देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ?  « Khabarhub

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 



काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज १८ गतेदेखि आफ्नो १५औँ महाधिवेशन गर्दैछ । ८ दशक लामो इतिहास बोकेको कांग्रेसको तेस्रो पुस्ताका नेतृत्वमा यो महाधिवेशन हुन लागेको हो ।

यतिबेला आयोजकले महाधिवेशन आयोजनाको अन्तिम तयारी गरिरहेको छ भने देशैभरीबाट प्रतिनिधि छनौट गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । वडादेखि सुरु गरी चरणबद्ध रूपमा केन्द्रीय तहसम्म सांगठनिक अधिवेशन सम्पन्न गर्दै कांग्रेसले काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशन आयोजना गर्दैछ ।

देश तथा विदेशबाट निर्वाचित भई आएका करिब ७ हजार महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन समारोहसहित महाधिवेशन अघि बढ्ने कार्यतालिका पार्टीले घोषणा गरिसकेको छ ।

२०७८ मंसिरमा सम्पन्न १४ औँ महाधिवेशन पछि विधान अनुसार चार वर्षभित्रै १५औँ महाधिवेशन गराउनुपर्ने वैधानिक दायित्व पार्टीसामु थियो । तर, सदस्यता नवीकरण तथा वितरणमा भएको ढिलाइ, भदौ २०८२ को ‘जेन–जी’ युवा आन्दोलन र नेतृत्वस्तरमा देखिएको विवादका कारण महाधिवेशन झण्डै एक वर्ष पछि सरेको हो ।

जेन–जी आन्दोलनपश्चात नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विवादबीच तत्कालीन पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गत पुसको अन्तिम साता काठमाडौंमा दोस्रो विशेष महाधिवेशनको अगुवाई गरेका थिए । जुन महाधिवेशनले पार्टी सभापतिमा गगन थापालाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

विशेष महाधिवेशनमा सहभागी नभएको पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको ठूलो समूह भने अहिलेसम्म पनि छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ । 

वडादेखि प्रदेशसम्मको सिलसिला

विशेष महाधिवेशनमार्फत औपचारिक रूपमा पार्टीको नेतृत्वमा पुगेको थापा नेतृत्वको कार्यसमितिले डिजिटल प्रमाणीकरणमार्फत क्रियाशील सदस्यको टुंगो लगाएर वडा तहदेखि प्रदेश क्षेत्रको नेतृत्व चयन गर्दै बुधबारसम्म महाधिवेशन प्रतिनिधि चयन झण्डै सम्पन्न गर्न लागेको छ ।

कांग्रेसले १५ औँ महाधिवेशनको चुनावी प्रक्रिया वडा तहदेखि सुरु गरी प्रदेश तहसम्म सिलसिलेबार रूपमा सञ्चालन गरेको छ । असोज ३ र ४ गते देशका ६,७४३ वडामा वडा अधिवेशन सम्पन्न गरी करिब २ लाख ९६ हजार स्थानीय पदाधिकारी चुनिएका थिए । 

त्यसपछि असोज ६–८ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १०–११ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १२–१३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १४–१५ गते जिल्ला तथा प्रदेश अधिवेशन तालिका अनुसार सम्पन्न भएका छन् । 

यद्यपी यस बीचमा असोज ८ गतेदेखि ५ दिनसम्म आएको वर्षाको कारण केही अधिवेशनका तालिकामा फेरबदल भएका थिए । जो अझै पनि हुँदैछन् । जसका कारण १६ गतेदेखि आयोजना हुने भनिएको महाधिवेशनको कार्यतालिकालाई मंगलबार संशोधन गरेर १८ गतेलाई सारिएको थियो ।

असोज १९ र २० गते समूह विभाजन गरी राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि बन्दसत्रमा छलफल गराइने र त्यसपछि असोज २१ र २२ गते नयाँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचन तथा मतगणना प्रक्रिया सञ्चालन हुने केन्द्रीय निर्वाचन समितिका सचिव राजु कटुवालले बताएका छन् ।

वडाबाटै आउनुपर्ने बाध्यकारी नयाँ मानक

यसपटक संशोधित विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने पुरानो व्यवस्था हटाइएको छ । जसअनुसार पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायत सबै नेतृत्वहरू आ–आफ्नो वडाबाटै क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि चुनिएर आएका छन् । 

महाधिवेशनमा १४औँ महाधिवेशनको ४ हजार ७४३ को तुलनामा बढेर करिब ७ हजार प्रतिनिधि सहभागी हुँदैछन् । प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट ३३ जनाका दरले ५ हजार ४४५ प्रतिनिधि प्रत्यक्ष÷समानुपातिक रूपमा आउनेछन् भने ३५ वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व गराउँदै प्रत्येक क्षेत्रबाट कम्तीमा ३ जना (१ महिलासहित) गरी ४९५ जना युवा महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको छ । 

साथै, खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, अपाङ्गता र पिछडिएको क्षेत्र गरी ८ वटा सामाजिक क्लस्टरबाट समानुपातिक प्रतिनिधित्व मिलाइएको छ ।

२३१ सदस्यीय केन्द्रीय समिति र विषयगत समितिहरू

महाधिवेशनले १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यहरू गरी २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । जबकी विगतमा (विगतको १६८ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको थियो । 

महाधिवेशनलाई व्यवस्थित बनाउन पार्टी सभापति गगन थापाको संयोजकत्वमा असोज ९ गते नै ‘केन्द्रीय निर्देशन समिति’का साथै आर्थिक, सूचना प्रविधि, आवास, स्वास्थ्य, स्वयंसेवक र मञ्च व्यवस्थापनसहित १३ वटा विषयगत समितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपा सभापति रवि लामिछानेसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा निम्तो दिइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : २२ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर