काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको करिब ४.४ अर्ब पाउन्डको सञ्चित कोषबाट सदस्य राष्ट्रलाई थप रकम वितरण गर्न सकिने संकेत गरेका छन्।
बीबीसी स्पोर्ट्सका अनुसार फिफाका ६ वटा महादेशीय महासंघहरूलाई पत्र लेख्दै अध्यक्ष इन्फान्टिनोले जिम्मेवार तरिकाले दिन सकिने सबैभन्दा उच्च स्तरको अतिरिक्त आर्थिक सहयोगलाई आफूले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
फिफा विश्वकप र अन्य प्रतियोगिताको अधिकार निजी लगानीकर्तालाई बेच्ने प्रस्ताव ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) योजना चौतर्फी विरोधपछि फिर्ता लिनुपरेपछि इन्फान्टिनो निरन्तर दबाबमा छन्। युरोपेली फुटबल महासंघ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारिबियन क्षेत्रको महासंघ (कन्काकाफ) ले फिफाको सञ्चित कोषबाट आफ्ना सम्पूर्ण २११ सदस्य राष्ट्रलाई जनही १ करोड अमेरिकी डलर (करिब ७५ लाख पाउन्ड) उपलब्ध गराउन माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
यो प्रस्तावमाथि आगामी अक्टोबर १५ मा बस्ने फिफा काउन्सिलको बैठकमा छलफल हुनेछ।
अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेका बेला इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक प्रस्तावको पुनः बचाउ गरेका छन्। यसै महिनाको सुरुमा इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) की अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले विवादित योजनासँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्न र एफएफईको स्वतन्त्र समीक्षा गर्न इन्फान्टिनोसँग माग गरेकी थिइन्।
इन्फान्टिनो आगामी मार्च २०२७ मा चौथो कार्यकालका लागि अध्यक्षको चुनाव लड्दै छन्। उनीविरुद्ध प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूका लागि नोभेम्बर १८ सम्मको समयसीमा तोकिएको छ।














प्रतिक्रिया