काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउने आधार तय भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएपछि बुधबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्र हित प्रवर्द्धनमा ठोस योगदान पुर्याउन स्पष्ट आधारहरू तय भएको बताएका हुन् ।
उनले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको क्रममा प्रधानमन्त्रीले महासभामा गरेको सम्बोधन र विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलबाट नेपालको कूटनीतिक छवि उच्च भएको धारणा राखे ।
भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले पुर्याएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो र ऐक्यबद्धता जनाएको उनले बताए ।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो मन्तव्यमा नेपालको सन्दर्भ उल्लेख गर्नुका साथै प्रधानमन्त्रीसँगको भेटवार्तामा नेपालको विपत्तिप्रति चासो व्यक्त गरेको जानकारी दिए ।
त्यस्तै मन्त्री खनालले छिटै प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताए ।
सरकार गठन भएदेखि नै भ्रमणको निमन्त्रणा आएको भए पनि दुवै पक्ष उपयुक्त समय मिलाएर ठोस उपलब्धि हासिल हुने गरी भ्रमणको तालिका तय हुने उनको भनाइ छ ।














प्रतिक्रिया