विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ? « Khabarhub

स्वास्थ्य सरोकार

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि सम्भावित जोखिमलाई लिएर चिन्ता बढेको छ । हालसम्म नेपालमा निपाह भाइरस देखिएको छैन । तर पूर्वी नेपालसँग खुला सिमाना भएकाले सरकार र स्वास्थ्यसम्बन्धी निकाय सतर्क भएका छन् । यही कारणले पूर्वी नाकाहरूमा स्वास्थ्य निगरानी बढाइएको छ।

निपाह एकदमै घातक र छिटो फैलिन सक्ने जुनोटिक भाइरस हो, जुन जनावरबाट मानिसमा सर्छ । विश्व स्वास्थ्य संगठनले भविष्यमा महामारी फैलाउन सक्ने उच्च जोखिमयुक्त भाइरसको सूचीमा राखेको यसको संक्रमणबाट मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्ने विज्ञहरू बताउँछन् ।

यस्तो गम्भीर सम्भावनाबीच यो भाइरससँग जुध्न नेपाल कत्तिको तयार छ ? जोखिम नियन्त्रणका लागि के–कस्ता तयारी भइरहेका छन ? नागरिकले के कस्ता कुरामा सतर्क हुनु पर्छ ? यीसहितका विषयमा खबरहबले सरुवा रोग अस्पताल टेकुमा कार्यरत वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनसँग कुराकानी गरेको छ।

छिमेकी भारतमा फैलिएको निपाह भाइरस नेपालमा आउन सक्ने जोखिम कति छ ? 

भारतमा निपाहा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि नेपालमा पनि त्यसको जोखिम बढेको छ । भारतबाट मानिसहरू आवतजात गर्न सहज भएकाले नेपालमा निपाह भाइरस फैलिनसक्ने जोखिमसँगै आन्तरिक रुपमा पनि देखा पर्नसक्छ । 

मलेसियामा १९९९ यो रोग सुँगुरबाट फैलिएको पाइएको छ । तर अहिले भारतमा देखिएको निपाहको चरित्र हेर्ने हो भने चमेरोबाट फैलिएको छ । चमेरोले खाएर फालेका खानेकुरा अथवा त्यसको कुनै तरल पदार्थ मानिसको सम्पर्कमा आएर फैलिएको भन्ने आएको छ । 

त्यसकारण नेपाल पनि निपाहको घेराबन्दीमै छ भन्दा फरक नपर्ला । हुन त बंगलादेश र भारतमा सन २००१ देखि नै यो देखिन थालेको हो । अहिलेसम्म कोभिड जस्तो धेरै मात्रमा फैलिएको छैन । तर पछिल्लो समय भारतमा देखिएको भाइरस मलेसियाको भन्दा झण्डै देब्बर बढी दरमा फैलिरहेको छ । मलेसियामा ४० प्रतिशतमा देखिएको यो भारतमा त्यसको दोब्बर भन्दा बढी देखिएको छ । 

त्यहीकारण नेपालले पनि सतर्कता अपनाउनुपर्ने छ । भारतमा जुन प्रजातिको चमेरोबाट फैलिएको भनिएको छ, त्यो प्रजाति नेपालमा पनि पाइन्छ । यद्यपि नेपालमा यही चमेरोबाट फैलिएको प्रमाणित भएको छैन । त्यसैले कसैलाई भएर पनि पुष्टि नभएको हो की ? भनेर प्रश्न गर्न सकिन्छ । 

त्यस्तै अर्को भारत र बङ्गलादेशमा मानिसहरूलाई चमेरोको सम्पर्कमा आउन सजिलो छ । त्यहाँका वन जंगलमा फलफूल प्रशस्त मात्रामा पाइन्छ । त्यही चमेरोले खाएर फालेको फलफूल मान्छेले खाएर फैलिएको कुरा आएको छ । 

तर नेपालको परिदृश्य अलिकति फरक छ । मानिसहरू जंगलमा त्यति जाने गरेको पाइदैन । घाँस दाउरा गर्न जाने भए पनि चमेरोको सम्पर्कमा मानिसहरू रहेको पाइँदैन । 

तर पछिल्लो समय हाइकिङ जाने, जंगलमा पिकनिक जाने चलन बढिरहेकाले भविष्यको जोखिम छ । त्यस्तै पछिल्लो समय चमेरो घरमा आएर टोकेका केही बिरामी पनि आइरहेका छन् । मानिसहरू चमेरोसँग नजिक भएको अथवा जंगल फडानी हुँदा या जलवायु परावर्तनका कारण निपाह लगायत भाइरस बढ्न सक्ने सम्भावना छ ।

 निपाह भाइरस भएको कसरी थाहा पाउने ? लक्षणहरू कस्ता देखिन्छन् ? 

यसको मुख्य लक्षण मष्तिष्क सुन्निनु, अर्थात इन्सेफ्लाइटिस हुनु हो । त्यसबाहेक सुरुवाती अवस्थामा भने फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिने गर्छ । जस्तै, रुघाखोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने लगायत लक्षण देखिन्छन् । 

यी लक्षणसहित निमोनिया र मौसमी फ्लुमा पनि देखिने भएकाले मानिसहरूले त्यति वास्ता गर्दैनन् । त्यसैले सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । 

थाहा पाउनलाई कस्ता जाँच गर्ने हो ? 

शरीरको तरल पदार्थ रगत, दिसा, पिसाव र ढाडको पानीबाट जाँच गर्न सकिन्छ । कोभिड जसरी चेक जाँच गर्ने गरिएको थियो, त्यसैगरी नाकको, घाँटीको स्वाबबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ । 

तर यो उच्च घातक भाइरस भएकाले कस्तो ल्याबमा जाँच गर्ने भन्ने कुरा पनि आउँछ । यसको जाँचका लागि नेपालमा उपयुक्त ल्याब छैनन् । त्यसैले यस्ता घातक भाइरसबाट जोगिन नेपालले ढिलो त गरिरहेको छैन भन्ने ? मेरो प्रश्न छ ।  

निपाह भाइरस नेपालमा फैलिन नदिन सरकारले कसरी काम गरिरहेको छ ? 

सरकारले आफ्नो तर्फबाट विभिन्न काम गरि नै रहेको छ । तर कोभिडमा पनि त हामीले धेरै प्रयास गर्दागर्दै समस्या आएको थियो । निपाह भाइरस मानिसका लागि त्यति चिनिएको नाम होइन, त्यसैले सचेतनाका काम चाहिँ गर्नुपर्छ । जस्तै कोही व्यक्ति संक्रमित क्षेत्रबाट आएको भए कम्तीमा १२ देखि १४ दिनसम्म आइसोलेशनमा राख्नुपर्छ । 

४५ दिनसम्म यसको जोखिम रहन्छ भनिन्छ । तर औसतमा १२ देखि १४ दिनसम्म यसका लक्षण देखिए चेकजाँच गर्ने कुरा सरकारले स्पष्ट जानकारी गराउनुपर्छ । 

त्यस्तै अर्को महत्वपूर्ण कुरा नेपालमा निपाह भाइरस फैल्याउने चमेरोको प्रजातिको पहिचान हुनुपर्छ । यो मानिसहरूको सम्पर्कमा छ की छैन ? भन्ने विषयमा पनि सरकारले अनुसन्धान गर्न आवश्यक छ । यो भाइरस सुँगुरसँग पनि जोडिएकाले त्यसको जाँच गर्नुपर्छ जस्तो मलाई लाग्छ । 

निपाह भाइरस संक्रमण भइहाले उपचार कसरी गर्ने ? 

पछिल्लो समयको मृत्यु दरको तथ्याङ्क हेर्ने हो भने यसको उपचार गर्न धेरै गाह्रो छ । किनभने यसको लक्षणहरू अन्य फ्लूसँग मिल्ने भएकाले रुघाखोकी नै होला भनेर मानिसले त्यति वास्ता गर्दैनन् । 

त्यस्तै यसको लक्षण देखिएको २४ देखि ४८ घण्टामा बिरामीलाई इन्सेफ्लाइटिस भएर कोमामै जाने भएकाले मृत्युदर बढेको हो । त्यसैले सुरुवाती अवस्थामा देखिने लक्षणका आधारमा उपचार गर्दै जाने हो । 

नभए निपाह भाइरसकै लागि भनेर यसको औषधि अहिलेसम्म बनेको छैन । त्यसैले सुरुवाती अवस्थामा आए केही हदसम्म बिरामीलाई बचाउन सकिन्छ । उपचारमा ढिला गरे बचाउन गाह्रो छ । 

यसबाट बच्न सरकार र आमसमुदायलाई के सुझाव दिनुहुन्छ ? 

सरकारले नेपालमा आन्तरिक जोखिम छ की छैन, त्यसलाई पहिचान गरोस् । जस्तै सुँगुर बिरामी भयो भने कतै निपाह भाइरस जाँच गर्नुपर्छ। मानिसहरू चमेरोको सम्पर्कमा आउने सम्भावना भए नभएको अनुसन्धान गर्नुपर्‍यो । 

आमसमुदायले पनि यो भाइरसबारे जानकारी राखेर रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने जस्ता लक्षण लामो समयसम्म देखिए बेवास्ता नगरी जाँच गराउने र संक्रमण फैलिएको क्षेत्रबाट आएका व्यक्तिले पनि १२ देखि १४ दिनसम्म कसैको सम्पर्कमा नआउने जस्ता कुरामा सतर्क हुनुपर्छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ३ : ०३ बजे

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ