गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता « Khabarhub

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र भैलद्योको आकर्षण मात्र देख्नुहुन्छ होला तर गाईजात्राको दिन बिहानै बाजागाजासहित भक्तपुरका नौ वटा पूर्व फर्केका ढुङ्गेधारा खोज्दै हिँड्ने ‘गुपु हिटी सिकेगु’ अर्थात् नौ ढुङ्गेधारा चिन्न जाने परम्परा पनि छ ।

यही परम्परालाई निरन्तरता दिँदै भक्तपुर नगरपालिका–८ लिवालीस्थित निओ फ्युजन बाजा समूहले आज बिहानैदेखि ‘गुपु हिटी सिकेगु’ कार्यक्रम आयोजना गरेको छ । समूहका अध्यक्ष सविन लेबाले लोप हुने अवस्थामा पुगेको परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार सापारु अर्थात् गाईजात्राको दिन नौ वटा ढुङ्गेधारामा मुख धुनुपर्ने, नौ जोडी लुगा फेर्नुपर्ने, नौ थरी परिकार खानुपर्ने र नौ पटक भक्तपुर नगर परिक्रमा गर्नुपर्ने चलन रहेको छ । यसै परम्पराअन्तर्गत पूर्व फर्केका नौ वटा ढुङ्गेधारामा मुख धुन जाने र ती ढुङ्गेधारा चिन्न जाने परम्परा रहेको उनले बताए ।

लोप हुने अवस्थामा पुगेको यस परम्परालाई निरन्तरता दिन आफूहरूले करिब पाँच वर्षदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लेबाले बताए । नेवारी पोसाकमा सजिएका सयौँ सहभागीले धाँ, धिमे र बाँसुरी बाजा बजाउँदै ती ढुङ्गेधाराको परिक्रमा गरेका थिए ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार विगतमा भक्तपुरका स्थानीयवासी बाजागाजासहित नेवारी पोसाकमा सजिएर बिहानै ‘गुपु हिटी सिकेगु’ भन्दै सहभागी हुने गरेका थिए । तर पछिल्ला केही वर्षदेखि यो परम्परा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

‘आजभोलि नयाँ पुस्ताले बाजागाजामा रुचि राखेजस्तै नौ वटा पूर्व फर्केका ढुङ्गेधारा चिन्न जाने परम्परालाई पनि सँगसँगै अघि बढाउने प्रयास गरेकोमा खुसी लागेको छ,’ श्रेष्ठले भने ।

उनका अनुसार सामान्यतः पश्चिम र दक्षिण फर्केका ढुङ्गेधारा हुने गरेकामा पूर्व फर्केको ढुङ्गेधारा पनि हुनुपर्छ भन्ने मान्यताका आधारमा त्यस्ता धारा निर्माण गरिएको इतिहास छ । सापारुको दिन ती पूर्व फर्केका ढुङ्गेधारामा मुख धुन जाने परम्परा त्यसैको निरन्तरता भएको श्रेष्ठले बताए ।

भक्तपुरमा पूर्व फर्केका ढुङ्गेधारा खोज्ने परम्परा सूर्यविनायक गणेश मन्दिर नजिक रहेको ढुङ्गेधाराबाट सुरु भएर भक्तपुरको तचपाल अर्थात् दत्तात्रयस्थित भिंद्यो हिटीमा पुगेर समापन हुने गर्दछ ।

यस क्रममा सूर्यविनायक गणेश मन्दिर नजिकको ढुङ्गेधारा (इनारे गणेद्य नपाँच्वंगु हिटी), इनारे (सूर्यविनायक) लुखा हिटी, भार्वाचो बजिगांछा हिटी, नासमना दबू हिटी, तःमारी धभारी चुक हिटी, भुलुचुलु हिटी, तिबुक्छें हिटी, भध्वाका हिटी र तचपाल भिंद्यो हिटी गरी नौ वटा ढुङ्गेधाराको परिक्रमा गरिन्छ । यी ढुङ्गेधारा मल्लकालीन समयमा निर्माण भएको संस्कृतिविद् श्रेष्ठले बताए ।

कार्यक्रममा सहभागी बालकृष्ण बनमालाले तीमध्ये केही ढुङ्गेधारामा पानी आउन छाडेको र केही लोप हुने अवस्थामा पुगेको बताए । पानी आउने ढुङ्गेधारा पनि व्यवस्थित नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १२ : २८ बजे

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा