काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको आयोवा राज्यमा १८ अर्ब अमेरिकी डलरको लागतमा देशकै ठूलो स्टिल प्लान्ट स्थापना गर्ने घोषणा गरेका छन्।
एस्सार समूहको सहायक कम्पनी मेसाबी मेटैलिक्समार्फत निर्माण हुने उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता एक करोड टन स्टिल हुने ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा बताएका छन्।
मेसाबी मेटैलिक्सका अध्यक्ष रेवन्त रुइयाले उक्त लगानीले अमेरिकाको पूर्वाधार क्षेत्रलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
उनका अनुसार रुइया परिवारले मिनेसोटामा तीन अर्ब डलर लगानी गरी नयाँ लौह अयस्क खानी परियोजनामा समेत काम गरिरहेको छ। उक्त खानी अमेरिकामा करिब ५० वर्षपछि सुरु हुन लागेको पहिलो नयाँ लौह अयस्क खानी हुने बताइएको छ।
एस्सार समूहका सहसंस्थापक रवि रुइयाले समूहले दशकौँदेखि स्टिल प्लान्ट, तेल प्रशोधन केन्द्र तथा ऊर्जा परियोजना निर्माण गर्दै आएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले प्रस्तावित स्टिल परियोजना ‘खानीदेखि उत्पादन केन्द्रसम्म’ पूर्ण रूपमा अमेरिकी आपूर्ति शृङ्खलामा आधारित हुने बताएका छन्।
उनका अनुसार प्लान्टमा प्रयोग हुने लौह अयस्क अमेरिकामै उत्खनन गरिनेछ र त्यसैबाट अमेरिकामै स्टिल उत्पादन गरिनेछ। यसबाट घरेलु उत्पादन तथा अमेरिकी विनिर्माण क्षेत्रलाई थप बल पुग्ने ट्रम्पको भनाइ छ।














प्रतिक्रिया