काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्याइएको थियो।
राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा बस्ने आफ्नी प्रेमिका ‘नानिचा’को इच्छाबमोजिम उनको टोलबाट पनि रथयात्रा अवलोकन गराउन तेस्रो दिनको जात्रा थप गरेको इतिहास छ।
तिनै नानिचाको नामबाट शुरु भएको यो जात्रा पछिल्ला वर्षहरूमा भने महिला सशक्तीकरण र लैंगिक समानताको विशिष्ट मञ्चमा रूपान्तरण भएको छ।
वि.सं. २०६९ सालयता सामुदायिक छलफलमार्फत नानिचाको दिन महिलाले मात्र रथ तान्ने परम्परा छ। मङ्गलबार परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएका सयौँ महिला तथा युवतीले सामूहिक रूपमा रथ तानेका थिए।














प्रतिक्रिया