घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान « Khabarhub

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

खोप ल्याउन हतार नगर्ने सरकारको रणनीति


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो र काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा एडिस जातिको पोथी लामखुट्टेको एउटा टोकाइले हजारौँलाई थला पार्थ्यो।

तर, यो वर्ष दृश्य अलि फेरिएको छ। तथ्यांकको अवस्थालाई हेर्दा नेपालमा डेंगुको ग्राफ उल्लेख्य रूपमा घट्दो क्रममा छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार सन् २०२६ को जनवरीदेखि जुलाई मध्यसम्मको साढे छ-सात महिनाको अवधिमा देशभर करिब १ हजार ५ सय जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको छ।

विगतका वर्षको तथ्यांकसँग तुलना गर्ने हो भने यो संख्या आधाभन्दा पनि कम हो।

जुलाई, अगस्ट, सेप्टेम्बर र अक्टोबर महिना डेंगु फैलाउने लामखुट्टेका लागि सबैभन्दा अनुकूल मानिन्छन्। यस अवधिमा केही केस बढ्नु स्वाभाविक भए पनि अहिलेसम्मको सूचकांकले नेपाल निकै सहज स्थितिमा रहेको देखिएको छ।

जुलाई, अगस्ट, सेप्टेम्बर र अक्टोबर महिना डेंगु फैलाउने लामखुट्टेका लागि सबैभन्दा अनुकूल मानिन्छन्। यस अवधिमा केही केस बढ्नु स्वाभाविक भए पनि अहिलेसम्मको सूचकांकले नेपाल निकै सहज स्थितिमा रहेको देखिएको छ।

संक्रमण घट्नुको कारण चेतनाको पहुँच

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गोकर्ण दाहालका अनुसार यसको मुख्य कारण बजेट वा ठूला प्रविधिभन्दा पनि स्थानीय तहको प्राथमिकता र जनचेतना हो।

“विगत पाँच वर्षदेखि नेपालले निरन्तर डेंगुको ठूलो असर भोग्यो। यसपटक संघीय सरकारबाट थोरै भए पनि बजेट र प्राविधिक मार्गदर्शन तल्ला निकायसम्म पुग्यो,” डा. दाहालले भने, “जसले गर्दा स्थानीय तहहरूले यसलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने बुझे। काम सहरका ठूला भवनबाट निस्किएर टोल-टोल र गाउँ-गाउँका घरसम्म पुग्यो।”

यसका साथै महाशाखाले सञ्चालन गरेको तीन महिना लामो ‘खोज र नष्ट गर’ अभियान र त्यसको निरन्तर अनुगमनले समुदाय स्तरमा लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने बानीको विकास गराएको उनले बताए।

गमला, टायर, पानीका ट्यांकी र खुला भाँडाकुँडामा पानी जम्न नदिने साना-साना प्रयासले ठूलो महामारी रोक्न मद्दत पुर्‍याएको डा. दाहालको निष्कर्ष छ।

भारतले प्रयोगमा ल्याएको डेंगु खोपबारे नेपालको तयारी के छ?

पछिल्लो समय छिमेकी मुलुक भारतसहित विश्वका ४० भन्दा बढी देशहरूमा डेंगुविरुद्धको खोप प्रयोग र बिक्री-वितरणका लागि अनुमति दिइएका खबरहरू सार्वजनिक भएसँगै नेपालमा पनि खोपको सम्भावनाबारे चासो बढेको छ।

डा. दाहालका अनुसार खोप आउँदैमा रातारात डेंगु निर्मूल भइहाल्छ भन्ने सोच्नु उपयुक्त हुँदैन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि यो खोपलाई सम्पूर्ण जनसंख्यालाई एकैपटक दिइने ‘मास भ्याक्सिनेसन’ को रूपमा सिफारिस गरेको छैन।

बरु, व्यक्तिगत जोखिम र चाहनाका आधारमा प्रयोग गर्न सकिने बताएको उनको भनाइ छ।

केही वर्षअघि बजारमा आएको ‘डेंगभ्याक्सिया’ नामक खोप समुदाय स्तरमा प्रयोग गर्दा फाइदाभन्दा बढी नकारात्मक असरहरू देखिएपछि सो कम्पनी नै बन्द हुने स्थितिमा पुगेको उदाहरण दिँदै खोपको सन्दर्भमा नेपाल सरकार र प्राविधिक सतर्क भएको उनले बताए।

अहिले भारतलगायतका देशमा स्वीकृति पाएको नयाँ खोपका विषयमा नेपालले पनि उत्पादक कम्पनीसँग दुई-तीन पटक प्राविधिक छलफल गरिसकेको डा. दाहालले बताए।

“प्रयोगको सुरुआती चरण (ट्रायल) मा खोप प्रभावकारी देखिए पनि वास्तविक समुदायमा जाँदा यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा कम्तीमा ५ देखि १२ महिना मूल्यांकन नगरी भन्न सकिँदैन,” डा. दाहालले भने।

खोपको सम्भावनाबारे नेपाल सरकारले नजिकबाट अध्ययन गरिरहेको बताउँदै अहिल्यै हतारिएर निर्णयमा पुग्ने अवस्था नरहेको उनको भनाइ छ।

यस वर्ष डेंगुबाट दुई जनाको मृत्यु

यस वर्ष डेंगुका कारण दुई जनाको मृत्यु भएको तथ्यांक दर्ता भएको छ। तर, स्वास्थ्य मन्त्रालयका अनुसार ती दुवै मृत्यु पूर्ण रूपमा डेंगुको मात्र परिणाम भने होइनन्।

मिर्गौलाको कडा रोग वा अन्य जटिल दीर्घरोग भई अन्तिम अवस्थामा अस्पताल भर्ना भएका बिरामीमा डेंगु संक्रमण समेत पुष्टि भएपछि त्यसलाई तथ्यांकीय रूपमा डेंगु मृत्युभित्र समावेश गरिएको हो।

तथ्यांकले स्थिति नियन्त्रणमा देखाए पनि आगामी दुई-तीन महिना जोखिममुक्त भने छैनन्। मनसुनको उत्तरार्धमा थोरै लापरवाहीले पनि संक्रमणको ग्राफ बढाउन सक्छ।

समग्रमा, शुद्ध डेंगुकै कडा जटिलताका कारण मृत्यु हुनेको संख्या यसपालि शून्य रहेको डा. दाहालको दाबी छ।

तथ्यांकले स्थिति नियन्त्रणमा देखाए पनि आगामी दुई-तीन महिना जोखिममुक्त भने छैनन्। मनसुनको उत्तरार्धमा थोरै लापरवाहीले पनि संक्रमणको ग्राफ बढाउन सक्नेतर्फ उनले सचेत गराएका छन्।

खोपको पर्खाइ र वैज्ञानिक अध्ययन आफ्नै ठाउँमा छ, तर नेपालमा आफ्नो घर र समुदाय सफा राख्नु, पानी जम्न नदिनु र लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुविरुद्धको सबैभन्दा शक्तिशाली र अचूक भ्याक्सिन साबित भइरहेको डा. दाहालले बताए।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ५२ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले