काठमाडौं– नेपालगञ्ज स्थित भेरी अस्पतालले उपचारका क्रममा मृत्यु भएकी एक बिरामीको घटनापछि चिकित्सकमाथि गालीगलौज, दुर्व्यवहार र हातपातको प्रयास भएको जनाएको छ ।
अस्पताल प्रशासनले प्रेस नोट जारी गर्दै उपचार प्रक्रियामा लापरबाही नभएको दाबी गर्दै घटनालाई नियन्त्रणबाहिरको चिकित्सकीय जटिलतासँग जोडेको छ ।
अस्पतालका अनुसार बाँकेको बैजनाथ–६ निवासी ४२ वर्षीया एक महिला पेट तथा छातीसम्बन्धी समस्याका कारण वैशाख ६ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।
ती बिरामीमा एपीडी, हाइपोथाइराइडिज्म, उच्च रक्तचाप, टाइप टु मधुमेह जस्ता दीर्घरोगको समेत उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बिरामीको मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएकाले कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखी ईसीजी, इको तथा कार्डियाक इन्जाइमलगायतका परीक्षण पटक–पटक गरिएको थियो । उपचारमा बहुविषयगत टोली परिचालन गरिएको र न्युरोलोजिस्ट तथा मनोचिकित्सकको समेत परामर्श लिइएको अस्पतालको भनाइ छ ।
प्रेस नोटअनुसार रोगको स्पष्ट निदान हुन नसकेपछि थप ‘क्रस ओपिनियन’ का लागि वैशाख ११ गते रेफर गरिएको थियो । तर बिरामीको अवस्थामा केही सुधार देखिएपछि अस्पतालमै उपचार जारी राखिएको उल्लेख छ । उपचारकै क्रममा वैशाख १३ गते बिरामीको अवस्था अचानक गम्भीर बनेपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनापछि अस्पताल प्रशासन र बिरामी पक्षबीच छलफल भएको र उपचारका क्रममा गरिएका सबै प्रयासबारे जानकारी गराइएको अस्पतालले जनाएको छ । वैशाख १४ गते अस्पताल प्रमुख, विभागीय प्रमुख, प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार तथा पूर्वराज्यमन्त्री दलबहादुर सुनारको उपस्थितिमा पुनः छलफल भएको उल्लेख गरिएको छ ।
सो छलफलमा चिकित्सकीय उपचारका सीमितता र नियन्त्रणबाहिरको अवस्थाका कारण यस्तो घटना हुनसक्ने विषय स्पष्ट पारिएको अस्पतालको दाबी छ ।
अस्पतालले उपचार प्रक्रियामा कुनै नियतवश त्रुटि भएको भए सम्बन्धित निकायबाट अनुसन्धान गर्न सकिने र त्यसका लागि बिरामी पक्ष स्वतन्त्र रहेको उल्लेख गरेको छ। तर दबाबका आधारमा अस्पतालले लापरबाही स्वीकार नगर्ने स्पष्ट पारेको छ ।
प्रेस नोटमा वैशाख १५ गते बिहान करिब १०ः३० बजे मृतकका आफन्त र आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की, हातपातको प्रयास तथा अमर्यादित व्यवहार गरेको आरोप लगाइएको छ ।
यस्तै प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेमाथि पनि भौतिक आक्रमणको धम्की सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उक्त घटनाले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको छ ।
अस्पतालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम घटनामा संलग्नमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै यस्ता मानसिक दबाब र असुरक्षाका कारण अस्पतालका केही सेवा प्रभावित हुनसक्ने चेतावनी पनि दिएको छ ।
अस्पताल प्रशासनले चिकित्सक–बिरामी सम्बन्धमा अविश्वास फैलाउने, सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार गर्ने तथा चिकित्सकमाथि आक्रमण उक्साउने गतिविधि नगर्न आग्रह गरेको छ । अस्पतालले उपचारको उद्देश्य बिरामीको जीवन रक्षा र स्वास्थ्य सुधार नै रहेको उल्लेख गर्दै घटनालाई अतिरञ्जित नगर्न सबै पक्षसँग अपिल गरेको छ ।













प्रतिक्रिया