बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ। टर्कीको निकट सहयोगी अजरबैजानले उक्त निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको हो।
अजरबैजानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको निर्णयलाई ‘गम्भीर चिन्ताको विषय’ भन्दै यसले विद्यमान विभाजनलाई अझ गहिरो बनाउन सक्ने उल्लेख गरिएको छ। मन्त्रालयले इजरायली सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
आर्मेनियाले सन् १९१५ देखि १९१७ सम्म ओटोमन साम्राज्यकालमा करिब १५ लाख आर्मेनियालीको मृत्यु भएको घटनालाई नरसंहारका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन लामो समयदेखि प्रयास गर्दै आएको छ। तर टर्कीले भने उक्त दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ। अङ्काराको भनाइमा प्रथम विश्वयुद्धका क्रममा आर्मेनियाली र तुर्क दुवै समुदायका मानिस मारिएका थिए र मृत्यु हुनेको सङ्ख्या आर्मेनियाले दाबी गरेभन्दा कम रहेको छ।
हालसम्म अमेरिका, फ्रान्स, जर्मनीसहित दुई दर्जनभन्दा बढी मुलुकले उक्त घटनालाई नरसंहारका रूपमा मान्यता दिइसकेका छन्। इजरायलले भने टर्कीसँगको रणनीतिक सम्बन्धका कारण लामो समयसम्म यस्तो निर्णय गर्नबाट जोगिँदै आएको थियो।
गाजामा युद्ध सुरु भएपछि टर्की र इजरायलबीचको सम्बन्ध थप चिसिएको छ। टर्कीले गाजामा इजरायलले नरसंहार गरेको आरोप लगाउँदै आएको छ भने इजरायलले ती आरोप अस्वीकार गर्दै आएको छ। विश्लेषकहरूले इजरायलको पछिल्लो निर्णयलाई टर्कीप्रति राजनीतिक सन्देशका रूपमा पनि व्याख्या गरेका छन्।
अजरबैजान र इजरायलबीच रक्षा तथा सुरक्षा क्षेत्रमा घनिष्ठ सहकार्य रहे पनि अजरबैजानको सबैभन्दा निकट रणनीतिक साझेदार टर्की भएकाले यो निर्णयले तीन पक्षीय सम्बन्धमा असर पार्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, दशकौँदेखि काराबाख क्षेत्रलाई लिएर विवादमा रहेका अजरबैजान र आर्मेनियाबीच पछिल्ला महिनाहरूमा तनाव केही कम भएको छ। दुवै देश विस्तृत शान्ति सम्झौताका लागि वार्तामा रहेका बेला इजरायलको यो निर्णयले क्षेत्रीय कूटनीतिमा नयाँ बहस सुरु गराएको विश्लेषण गरिएको छ।












प्रतिक्रिया