रहेर काम गरेका उनी कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।

बलायरले सुरुदेखि नै अब चुनाव नलड्ने घोषणा गरेका थिए । ०७९ को निर्वाचित भइसकेपछि बाँकी जीवन अभिभावकको रुपमा रहने अभिव्यक्ति दिएका दिए । आसन्न निर्वाचनको प्रचारप्रसार उनी पनि खटिएका छैनन् ।

डा. आरजु राणा देउवा

नेपाली कांग्रेसका पूर्वसभापति देउवा स्वास्थ्योपचारका लागि भन्दै चुनावको मुखमा सिंगापुर गइरहँदा उनकी पत्नी आरजु यतिबेला धार्मिक भ्रमणमा भारत छिन् । उनी कांग्रेसकी पूर्व केन्द्रीय सदस्यका साथै अघिल्लो सरकारमा परराष्ट्रमन्त्री थिइन् । आरजु पनि यो निर्वाचनमा कतै देखिएकी छैनन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ४८ बजे

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२