‘होल्डिङ सेल्टरमा बिजोग छ’ « Khabarhub

‘होल्डिङ सेल्टरमा बिजोग छ’

मानसिक समस्यादेखि संक्रामक रोगको जोखिम



काठमाडौं– करिब तीन हप्ताभित्र व्यवस्थापन गर्ने बाचा गरेर सरकारले सुकुम्वासी बस्ती खाली गरेको ३५ पुगिसिकेको छ । तर सरकारले व्यवस्थापनको नाममा सिन्को भाँच्ने संकेत देखाएको छैन । कैदी जस्तै राखिएको भनेर होल्डिङ सेल्टरका सुकम्वासीहरु गुहार मागिरहेका छन् । सरकार भने होल्डिङ सेल्टरमा मिडियालाई प्रवेश निषेध गरेर आफ्ना कमजोरी लुकाउने प्रयासमा छ ।

बन्दुकको नाल तेर्स्याएर वस्ती खाली गर्न बाध्य पारेपनि पीडितहरु नयाँ सरकारसँग आशावादी छन् । विभिन्न असुविधाको बावजुद पनि पीडितहरु सरकारको बारेमा नराम्रो टिप्पणी गरिहाल्ने मुडमा छैनन् ।

भूमि समस्या समाधान गर्न सरकारले नयाँ समिति गठन गरेको छ । तर त्यसको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई राख्ने तयारी गरिएको छ । त्यसो भए सुकुम्वासीहरु अझै जोखिममा पर्ने नेपाल महिला एकता समाजकी निर्देशक भगवती अधिकारी बताउँछिन् ।

उनका अनुसार प्रशासन कार्यालयको म्यान्डेट अरुले अतिक्रमित गरेको सरकारी जमिन फिर्ता ल्याउने हो । निर्देशक अधिकारीले यस निर्णयलाई चोरको हातमा चाबी दिए टिप्पणी गर्छिन् । यसबारे खबरहबले उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

सुकुम्वासीलाई राखिएका होल्डिङ सेल्टरतिरको अवस्था कस्तो पाउनु भएको छ ?

सुकुम्वासी हटाएको आज बिहीबार ३५ दिन पूरा भयो । हरेक कुरा रफ्तारमा गर्छु भन्ने सरकार सुकुम्वासी व्यवस्थापनको सवालमा किन चुप छ ? यो सरकारसँग सुकुम्वासी व्यवस्थापन गर्ने क्षमता र हैसियत पनि छैन । सुकुम्वासीहरु शरण पर्छन् भनेर सरकारले सोचेकै थिएनन् । त्यस कारणले पनि कुनै तयारी थिएन । सरकारसँग आश्वासन दिनुबाहेक अरु विकल्प छैन । तर सुकुम्वासीहरु कति दिन पो चुप लागेर बस्लान ? उनीहरु सडकमा नआउँदै सरकारले समस्याको समाधान गरोस् भन्ने हो ।

मन्त्रालयको रोहवरमा नयाँ भूमि समस्या समाधान समिति बनेको भन्ने जानकारीमा आएको छ । त्यो समितिको नेतृत्व सीडीओले गर्दैछ । जसको जिम्मा सरकारी जग्गा जमिनको संरक्षण गर्नु हो । उसको म्यान्डेट अरुले अतिक्रमित गरेको सरकारी जमिन फिर्ता ल्याउने हो । यो त चोरको हातमा चाबी दिएजस्तो भयो । शासकको हातमा चाबी गयो । सीडीओको रोहबरमा प्रत्येक जिल्लामा तीन वा पाँच जनाको कमिटि बन्दैछ ।

अब सबै काम कर्मचारीको निर्देशनमा हुनेछ । जनता वा सुकुम्बासीलाई समितिमा राखिएको छैन । त्यहाँ कुनै सर्वदलीय प्रतिनिधि पनि छैनन् । उनीहरुले छानेकै मान्छे भयो भनेपनि कर्मचारीसँगै हो मा हो मिलाउने हुनेछन् । अब देशभरका सुकुम्वासी झनै जोखिममा पर्ने भए ।

अब खोलाको किनारमा बस्ने सुकुम्बासी मात्रै नभएर मुक्त कमैया, हरुवाचरुवा र कमलरीलगायत सरकारी जमिनमा बस्ने सबैको अस्तित्व समाप्त पार्न खोजिएको छ । सीडीओले सरकारी जग्गा फिर्ता लिने नाममा यी सबैलाई हटाउनबाहेक अरु केही देखेको छैन । यो सरकारले नजिर नै त्यस्तो बनायो ।

सुकुम्बासीले सहजै वस्ती खाली गरे भन्ने कुरामा कति सत्य छ ?

स्थानीय सरकार शक्तिहीन बन्यो । उसले हिजोका दिनसम्म हाम्रो नागरिक भनेर नागरिकता दिएको थियो । तर वस्तीबाट अर्थात् वर्षौ बसेको घरबाट केन्द्र सरकारले लखेट्दै गर्दा तमासा हेर्नुबाहेक स्थानीय सरकारले अरु केही गर्न सकेन । वस्ती खाली गर्ने सूचना आएपछि टोल टोलका अध्यक्ष तथा सदस्यलाई फोन गरेँ । तर उनीहरुले केन्द्र सरकारले कुनै समन्वय नगरेको र सुकुम्बासी वस्ती उठाउनेबारे थाहा नभएको बताए ।

सरकारले व्यवस्थापनको केही काम गरेको छैन । यसरी उठाउन नपाइने हो । तर हामीले केही गर्न नसक्ने अवस्थामा छौँ भन्ने कुरा आयो । जनताप्रति स्थानीय सरकार उत्तरदायी बन्न सकेनन् । कसैको पनि सहारा नपाएपछि सुकुम्वासीहरु आफ्नो सामान निकाल्न थाले ।

तस्बिर- नेपाल महिला एकता समाज

हाम्रो दृष्टिले यो स्वस्फुर्त होइन । सुकुम्वासीलाई बाध्य बनाइयो । सुकुम्वासीले प्रतिकार गर्न सकेनन् । किनभने बन्दुकको ट्रिगरमा औँला राखेर प्रहरी उभिएको थियो । मनोहरा वस्ती खाली गर्नेक्रममा प्रहरी ट्रिगरमा औँला राखेर उभिएका थिए । जिन्दगीमा कहिले नदेखेको हतियार बोकेर प्रहरी खटिएका थिए । बन्दुक बोकेर प्रहरी गस्ती गर्दै घर छिरेका थिए । सामान निकाल्नुहोस् भन्दै बन्दुक लिएर घरभित्र प्रवेश गरेपछि उनीहरुले ज्यान बचाउने तिरै लागे ।

स–साना छोराछोरी र बूढाबूढी उमेरका बाउआमाको हित सम्झेर पनि सुकुम्वासीहरु प्रतिकार गर्नेतिर लागेनन् । जेन–जी आन्दोलनमा विद्यार्थी भाइबहिनीहरुजस्तै गोली खान बाध्य हुनुभन्दा चुपचाप लाग्नु ठीक माने । शहीद र घाइते जेन–जीहरुले त अहिलेसम्म न्याय पाउन सकेका छैनन्, देश रुपान्तरका लागि गोली खाएकाहरुको हालत त त्यस्तो छ । हाम्रो हालत झन् के होला ? भन्नेमा पुगे । बन्दुकको डरले सुकुम्वासीहरु बोल्न सकेनन् ।

एक पक्षले होल्डिङ सेल्टरमा र‍ाम्रो सेवासुविधा दिइएको छ भन्छन् अर्को पक्षका मानिसहरु चाहिँ त्यहाँ सामान्य मानवीयता पनि ख्याल गरिएन भन्छन्, खास कुरा के हो ?

होल्डिङ सेल्टरमा सुकुम्वासीलाई पूर्ण रुपमा कैदी र शरणार्थीजस्तै राखिएको छ । यो स्थिति आउनुमा राज्यको दोष छ । अघिल्ला सरकारले केही गर्न सकेनन् भन्न सजिलो छ । अहिलेकै नयाँ पार्टीलाई पनि भन्न सजिलो छ ।

देश रुपान्तरण गर्ने भनेर आएको सरकारले झनै बिजोग बनायो । नागरिकलाई आफू बसिरहेको घरबाट निकालेर बेघर बनायो । आखिर व्यवस्थापनको त कुनै तयारी रहेनछ । उनीहरलाई त्रसित बनाएर बस्ती छोड्न बाध्य पारियो । सीडीओ परिचालन गरेर कर्मचारी खटाएको थियो । वस्ती खाली गर्न कर्मचारीहरु सडकमा थिए । हिजो कर्मचारीतन्त्र बिग्रयो भनियो तर आज तीनै कर्मचारीको आडमा वस्ति खाली गराइयो । होल्डिङ सेन्टरमा त अहिले बिजोग छ ।

होल्डिङ सेन्टरमा बिजोग छ भन्नाले ?

दुई छाक भात खान पाउनु र भुइँमा सुत्न पाउनु मात्रै व्यवस्थापन हो ? सुत्केरी चिसो भुइँमा सुतिरहेका छन् । टेन्टमा एउटा खाट छ, त्यसमा सुत्केरी, श्रीमान्, सासु ससुरा छन् । अब हाम्रो संस्कारमा सासु ससुरालाई भूइँमा सुताएर बुहारी खाटमा सुत्न पाउछन् ? यस्तो अवस्थामा कतिपय सुत्केरीहरु भुइँमा सुत्नुपरेको छ । घरपरिवारबीच सम्बन्ध बिग्रने अवस्था छ ।

अर्को, पोसिलो खाना नपाउँदा सुत्केरी आमाको दूध आएको छैन । बच्चलाई ल्याक्टोजिन उपलब्ध छैन । कीर्तिपुरको सेल्टरमा बस्नेलाई केही दिनदेखि दादुरा र ठेउलाहरु देखा परेको छ । ५३ जना बालबालिकामध्ये चार पाँच जनामा देखिएको छ । यो फेरि अन्यलाई सर्दै जान्छ । ठूला मान्छेहरुलाई पनि सर्छ । यदि उनीहरु आफ्नै घरमा बस्न पाएको भए यस्ता रोगको सिकार हुनुपर्दैनथ्यो । यो सरकारले निम्त्याएको ‘मानवीय संकट’ हो ।

सरकारले व्यवस्थापन गर्छु भनेको छ त ?

सरकारले व्यवस्थापन गर्छ भनेर आश गर्नु मूर्खता हुनेछ । गरिब वर्गमाथि गरेको ज्यादतीलाई कुरेर बस, रोकेर बस, धैर्य गर भनेर हुन्छ ? एक महिना नाघ्यो । सेल्टरमा बसेकाहरुले विद्रोह गरेका छैनन् । सरकारले दिएको दुई छाकमा चित्त बुझाएका छन् । जे भन्यो त्यही मानेर बसेका छन् । सडकमा नआउनुको कारण सरकारले के गर्ने रहेछ भनेर बाटो हेरिरहेका छन् । सरकारले जहाँजहाँ दर्ता गर्न आइज भनेको छ । त्यहीँ पुगेका छन् । जे कागजपत्र देखा भनेको छ, देखाएका छन् । जहाँ औँठाछाप लगा भनेको छ, लगाएका छन् । व्यवस्थापन गर्छ भनेर कुरेर बसेको हो ।

मिडियाले सत्यतथ्य बाहिर ल्याउँछ भनेर सरकार डराइरहेको छ । सेल्टरमा पत्रकारलाई प्रवेशमा रोक लगाएको छ । व्यवस्थापन सहि थियो भने मिडिया रोक्नुपर्ने कुनै कारण नै थिएन । सरकारले विगतमा गरेको गल्ती नदोहोर्‍याउने हो भने तत्काल सुकुम्बासीको व्यस्थापन गर्नुपर्छ । सुकुम्वासीलाई कता सहज हुन्छ त्यो क्षेत्रमा लगेर राख्ने हो । सरकारलाई जता मन लाग्यो त्यतै घिसार्ने हो र ?

होल्डिङ सेन्टरमा गएर तीन महिनाको समय लाग्ने भएपनि समय माग्नुपर्‍यो । कुनै व्यक्ति, संस्था, समूहले सहयोग गर्छु भन्यो भने त्यहाँको स्थानीय सरकारसँग समन्वय गरेर उचित व्यवस्थापन गर्नुपर्‍यो । विजोग अवस्थामा राख्नुभएन । कम्तिमा यति गर्दा उनीहरुको सकस कम गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ७ : ४६ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै