राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह « Khabarhub

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलले मध्यपूर्वमा उत्पन्न भएको तनावपूर्ण स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।

कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमा भनेका छन्, “मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ । रोजगारीलगायत सिलसिलामा विभिन्न देशमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुरक्षा संवेदनशील बनेको छ । यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा अनुरोध गर्दछु । सुरक्षा नियमहरूको पूर्णपालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा रहनुहोला ।”

उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । उनले भनेका छन्, “युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।”

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण र त्यसपछिको घटनाक्रमबाट नेपालीलाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित राख्न उच्च पहलकदमी लिन सरकारसँग अनुरोध गरेका छन् । उनले त्यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको उल्लेख गरे ।

रास्वपाका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका बीच खाडी मुलुकमा कार्यरत नेपाली नागरिकको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । उनले संयुक्त अरब इमिरेट्स, कतार र बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था जटिल बन्ने जोखिम औँल्याउँदै त्यहाँ कार्यरत लाखौँ नेपालीको जीवन, रोजगारी र सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सम्बन्धित देशमा नेपालीको अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।

साथै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, निवर्तमान सभामुख देवराज घिमिरेलगायतले पनि उक्त घटनाबारे चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई पर्नसक्ने जोखिमप्रति सचेत रहन र सुरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन् । अमेरिका र इजरायले इरानमाथि सैन्य आक्रमण गरेका छन् । त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ०४ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक