काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको छ । पार्टी विधानको भाग ६, धारा २२ बमोजिम सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय समिति बैठकले शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनयन गरेको हो ।
त्यस्तै, रास्वपाले विधानको भाग ६, धारा २३ बमोजिम ८ सदस्यीय ‘पार्टी सचिवालय’ गठन गरेको छ । सचिवालयमा सभापति लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, बैठकले भर्खरै सम्पन्न वडादेखि केन्द्रसम्मको प्रथम ऐतिहासिक महाधिवेशनको समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा भएका कमी-कमजोरी सच्याएर अघि बढ्ने निर्णय गरेको छ । आगामी साउन १८ गतेसम्म प्राप्त हुने सुझाव समेट्ने गरी बैठकले बैठक सञ्चालन, सदस्यता र विभागसम्बन्धी विभिन्न साङ्गठनिक कार्यविधिहरू समेत पारित गरेको छ । रास्वपाले विभागीय नेतृत्वका लागि इच्छुक केन्द्रीय सदस्य तथा सांसदहरूसँग ६ महिनाको स्पष्ट कार्ययोजना मागेको छ ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले भाद्र १ गतेदेखि योग्य र सक्षम उम्मेदवार छनोट प्रक्रियाका लागि ‘क्यान्डिडेट क्लब’ को आवेदन खुल्ला गर्ने भएको छ । सरकारमा सहभागी पार्टीका मन्त्रीहरूसँग केन्द्रीय समितिले महिनाको कम्तीमा एक दिन अनिवार्य प्रत्यक्ष संवाद र कार्यसम्पादनबारे छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नागरिकका गुनासो र समस्या सहजीकरणका लागि रास्वपाले केन्द्रीय कार्यालयमा दैनिक दुई जना केन्द्रीय सदस्य, प्रदेशमा दुई जना र जिल्ला कार्यालयमा एक जना सदस्य अनिवार्य रहने संयन्त्र बनाउने भएको छ ।
त्यस्तै, ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ भव्य रूपमा मनाउन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । संवेदनशील घटनालाई ध्यानमा राख्दै पार्टीले आत्महत्या वा आत्मदाह जस्ता दुःखद विषय सामाजिक सञ्जालमा सेयर नगर्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरूलाई निर्देशिका जारी गरेको छ ।
यसैबिच, रास्वपाले सुनसरी लगायतका जिल्लाहरूमा भएका पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

निर्णय बुँदामा
१. समवेदना तथा सहानुभूति:
सुनसरी लगायतका जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनुहुने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो समवेदना प्रकट गर्दछ। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
२. महाधिवेशनको समीक्षा
पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत र निर्मम समीक्षा गरिएको छ। लोकतान्त्रिक अभ्यासका क्रममा हरेक तहमा भएका कमी-कमजोरीहरूलाई निसङ्कोच स्वीकार गर्दै, ती अनुभवहरूबाट पाठ सिकेर सिङ्गो पार्टी पङ्क्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत अध्ययन गर्ने निर्णय गरिएको छ।
३. पार्टी सचिवालय गठन
पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम ‘पार्टी सचिवालय’ गठन गरिएको छ। उक्त सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरु उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहनुभएको छ।
४. वरिष्ठ नेतामा बालेन्द्र शाहको मनोनयन
पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनित गरिएको छ।
५. साङ्गठनिक दस्तावेजहरू पारित
आगामी श्रावण १८ गते साँझ ५ बजेसम्म केन्द्रीय समिति सदस्यहरूबाट प्राप्त हुने संशोधन सुझावहरूलाई समेट्ने गरी देहायका कार्यविधि र दस्तावेजहरु पारित गरिएको छ।
(क ) बैठक सञ्चालन कार्यविधि, २०८३
(ख) सदस्यता सम्बन्धी कार्यविधि, २०८३
(ग) सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट, २०८३
(घ) विभाग सम्बन्धी कार्यविधि, २०८३
६. विभागीय नेतृत्व छनोटमा कार्ययोजना माग:
विभागको नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबाट आफूले नेतृत्व गर्न चाहेको विभागको स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिने कार्ययोजना माग गरिएको छ।
७. मन्त्रीहरूसँग प्रत्यक्ष संवाद:
सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरिएको छ।
८. ‘क्यान्डिडेट क्लब’ घोषणा
आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा आगामी भाद्र १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुल्ला गर्ने निर्णय गरिएको छ।
९. अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा भव्यताका साथ मनाउने निर्णय गरेको छ। यस कार्यक्रमको आयोजक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य एवं पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रदान गरिएको छ।
१०. नागरिक सहजीकरण
नागरिकका समस्या र गुनासोलाई प्रत्यक्ष रूपमा सुन्न र समाधानका लागि आवश्यक सहजीकरण गर्न हरेक तहका पार्टी कार्यालयहरूमा अनिवार्य उपस्थिति रहने संयन्त्र निर्माण गर्ने निर्देश गरिएको छ। जसअनुसार पहिलो चरणमा नागरिकको सेवाका लागि केन्द्रीय कार्यालयमा हरेक दिन दुईजना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुईजना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एकजना जिल्ला समिति सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।
११. आत्महत्या र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिका
सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै, पार्टीको हरेक तह र तप्कामा रहेका सदस्यहरूलाई आत्महत्या र आत्मदाह जस्ता अत्यन्तै दुःखद घटना, समाचार वा जानकारीहरू आफ्ना कुनै पनि सामाजिक सञ्जालहरूमा सेयर वा सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देशन जारी गरेको छ।












प्रतिक्रिया