दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ « Khabarhub

'बर्खामा खोलाको डर थियो, अहिले डोजरको'

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन भएका हजारौँ नागरिक अहिले आफ्नो नाम दर्ता गराउन दशरथ रंगशाला पुगेका छन् । थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहराका बस्तीबाट विस्थापित परिवारका लागि यो लगत संकलन केवल एक प्रशासनिक प्रक्रिया मात्र नभएर अस्तित्व रक्षाको लडाइँ बनेको छ ।

रंगशाला परिसरमा दुधे बालक काखीमा च्यापेका आमा, वैशाखीको सहारामा हिँड्ने अशक्त र औषधिको भरमा बाँचिरहेका दीर्घरोगीको कारुणिक दृश्य देखिन्छ । शनिबार अचानक बस्तीमा डोजर चलेपछि दशकौँदेखि बसोबास गर्दै आएका परिवार एकैछिनमा खुला आकाशमुनि पुगेका छन् । त्रिपाल, भिजेको सामान र अनिश्चित भविष्यबीच रात काटिरहेका यी पीडितको अवस्था निकै दयनीय छ ।

घर भत्किएपछि ‘अर्धचेत’ मैतीरानी
गुठीको जग्गामा बसोबास गरेको भन्दै सिन्धुपाल्चोकबाट विस्थापित भएकी मैतीरानी तामाङ परिवारसहित काम र बासस्थानको खोजीमा काठमाडौँ आइन् । उनी आउँदा मनोहरा क्षेत्र खाली थियो । कुनै आफन्तले त्यहाँ घर बनाएर बस भनेर सल्लाह दिएपछि झाडी जङ्गल सफा गरेर टहरा बनाएर श्रीमानसँगै ६ भाइ छोरा लिएर त्यहाँ बस्न सुरु गरिन् । छोरा हुर्किएपछि बिस्तारै पक्की घर बनाए ।

सबै भाइ आ-आफ्नै व्यवस्था गरेर बसिरहेका थिए । मैतीरानीको परिवार यहाँ बसोबास गरेको ३० वर्ष भयो । शनिबार एकाएक बस्तीमा डोजर चलेपछि उनी अर्धचेत जस्तै छिन् । उनीसँगै आएकी उनकी बुहारीले भनिन्, “मेरो घर त्यहीँ छ, म त्यहीँ जान्छु भन्दै भत्किएको घरतिर फर्किन खोज्नुहुन्छ ।”

लामो समय एउटै ठाउँमा बिताएकी वृद्धालाई घर भत्किएको यथार्थ स्वीकार्न कठिन भइरहेको छ । “उहाँ रातभरि झस्किनुहुन्छ, ‘मेरो घर त्यहाँ छ’ भन्दै उठ्न खोज्नुहुन्छ,” उनकी बुहारीले भनिन्, “अरूभन्दा पनि बुढी मान्छेलाई धेरै गाह्रो भएको छ ।”

गरिबीका कारण मैतीरानीले छोरालाई पढाउन सकिनन् । “खुवाउनै गाह्रो थियो, पढाउने कुरा कहाँ सम्भव हुन्थ्यो र ?” उनले भनिन् । तर अहिलेको पुस्तामा भने परिवर्तन ल्याउने प्रयास गरिएको उनी बताउँछिन् । उनका नातिनातिनी मनोहरा नजिकैको सानोठिमीस्थित विद्यालयमा पढिरहेका थिए । डोजरसँगै उनीहरूको बसोबास मात्र होइन, बालबालिकाको पढाइ, दैनिक जीवन र न्यूनतम सुरक्षासमेत संकटमा परेको छ ।

पीडितका अनुसार डोजर आउँदा घरभित्रको सबै सामान निकाल्नसमेत पर्याप्त समय दिइएन । “आधी सामान मात्रै निकाल्न पाइयो, आधी त्यत्तिकै पुरियो । जोगाएको सामान पनि पानीले भिज्यो,” उनले भनिन् । घर भत्किएपछि परिवार अहिले खुला ठाउँमा बस्न बाध्य छ । कहाँ जाने, कसरी बस्ने भन्ने अन्योल कायमै छ । सरकारले वैकल्पिक बसोबासको स्पष्ट व्यवस्था नगरेको उनीहरूको गुनासो छ ।

‘उपचार गर्दा जग्गा सकियो, अहिले घर पनि रहेन’
सिन्धुलीबाट आएर गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी सुकुमाया परियार मुटुसँगै हाड खिइने रोगबाट पीडित छिन् । लामो समयदेखि औषधिको भरमा बाँचिरहेकी परियारलाई घर भत्काइदिएपछि झन् पीडा थपिएको छ ।

“मुटुको औषधि खाएर आएको, त्यसमाथि डोजर आयो । गाडीबाट झर्दा झर्नै सकिनँ, समातेर झार्नुपर्‍यो,” उनले भनिन्, “अहिले पनि हिँड्दा कता ढलूँ, कता ढलूँ जस्तो हुन्छ ।” उनका अनुसार डोजर चलेको दिन उनी भय, तनाव र शारीरिक पीडाले थला परेकी थिइन् । घर भत्किँदै गर्दा उनी बारम्बार बेहोसजस्तै भएकी थिइन् ।

सुकुमाया करिब दुई दशकभन्दा बढी समयदेखि मनोहरामा बस्दै आएकी हुन् । परिवारका सदस्यले सुरुमा खोलाछेउको सानो टुक्रा जग्गा स्थानीय व्यक्तिसँग किनेर बसेको बताएका छन् । “त्यतिबेला १२ हजार हालेर जग्गा किनिएको थियो,” उनले भनिन्, “अलिअलि गर्दै माथि सर्दै, टहरो हाल्दै बसेका हौँ ।”

तर किनिएको भनिएको त्यो जग्गा नदीकिनारकै थियो । “बर्खामा खोलाको डर, अहिले डोजरको डर,” उनले भनिन् । गाउँमा जमिन थिएन । अर्काको खेतबारीमा अँधिया-मजदुरी गरेर जीवन धान्ने परिवार रोजगारीको खोजीमा काठमाडौँ आएको थियो । काठमाडौँ आएपछि पनि जीवन सहज भएन । मजदुरी गरेर सानो टहरा बनाइन् । अलिअलि जोडेको पैसा उपचारमै सकियो । केही जमिन किनेकी थिइन्, तर स्वास्थ्य उपचार र ऋणले त्यो पनि टिकेन । “उपचार गर्नुपर्‍यो, ऋण लाग्यो । बाँचिन्छ कि बाँचिँदैन भन्ने अवस्था थियो,” उनले भनिन्, “उपचार गरेर बाँचियो, तर घर रहेन ।”

त्यस्तै सिन्धुलीबाटै आएर गैरीगाउँमा बसेकी देविका दमाईले भनिन्, “श्रीमान् र आफू मिलेर ज्याला मजदुरी गर्दै यहीँ बसेर बच्चा हुर्कायौँ । केही समयअगाडि श्रीमान्‌ले छोडेर गए । अहिले घर पनि रहेन । अब बुढेसकालमा फेरि कहाँबाट सुरु गर्ने ?” उनका तीन सन्तान अहिले पनि ज्याला मजदुरीमै छन् । घर भत्किएपछि परिवारको आम्दानी, बास र उपचार सबै अनिश्चित बनेको छ ।

मैतीरानी, देविका र सुकुमाया जस्तै मनोहरा सुकुम्बासी बस्तीमा बस्दै आएका सूर्यबहादुर माझीको पीडा पनि त्यस्तै छ । मोरङबाट ११ वर्षकै उमेरमा घर छोडेर हिँडेका सूर्यबहादुर काठमाडौँमै ज्याला मजदुरी गरेर हुर्किए र अन्य सुकुम्बासीसरह मनोहरामा टहरा बनाएर घरबार जोडे । अहिले सानो बच्चा र श्रीमतीसँगै उनी घरबारविहीन भएका छन् ।

“गाउँमा अपाङ्ग बुवालाई ज्याला मजदुरी गरेरै आमाले पालिरहनुभएको छ । गाउँ फर्किऊँ भने पनि परिवार पाल्न गाह्रो छ । यताको बासै उजाडियो । जसरी हामीलाई एकैदिनमा घरबारविहीन बनायो, त्यसैगरी हाम्रो व्यवस्थापन सरकारले चाँडै गरोस् ।”

विद्यालय भत्किँदा बालबालिकाको भविष्य संकटमा
सिन्धुपाल्चोकबाट आएर थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी अर्की एक महिलाको पीडा पनि उस्तै छ । झन्डै २० वर्षदेखि टहरा बनाएर बस्दै आएकी उनले भनिन्, “सरकारले यो साह्रै गलत गर्‍यो । हामीलाई अन्य ठाउँमा व्यवस्थापन गर्न समय दिनुपर्थ्यो । अचानक बस्तीमा डोजर चलाउँदा साह्रै बिचल्ली भएको छ ।”

उनका अनुसार बस्तीमा बस्ने बालबालिकाको पढाइका लागि सञ्चालित सरस्वती माध्यमिक विद्यालय पनि भत्काइएको छ । “नयाँ शैक्षिक सत्रको सुरुवातमै यसरी घरबारविहीन बनाएर विद्यालयसमेत भत्काउँदा हाम्रा बालबालिकाको अवस्था के हुन्छ ?” उनले प्रश्न गरिन् ।

८ सय २२ परिवारले गराए नाम दर्ता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म उनीहरू जस्तै ८ सय २२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन् । यी परिवारका ३ हजार ३ सय ६७ सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए ।

उनका अनुसार यसमध्ये १५ सय हाराहारी बालबालिका छन् । आफैँ खानपान र आवासको व्यवस्थापन गर्न नसक्ने परिवारको विवरण सरकारले संकलन गरेको हो । त्यहाँ विवरण टिपाएका परिवारलाई होल्डिङ सेन्टरमा राखिनेछ । जसका लागि विभिन्न ५ ठाउँ तोकिएका छन् ।

तर, लामो समयदेखि एउटै ठाउँलाई घर मान्दै आएका यी मानिसका लागि होल्डिङ सेन्टरको बसाइ र त्यहाँबाट प्राप्त हुने राहत कति भरपर्दो होला, त्यो प्रश्न अझै अनुत्तरित छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ८ : ५६ बजे

‘नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधारका लागि धेरै काम बाँकी’

काठमाडौँ – नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधार निर्माणको धेरै काम

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले

लाप्राक नमूना बस्ती (तस्बिर)

गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी