काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति जेन-जी पत्रकार फोरम नेपालले गम्भीर आपत्ति जनाएको छ।
फोरमले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी भइरहेका धरपकड र पक्राउका घटना तत्काल बन्द गर्न जोडदार माग गरेको छ।
‘नयाँ पत्रिका’ दैनिकमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिइएको, नयाँ पत्रिका र ‘दियोपोस्ट डटकम’को कार्यालयमा सादा पोसाकका प्रहरी परिचालन गरी पत्रकार खोजिएको तथा ‘मोटिभेट न्युज’का अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराललाई कार्यालयबाटै पक्राउ गरिएको घटनाप्रति फोरमले कडा शब्दमा ध्यानाकर्षण गराएको हो।
नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले प्रेस स्वतन्त्रता तथा प्रकाशनमा पूर्वप्रतिबन्ध लगाउन नपाइने संवैधानिक हक सुनिश्चित गरेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ले अनुसन्धानका क्रममा पक्राउ पुर्जीको अनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था गरे पनि विना आधार पत्रकारमाथि धरपकड गरिनु विधिको शासनको उपहास भएको फोरमको ठहर छ।
समाचारमा चित्त नबुझे खण्डन गर्ने वा विधिसम्मत कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै प्रहरी परिचालन गरी पत्रकारलाई त्रसित बनाउने र अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।
जेन-जी पत्रकार फोरमले पक्राउ परेका पत्रकार सुवेदी र बराललाई विनाशर्त तत्काल रिहा गर्न तथा पत्रकारहरूले निर्भीक रूपमा काम गर्ने वातावरण मिलाउन नेपाल सरकार र नेपाल प्रहरीसँग माग गरेको छ।















प्रतिक्रिया