ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा « Khabarhub

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यले लोभ्याउँदै पर्यटकीय गन्तव्य


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ । 

रसुवाको नौकुण्ड गाउँपालिका–१ मा अवस्थित समुद्र सतहबाट दुई हजार ९८० मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक किंवदन्तीले भरिपूर्ण छ । 

जुरेढुङ्गाको पुछारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ, जहाँबाट नौकुण्ड गाउँपालिकाका थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लाच्र्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली र सातधारे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 
  
यहाँबाट छिमेकी जिल्ला नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी र चिसापानीलगायतका डाँडाकाँडा स्पष्ट नियाल्न सकिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जुरेढुङ्गा वरपर थुप्रै खर्क र आकर्षक स्थलहरू छन् । 

चैत–वैशाखमा ३२ भन्दा बढी प्रजातिका लालीगुराँस फुल्ने गर्छन् । जैविक विविधतायुक्त यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (रातोहाब्रे)को समेत वासस्थान छ । यहाँ ठूला–ठूला गुराँस, खस्रु र गोब्रेसल्लाका रुखहरू रहेकाले जङ्गलको मनोरम आनन्द लिन सकिन्छ । 

उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासबारे नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानले जुरेढुङ्गालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पालिकाका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए ।  

जुरेढुङ्गा प्राकृतिक र सांस्कृतिक रूपमा निकै महत्त्वपूर्ण स्थल हो । यस क्षेत्रमा सडक सञ्जालको सहज पहुँच पुर्‍याउन र पर्यटन प्रवर्द्धनका लागि पालिकाबाट योजनाबद्ध रूपमा प्रयासहरू भइरहेका छन् । 

यसैगरी, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जुरेढुङ्गा आन्तरिक तथा बाह्य पर्यटन दुवैका लागि हाइकिङ (पदमार्ग)को उत्कृष्ट सम्भावना भएको ठाउँ रहेको बताए । 

पर्यटकीय विकासका लागि समाजले चालेको कदमबारे उल्लेख गर्दै अध्यक्ष न्यौपानेले जुरेढुङ्गा र आसपासका क्षेत्रलाई हाइकिङ गन्तव्यका रूपमा स्थापित गर्न र प्रचारप्रसारलाई व्यापक बनाउन समाजले विशेष पहल सुरु गरेको छ । 

यहाँको तामाङ वेशभूषा, रैथाने संस्कृति, सूर्योदय र सूर्यास्तको दृश्य, चौँरी एवं भेडाका खर्कहरू र कृषि तथा तरकारी फर्महरू यहाँका थप आकर्षण हुन् । रसुवा, नुवाकोट र काठमाडौँबाट छोटो बिदा मिलाएर यहाँको यात्रा सजिलै तय गर्न सकिन्छ । 

जुरेढुङ्गा पुग्नका लागि विभिन्न यातायातका मार्ग प्रयोग गर्न सकिन्छ । पासाङल्हामु राजमार्गको गोम्बोडाँडा–स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ हुँदै यहाँ पुग्न सकिन्छ ।

कालिकास्थान घुम्तीबाट जिवजिवे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ भएर पनि यात्रा तय गर्न सकिन्छ । 

नुवाकोटको विदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पार्‍च्याङ, लाङ्बु (बिजिली जोङ) भएर तथा बेत्रावतीबाट नौकुण्ड गाउँपालिकाको पाच्र्याङ पुगेर पर्यटकीयस्थलमा पुग्न सकिने स्थानीयले जनाएका छन् । रासस
 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  २ : १५ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले