तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमण हालै इरानका पाँच तटीय चौकीमा भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको आईआरजीसीले जनाएको छ ।
आईआरजीसीको आधिकारिक समाचार माध्यम ‘सेपाह न्यूज’मा प्रकाशित विज्ञप्तिअनुसार कुवेतस्थित अली अल सलेम वायुसेना आधार र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित आठ सैन्य पूर्वाधारलाई लक्षित गरी संयुक्त आक्रमण गरिएको हो ।
विज्ञप्तिमा अमेरिकी सेनाले आइतबार बिहान आइआरजिसीको नौसैनिक जहाजसँग भएको भिडन्तलाई बहाना बनाएर इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको आरोप लगाइएको छ । आइआरजिसीले अबदेखि ‘स्टे«ट अफ हर्मुज’बाट अनधिकृत रूपमा आवतजावत गर्ने जहाजमाथि अझ कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, कुनै पनि सम्भावित आक्रमणको कडा जवाफ दिइने पनि जनाएको छ ।
आईआरजिसीले युद्धबिराम उल्लङ्घन हुनु इरान र संयुक्त राज्य अमेरिकाबीच हालै भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू)को उल्लङ्घन भएको दाबी गर्दै यसले कूटनीतिक प्रक्रियालाई प्रभावित पार्नसक्ने चेतावनी दिएको छ । उसले उक्त समझदारीअनुसार ‘स्टे«ट अफ हर्मुज’मा समुद्री यातायात व्यवस्थापनको जिम्मेवारी इरानको रहेको पनि दाबी गरेको छ ।
यसैबीच, कुवेतले आफ्नो भूमिलाई लक्षित गरी भएको इरानी आक्रमणको कडा निन्दा गरेको छ । कुवेती विदेश मन्त्रालयले उक्त आक्रमणलाई देशको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भएको उल्लेख गर्दै यसले राष्ट्रिय सुरक्षा तथा क्षेत्रीय स्थायित्वमा चुनौती थपेको जनाएको छ ।
बहराइनको गृह मन्त्रालयले पनि इरानी आक्रमणका कारण मुहर्रक गभर्नरेटस्थित एक आवासीय भवनमा क्षति पुगेको जनाएको छ । मन्त्रालयका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र सम्बन्धित निकायले आवश्यक सुरक्षा तथा उद्धारका कार्य सुरु गरेका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार आइतबार बिहान इरानको दक्षिणी होर्मोज्गान प्रान्त र केश्म टापुमा पनि धेरै विस्फोट भएका छन् । उता, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले सामाजिक सञ्जाल एक्समार्फत इरानका विभिन्न सैन्य लक्ष्यमाथि थप आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार ‘स्टे«ट अफ हर्मुज’ नजिक पनामा झण्डा बोकेको ट्याङ्करमाथि इरानले गरेको ड्रोन आक्रमणको प्रत्युत्तरस्वरूप ती कारबाही गरिएको हो ।
सेन्टकमले आफ्नो आक्रमण व्यावसायिक जलयानमाथि भइरहेका इरानी आक्रमणको प्रत्यक्ष प्रतिक्रिया भएको दाबी गर्दै इरानका सैन्य निगरानी संरचना, सञ्चार प्रणाली, वायु प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमतालाई लक्षित गरिएको जनाएको छ ।
यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानको दक्षिणी तटीय क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको थियो । त्यसको प्रत्युत्तरमा आईआरजीसीले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो । गत जुन १८ मा इरान र संयुक्त राज्य अमेरिकाले लेबनानसहित क्षेत्रीय युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । दुवै देशबीच अन्तिम शान्ति सम्झौताका लागि वार्ता जारी रहेको जनाइएको छ ।












प्रतिक्रिया