काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन भएका हजारौँ नागरिक अहिले आफ्नो नाम दर्ता गराउन दशरथ रंगशाला पुगेका छन् । थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहराका बस्तीबाट विस्थापित परिवारका लागि यो लगत संकलन केवल एक प्रशासनिक प्रक्रिया मात्र नभएर अस्तित्व रक्षाको लडाइँ बनेको छ ।
रंगशाला परिसरमा दुधे बालक काखीमा च्यापेका आमा, वैशाखीको सहारामा हिँड्ने अशक्त र औषधिको भरमा बाँचिरहेका दीर्घरोगीको कारुणिक दृश्य देखिन्छ । शनिबार अचानक बस्तीमा डोजर चलेपछि दशकौँदेखि बसोबास गर्दै आएका परिवार एकैछिनमा खुला आकाशमुनि पुगेका छन् । त्रिपाल, भिजेको सामान र अनिश्चित भविष्यबीच रात काटिरहेका यी पीडितको अवस्था निकै दयनीय छ ।
घर भत्किएपछि ‘अर्धचेत’ मैतीरानी
गुठीको जग्गामा बसोबास गरेको भन्दै सिन्धुपाल्चोकबाट विस्थापित भएकी मैतीरानी तामाङ परिवारसहित काम र बासस्थानको खोजीमा काठमाडौँ आइन् । उनी आउँदा मनोहरा क्षेत्र खाली थियो । कुनै आफन्तले त्यहाँ घर बनाएर बस भनेर सल्लाह दिएपछि झाडी जङ्गल सफा गरेर टहरा बनाएर श्रीमानसँगै ६ भाइ छोरा लिएर त्यहाँ बस्न सुरु गरिन् । छोरा हुर्किएपछि बिस्तारै पक्की घर बनाए ।
सबै भाइ आ-आफ्नै व्यवस्था गरेर बसिरहेका थिए । मैतीरानीको परिवार यहाँ बसोबास गरेको ३० वर्ष भयो । शनिबार एकाएक बस्तीमा डोजर चलेपछि उनी अर्धचेत जस्तै छिन् । उनीसँगै आएकी उनकी बुहारीले भनिन्, “मेरो घर त्यहीँ छ, म त्यहीँ जान्छु भन्दै भत्किएको घरतिर फर्किन खोज्नुहुन्छ ।”

लामो समय एउटै ठाउँमा बिताएकी वृद्धालाई घर भत्किएको यथार्थ स्वीकार्न कठिन भइरहेको छ । “उहाँ रातभरि झस्किनुहुन्छ, ‘मेरो घर त्यहाँ छ’ भन्दै उठ्न खोज्नुहुन्छ,” उनकी बुहारीले भनिन्, “अरूभन्दा पनि बुढी मान्छेलाई धेरै गाह्रो भएको छ ।”
गरिबीका कारण मैतीरानीले छोरालाई पढाउन सकिनन् । “खुवाउनै गाह्रो थियो, पढाउने कुरा कहाँ सम्भव हुन्थ्यो र ?” उनले भनिन् । तर अहिलेको पुस्तामा भने परिवर्तन ल्याउने प्रयास गरिएको उनी बताउँछिन् । उनका नातिनातिनी मनोहरा नजिकैको सानोठिमीस्थित विद्यालयमा पढिरहेका थिए । डोजरसँगै उनीहरूको बसोबास मात्र होइन, बालबालिकाको पढाइ, दैनिक जीवन र न्यूनतम सुरक्षासमेत संकटमा परेको छ ।
पीडितका अनुसार डोजर आउँदा घरभित्रको सबै सामान निकाल्नसमेत पर्याप्त समय दिइएन । “आधी सामान मात्रै निकाल्न पाइयो, आधी त्यत्तिकै पुरियो । जोगाएको सामान पनि पानीले भिज्यो,” उनले भनिन् । घर भत्किएपछि परिवार अहिले खुला ठाउँमा बस्न बाध्य छ । कहाँ जाने, कसरी बस्ने भन्ने अन्योल कायमै छ । सरकारले वैकल्पिक बसोबासको स्पष्ट व्यवस्था नगरेको उनीहरूको गुनासो छ ।
‘उपचार गर्दा जग्गा सकियो, अहिले घर पनि रहेन’
सिन्धुलीबाट आएर गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी सुकुमाया परियार मुटुसँगै हाड खिइने रोगबाट पीडित छिन् । लामो समयदेखि औषधिको भरमा बाँचिरहेकी परियारलाई घर भत्काइदिएपछि झन् पीडा थपिएको छ ।
“मुटुको औषधि खाएर आएको, त्यसमाथि डोजर आयो । गाडीबाट झर्दा झर्नै सकिनँ, समातेर झार्नुपर्यो,” उनले भनिन्, “अहिले पनि हिँड्दा कता ढलूँ, कता ढलूँ जस्तो हुन्छ ।” उनका अनुसार डोजर चलेको दिन उनी भय, तनाव र शारीरिक पीडाले थला परेकी थिइन् । घर भत्किँदै गर्दा उनी बारम्बार बेहोसजस्तै भएकी थिइन् ।
सुकुमाया करिब दुई दशकभन्दा बढी समयदेखि मनोहरामा बस्दै आएकी हुन् । परिवारका सदस्यले सुरुमा खोलाछेउको सानो टुक्रा जग्गा स्थानीय व्यक्तिसँग किनेर बसेको बताएका छन् । “त्यतिबेला १२ हजार हालेर जग्गा किनिएको थियो,” उनले भनिन्, “अलिअलि गर्दै माथि सर्दै, टहरो हाल्दै बसेका हौँ ।”

तर किनिएको भनिएको त्यो जग्गा नदीकिनारकै थियो । “बर्खामा खोलाको डर, अहिले डोजरको डर,” उनले भनिन् । गाउँमा जमिन थिएन । अर्काको खेतबारीमा अँधिया-मजदुरी गरेर जीवन धान्ने परिवार रोजगारीको खोजीमा काठमाडौँ आएको थियो । काठमाडौँ आएपछि पनि जीवन सहज भएन । मजदुरी गरेर सानो टहरा बनाइन् । अलिअलि जोडेको पैसा उपचारमै सकियो । केही जमिन किनेकी थिइन्, तर स्वास्थ्य उपचार र ऋणले त्यो पनि टिकेन । “उपचार गर्नुपर्यो, ऋण लाग्यो । बाँचिन्छ कि बाँचिँदैन भन्ने अवस्था थियो,” उनले भनिन्, “उपचार गरेर बाँचियो, तर घर रहेन ।”
त्यस्तै सिन्धुलीबाटै आएर गैरीगाउँमा बसेकी देविका दमाईले भनिन्, “श्रीमान् र आफू मिलेर ज्याला मजदुरी गर्दै यहीँ बसेर बच्चा हुर्कायौँ । केही समयअगाडि श्रीमान्ले छोडेर गए । अहिले घर पनि रहेन । अब बुढेसकालमा फेरि कहाँबाट सुरु गर्ने ?” उनका तीन सन्तान अहिले पनि ज्याला मजदुरीमै छन् । घर भत्किएपछि परिवारको आम्दानी, बास र उपचार सबै अनिश्चित बनेको छ ।
मैतीरानी, देविका र सुकुमाया जस्तै मनोहरा सुकुम्बासी बस्तीमा बस्दै आएका सूर्यबहादुर माझीको पीडा पनि त्यस्तै छ । मोरङबाट ११ वर्षकै उमेरमा घर छोडेर हिँडेका सूर्यबहादुर काठमाडौँमै ज्याला मजदुरी गरेर हुर्किए र अन्य सुकुम्बासीसरह मनोहरामा टहरा बनाएर घरबार जोडे । अहिले सानो बच्चा र श्रीमतीसँगै उनी घरबारविहीन भएका छन् ।
“गाउँमा अपाङ्ग बुवालाई ज्याला मजदुरी गरेरै आमाले पालिरहनुभएको छ । गाउँ फर्किऊँ भने पनि परिवार पाल्न गाह्रो छ । यताको बासै उजाडियो । जसरी हामीलाई एकैदिनमा घरबारविहीन बनायो, त्यसैगरी हाम्रो व्यवस्थापन सरकारले चाँडै गरोस् ।”
विद्यालय भत्किँदा बालबालिकाको भविष्य संकटमा
सिन्धुपाल्चोकबाट आएर थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी अर्की एक महिलाको पीडा पनि उस्तै छ । झन्डै २० वर्षदेखि टहरा बनाएर बस्दै आएकी उनले भनिन्, “सरकारले यो साह्रै गलत गर्यो । हामीलाई अन्य ठाउँमा व्यवस्थापन गर्न समय दिनुपर्थ्यो । अचानक बस्तीमा डोजर चलाउँदा साह्रै बिचल्ली भएको छ ।”

उनका अनुसार बस्तीमा बस्ने बालबालिकाको पढाइका लागि सञ्चालित सरस्वती माध्यमिक विद्यालय पनि भत्काइएको छ । “नयाँ शैक्षिक सत्रको सुरुवातमै यसरी घरबारविहीन बनाएर विद्यालयसमेत भत्काउँदा हाम्रा बालबालिकाको अवस्था के हुन्छ ?” उनले प्रश्न गरिन् ।
८ सय २२ परिवारले गराए नाम दर्ता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म उनीहरू जस्तै ८ सय २२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन् । यी परिवारका ३ हजार ३ सय ६७ सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए ।
उनका अनुसार यसमध्ये १५ सय हाराहारी बालबालिका छन् । आफैँ खानपान र आवासको व्यवस्थापन गर्न नसक्ने परिवारको विवरण सरकारले संकलन गरेको हो । त्यहाँ विवरण टिपाएका परिवारलाई होल्डिङ सेन्टरमा राखिनेछ । जसका लागि विभिन्न ५ ठाउँ तोकिएका छन् ।
तर, लामो समयदेखि एउटै ठाउँलाई घर मान्दै आएका यी मानिसका लागि होल्डिङ सेन्टरको बसाइ र त्यहाँबाट प्राप्त हुने राहत कति भरपर्दो होला, त्यो प्रश्न अझै अनुत्तरित छ ।














प्रतिक्रिया