प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ « Khabarhub

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिन भइरहेको बताएका हुन् ।

“विगत पाँच दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ,” उनले भनेका छन्, “प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतीपूर्ण भए पनि हामी दृढताका साथ नागरिकको जीवनरक्षाका लागि अघि बढिरहेका छौँ ।”

आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडा ठूलो हुने भन्दै प्रधानमन्त्री शाहले सङ्कटको यस घडीमा सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् । नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व भएकाले सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार बाढीपछि हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । राहत तथा उद्धारका लागि आइतबार थप ७२ सहित हालसम्म ३९४ उडान भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रभावित विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ । यस्तै, रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । उक्त क्षेत्रमा चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धारको काम गरिरहेको छ ।

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास पनि जारी रहेको प्रधानमन्त्रीले बताएका छन् । उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङको काम अघि बढाइरहेका छन् । घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ ।

प्रधानमन्त्रीका अनुसार उद्धार टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाउन सफल भएको थियो । डोरीको सहायताले टोली तल झरेर सुरुङभित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया प्राप्त नभएपछि ठूला उपकरण प्रयोग, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली उद्धारमा खटिएको छ । रसुवाको चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा समेत नेपाली सेनासँग समन्वय गरी भारतीय, चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले खोज तथा उद्धारको काम अघि बढाइरहेको प्रधानमन्त्रीले बताएका छन् ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रबाट २६७ घाइतेलाई उद्धार गरी स्थानीय तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

राहत तथा उद्धारका लागि स्वदेश तथा विदेशबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको उनले जानकारी दिएका छन् ।

रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीले बताएका छन् ।

अन्तर्राष्ट्रिय सहयोगतर्फ एसियाली विकास बैंक, विश्व बैंक, अमेरिका, अस्ट्रेलिया, भारत, चीन, स्विट्जरल्यान्डलगायतका मुलुक तथा संस्थाबाट आर्थिक तथा मानवीय सहायता प्राप्त भइरहेको उनले जानकारी दिएका छन् । भारतबाट हालसम्म ६८।५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ ।

बाढीका कारण अवरुद्ध सञ्चार सेवा तथा सडक पुनः सञ्चालनका लागि पनि काम भइरहेको प्रधानमन्त्रीले बताएका छन् । प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा बिटिएस टावर सञ्चालनमा आइसकेका छन् । बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ ।

बाढीका कारण हालसम्म ७८१ जनाको शव फेला परेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ । पहिचान भएका शव आफन्तलाई जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सरकार, सुरक्षा निकाय, स्वयंसेवक तथा नागरिक सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ९ : ०६ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व