राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था « Khabarhub

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

‘हातखुट्टा भाँचिएको भए जोडिन्थ्यो, तर मस्तिष्क नै विक्षिप्त पारिदिए’


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४ को अन्तिम परीक्षा दिँदै गर्दा ९ वर्षकी एक अबोध बालिकाका आँखामा एउटा सपना थियो— देशकै प्रतिष्ठित भनिने ‘बूढानीलकण्ठ स्कूल’ मा पढ्ने । साथीहरू त्यता जाने तयारीमा थिए, उनको बालमस्तिष्कले सोच्यो, ‘त्यहाँ जान पाए मेरो भविष्य सुरक्षित हुन्छ ।’ छोरीको बलियो तर्क र चाहनाका अगाडि मध्यमवर्गीय आमाबुबाले आफ्ना इच्छा र रहरहरू त्यागे ।

२०७९ साल चैत २४ गते भएको कडा प्रवेश परीक्षामा ती बालिकाले दोस्रो स्थान हासिल गरिन् । आमा सावित्रा घिमिरे र बुबाले सुख–दुःख गरेर जम्मा गरेको सम्पूर्ण बचत र सपना बूढानीलकण्ठको हातामा सुम्पिए । तर, कसैले सोचेको थिएन- जुन विद्यालयलाई उनीहरूले ’ड्रिम स्कूल’ ठानेका थिए, त्यहीँभित्र छोरीको सुन्दर भविष्यलाई एउटा कहिल्यै निको नहुने ‘ट्रमा’ (मानसिक आघात) ले कुरूप बनाउनेछ ।

आज तिनै तीक्ष्ण र क्षमतावान् बालिका १२ वर्षकी भइन् । तर, उनी न त विद्यालय जान सक्छिन्, न त सामान्य जीवन नै जिउन सक्छिन् । विद्यालयमा ’रोल नम्बर ३००२’ को चिनारी पाएकी ती बालिका अहिले आफ्नै घरमा वा अस्पतालको शैयामा एउटा ’थुनुवा’ सरहको जीवन बिताउन बाध्य छिन् ।

शिक्षकहरुबाटै कक्षाकोठाभित्र दानवीय व्यवहार

घटनाको सुरुवात विद्यालयका सिनियर विद्यार्थीहरुले जबर्जस्ती हरर मुभी देखाएपछि भयो । हरर मुभी हेरिसकेपछि उनि सामान्य कुरामा डराउने तर्सिने हुन थालिन् । उनको त्यो व्यवहारबारे कसैलाई केही जानकारी भएन । त्यो बेलामा उनले मनोसामाजिक परामर्श पाउनुपर्ने हो । तर उल्टै उनले विद्यालयकै दुई जना शिक्षिका— कविता बराल अधिकारी (केबीए म्याम) र प्रिया पौडेल (पीपी म्याम) बाट शारीरिक र मानसिक दुर्व्यवहार भयो ।

बालिकाकी आमा सावित्रा घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस ती शिक्षिकाहरूले ती बालिकालाई कक्षाकोठामा एक्लै पारेर तर्साउने, लुछ्ने, पिट्ने, गाली–गलौज गर्दै चिच्याउने र विभेदपूर्ण व्यवहार गर्ने गरेको आरोप लगाइएको छ । एउटा ९–१० वर्षको कलिलो बालमस्तिष्कले यो निरन्तरको शारीरिक र मानसिक प्रताडना सहन सकेन । परिणामस्वरूप, २०८२ साल वैशाख २९ गतेदेखि ती बालिका अचानक अचेत भएर लड्न थालिन् । विद्यालयभित्रै पटक–पटक बेहोस हुन थालेपछि मात्र प्रशासनले परिवारलाई खबर गर्‍यो ।

आमा सावित्राले छोरीलाई बचाउन देशका ठूला ठूला अस्पतालहरू धाइन् । नेसनल न्यूरो सेन्टर, न्यूरो अस्पताल बाँसबारी, त्रिवि शिक्षण अस्पताल, मेधार्मा क्लिनिक्स, अन्नपूर्ण न्यूरो र कान्ति बाल अस्पतालसम्म पुर्‍याएर सबै किसिमका जटिल शारीरिक परीक्षणहरू गरिए । चिकित्सकहरूको रिपोर्टले परिवारको होस उडायो । शारीरिक रूपमा कुनै रोग थिएन, बरु विद्यालयभित्र पाएको गहिरो मानसिक चोटका कारण बालिका ‘कन्भर्जन डिसअर्डर’ जस्तो कडा मानसिक समस्याबाट ग्रसित भइसकेकी थिइन् ।

के हो कन्भर्जन डिसअर्डर ?

यो यस्तो गम्भीर मानसिक अवस्था हो, जहाँ गहिरो मानसिक तनाव वा आघातका कारण व्यक्तिको शरीरका अङ्गहरूले काम गर्न छोड्छन् । हाल ती बालिका जुनसुकै बेला बेहोस भएर ढल्छिन् । कहिले उनको पूरा शरीर नै पक्षघात भए जस्तो चल्दैन, त कहिले स्मृति गुमेर आफ्नै आमाबुबा र आफन्तलाई समेत चिन्न नसक्ने अवस्थामा पुग्छिन् ।

हातखुट्टा भाँचिएको भए एकदिन जोडिने आशा हुन्थ्यो, तर मस्तिष्क नै विक्षिप्त पारिएपछि चिकित्सकहरूले पनि उनी कहिले पूर्ण ठीक हुन्छिन् भन्न सकेका छैनन् । बालअधिकार त टाढाको कुरा, उनी हाँस्ने–खेल्ने सामान्य स्वतन्त्रताबाट समेत वञ्चित छिन् ।

अपराधी जोगाउने ‘नमूना’ विद्यालय र पन्छिने प्रशासन

कान्ति बाल अस्पतालको मानसिक विभागले विद्यालयमा दिइएको शारीरिक सजायकै कारण बालिकाको यो अवस्था भएको भन्दै विद्यालयलाई सचेत गराएर पत्र काट्यो । तर, बूढानीलकण्ठ स्कूल प्रशासनले ती दुई शिक्षिकालाई कारबाही गर्नुको साटो उल्टै संरक्षण दियो ।

पीडित पक्षले बाल हेल्पलाइन, शिक्षा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदमा लिखित निवेदन दियो । तर विडम्बना, शिक्षा मन्त्रालयका सहसचिव रुद्र अधिकारी, जो आफैँ बूढानीलकण्ठ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्, उनले यसमा मेरो कुनै भूमिका हुँदैन भन्दै पदीय जिम्मेवारीबाट सोझै पन्छिए ।

आमा सावित्रा घिमिरेले विद्यालयका प्रिन्सिपल केशर खुलालमाथि गम्भीर आरोप लगाएकी छिन् । २०८२ भदौ ३० मा घटनाका प्रत्यक्षदर्शीसँग कुरा गरिरहँदा उनलाई प्रिन्सिपलको निर्देशनमा स्कूलको गेटबाट लखेटिएको थियो ।

विद्यालयका प्रिन्सिपल केशर खुलाल

तत्कालीन अध्यक्ष शर्मिला कार्की र समिति सदस्य हेमेन्द्र बोहोराले प्रमाण हेरेर कारबाही हुनुपर्ने बताए पनि प्रिन्सिपल केशर बहादुर खुलालले शिक्षकले कुटेकै भरमा त तपाईंको छोरीलाई त्यस्तो समस्या भएको होइन भन्दै पन्छिए ।

न्युज ट्वाइण्टी फोर टेलिभिजनबाट प्रसारित कार्यक्रम सिधा कुरासंगको कुराकानीमा प्रिन्सिपल खुलालले आफू यो विद्यालयमा आउनुभन्दा पहिलेको कुरा भएकोले यसबारेमा आफुलाई धेरै कुराहरु थाहा नभएको बताएका छन् ।

‘उनी ५ कक्षामा पढ्दाखेरीको कुरा हो । ७ कक्षाको बीचतिर आइसकेपछि मकहाँ आईपुग्यो । त्यसपछि तुरुन्तै अभिभावक समेत रहने गरी छानबिन समिति बनाएर अध्ययन गर्दा शिक्षिकाहरुमाथि लगाइएको आरोप सत्य होइन भन्ने कुरा आयो’ उनले भने ।

आफ्ना बालबालिकाहरु पनि सोही विद्यालयमा भएकाले खुलेर बोल्न नसकेको र रिपोर्ट लेख्दा अभिभावकहरुलाई सम्मिलित नगराइएको सावित्राको आरोप छ । घटनाबारे अध्ययन गर्न बनेको छानविन समितिले पीडित बालिकासंग पनि बयान नलिएर रिर्पोट बनाएको प्रिन्सिपल खुलालले स्वीकारेका छन् ।

घटनाबारे प्रहरीको उदासिनता

पीडित बालिकाकी आमा सावित्रा छोरीलाई न्याय माग्दै राष्ट्रिय बाल अधिकार परिषद् पुगिन् । परिषदले अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्जलाई पत्र काट्यो ।

अनुसन्धानको निष्कर्ष माग्न जाँदा प्रहरीले गैरजिम्मेवार रूपमा जवाफ दिँदै भन्यो— ‘हामी त निष्कर्षमा पुग्नै सकेनौँ ।’ प्रहरीले किटानी जाहेरी लिन समेत अस्वीकार गरेपछि आमा सावित्रा जिल्ला सरकारी वकिल कार्यालय पुगिन् ।

सरकारी वकिलको कडा निर्देशन पछि मात्र २०८३ वैशाख ७ गते (दर्ता नं. ९१६) किटानी जाहेरी दर्ता भयो । तर, जाहेरी दर्ता भएको दुई महिना बितिसक्दा पनि महाराजगन्ज प्रहरी काम भइरहेको छ भन्दै पन्छिरहेको उनको आरोप छ । संविधानको धारा २१ ले ग्यारेन्टी गरेको अपराध पीडितको हकलाई प्रहरीले कुल्चिएको उनले बताइन् ।

आमाको खुल्ला चुनौती : हिम्मत भए बहसमा आउनुस्

आफ्नो संसार उज्यालो बनाउने छोरी अस्पतालको कुनामा छटपटाइरहँदा, पीडक शिक्षिकाहरू भने खुल्ला आकाशमा मोजमस्ती गरिरहेको देख्दा आमा सावित्राको धैर्यको बाँध टुटेको छ ।

पीडित बालिका

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री, शिक्षामन्त्री र कानुनमन्त्रीलाई सिधा प्रश्न गरेकी छिन्– के बूढानीलकण्ठ विद्यालयलाई सरकारले स–साना नानीबाबुहरूको जीवनसँग खेलबाड गर्ने इजाजत पत्र दिएको हो ? उनले प्रिन्सिपल केशर खुलाल र विद्यालयको सिंगो टोलीलाई ‘फेस टु फेस’ बहसमा बस्न खुल्ला चुनौती दिएकी छिन् ।

“तपाईंका प्रमाण तपाईं ल्याउनुस्, तपाईंको सिंगो स्कूल बोलाउनुस् म सार्वजनिक मञ्चबाटै उद्घोष गर्छु तपाईं बोलुञ्जेल म एक शब्द बोल्ने छैन । तर मैले बोल्ने बेला मेरा प्रश्नहरूको जवाफ तपाईंले कुरा नचपाइकन दिनुपर्छ । यदि मैले मिथ्या बोलेकी छु भने तत्काल मलाई हतकडी लगाएर खोरमा जाकियोस् । हिम्मत छ भने सिंगो बूढानीलकण्ठ एकातिर भएर आओस्, म एक्लै अर्कोतिर बसेर जवाफ दिन तयार छु’ उनले चेतावनी दिएकी छन् ।

एउटा नामी विद्यालयको ’ब्रान्ड नेम’ को भ्रममा परेर मैले आज आफ्नो सर्वस्व गुमाएकी छु । छोरीलाई अहिले भानुभक्त मेमोरियल विद्यालय पानीपोखरीमा भर्ना त गरिएको छ, तर रोगका कारण उनी त्यहाँ पनि जान सकेकी छैनन् । एउटी आमा आज पनि आफ्नी अर्धचेत छोरीको हात समातेर न्यायको पर्खाइमा छिन् । के यो राज्यले ती अबोध बालिकालाई न्याय देला ?

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ६ : ३२ बजे

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने