सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ? « Khabarhub

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक सम्पन्न भएको छ।

रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी विपक्षी तथा अन्य राजनीतिक दलका शीर्ष नेताले सुनसरी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । देशमा ठूलो संकट उत्पन्न हुँदा समेत प्रधानमन्त्री वालेन्द्र शाह र उनको नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्।

बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सभापति गगन थापाले संकटका बेला सरकार र प्रधानमन्त्रीको निष्क्रियतामाथि कडा प्रश्न उठाए।

“यतिखेर सरकार के गर्दैछ? सरकार कहाँ छ? सरकार केवल बन्दुकको गोली र लाठीमा मात्र भेटिनु हुन्न, सरकार स्टाटसमा मात्र सीमित हुनु हुँदैन “, थापाले भने, “यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो? ठालु भएर बस्ने हो? यो बेलामा रिच आउट गर्नु पर्दैन? सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन?” उनले राष्ट्रपति र प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । थापाले संकटको यो घडीमा सरकारलाई सहयोग गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा बालेन शाह नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै गम्भीर प्रश्न उठाए।

विगतमा भूकम्प, बाढी-पहिरो र संविधान निर्माणका क्रममा प्रस्तुत गरिएको राजनीतिक परिपक्वता र एकताको प्रसङ्ग कोट्याउँदै उनले बल प्रयोगबाट कुनै पनि समस्याको दीर्घकालीन समाधान ननिस्कने स्पष्ट पारे। संसद् र सरकार दुवै ठाउँमा प्रभावकारी भूमिका नदेखिएको टिप्पणी गर्दै प्रचण्डले घटनास्थलमा बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

सर्वदलीय पहलकदमी लिएकोमा रास्वपा र सभापति रवि लामिछानेप्रति आभार व्यक्त गर्दै नेताले स्थानीय तहमा सद्भाव कायम राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिइसकेको जानकारी गराएका थिए।

बैठकमा सहभागी दलहरूले सुनसरीलगायत सम्भावित प्रभावित क्षेत्रमा पूर्वसतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढाउन साझा सहमति जनाएका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति थापा, नेकपाका संयोजक प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वणिम वाग्ले, नेपाली काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत उपस्थिति थिए।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : ०२ बजे

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा