काठमाडौं– सरकारले ८ भागमा विभाजन गरेर विभिन्न वर्गलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । जेष्ठ नागरिक, एकल र विधवा महिला, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख आदिवासी जनजाति, बालबालिका (बाल संरक्षण अनुदान) र ७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार शीर्षकमा सरकारले सामाजिक सुरक्षा खर्च गर्ने गर्छ ।
जसमध्ये जेष्ठ नागरिक भत्तामा सरकारको सबैभन्दा ठूलो खर्च हुने गरेको छ । अन्य कोषको अभ्यास अघिदेखि नै भएपनि सामाजिक सुरक्षा भत्ता भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ मा वृद्ध भत्ताबाट गरेका थिए ।
मनमोहनको नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई मासिक १ सय रुपैयाँ वृद्ध भत्ता दिने व्यवस्था सुरु गरेको थियो । ७५ वर्ष वा सोभन्दा बढी उमेर भएका वृद्धलाई भत्ता वितरण गर्न सुरु गरेका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले बजेटमार्फत यो कार्यक्रम घोषणा गरेका थिए । यो कार्यक्रम नेपालमा सामाजिक सुरक्षाको महत्वपूर्ण सुरुवात मानिन्छ ।
आर्थिक वर्ष ०५६/५७ कांग्रेसका अर्थमन्त्री महेश आचार्यले १०० रुपैयाँको वृद्धभत्तालाई १५० रुपैयाँ पुरयाएका थिए । त्यस्तै, ०६१/६२ मा भरतमोहन अधिकारी अर्थमन्त्री भएको बेला वृद्धभत्ता १७५ पुगेको थियो । पुष्पकमल दाहालको नेतृत्वको सरकारका पालामा अर्थमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्तालाई १७५ रुपैयाँबाट एकै पटक ५०० रुपैयाँमा पुर्याएका थिए ।
२०७२ सालमा कांग्रेस नेतृत्वकै सरकारका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ५०० रुपैयाँबाट १ हजार पुर्याएका थिए । त्यस्तै, ०७४/७५ मा अर्थमन्त्री विष्णु पौडेलले मासिक दुई हजार पुर्याए । ०७६/७७ बाट वृद्ध भत्ता मासिक ३ हजार रुपैयाँ पुर्याएको थियो । आर्थिक वर्ष ०७८/७९ मा फेरि सामाजिक सुरक्षा भत्ता वृद्धि गरिएको थियो, जुन अहिलेसम्म कार्यान्वयन हुँदै आएको छ ।
एकातिर राज्यकोषमा दबाब उत्पन्न भइरहेको र अर्कोतिर बजारमा महँगी बढिरहेको अवस्थामा यस पटकको बजेट भाषणमा सामाजिक सुरक्षा भत्ता बढ्ला कि नबढ्ला भन्ने चासो उत्पन्न भएको छ ।
कसले कति पाउँछन् ?
जेष्ठ नागरिक ६८ वर्ष उमेर पुगेको – ४ हजार रुपैयाँ
अन्य जेष्ठ नागरिक ६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरूका नागरिक र देशभरिका दलित नागरिक – २ हजार ६६० रुपैयाँ
एकल महिला (विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका) – २ हजार ६६० रूपैयाँ
विधवा (पतिको मृत्यु भएका जुनसुकै उमेरका) – २ हजार ६६० रूपैयाँ
पूर्ण अपाङ्गता भएका (सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू) – ३ हजार ९९० रूपैयाँ
अति अशक्त अपाङ्गता (सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू) – २ हजार १८० रूपैयाँ
लोपोन्मुख आदिवासीरजनजाति (कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया)–३ हजार ९९० रूपैयाँ
बालबालिका (सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई) – ५३२ रूपैयाँ













प्रतिक्रिया