लण्डन– इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट क्लब छाडेको पुष्टि गरेको छ। डच प्रशिक्षक स्लटले सन् २०२४–२५ सिजनमा क्लब सम्हालेको पहिलो वर्षमै लिभरपुललाई प्रिमियर लिग उपाधि दिलाएका थिए।
तर त्यसपछिको सिजनमा उनले सो सफलता दोहोर्याउन सकेनन्। लिभरपुल २०२५–२६ सिजनमा पाँचौँ स्थानमा सीमित रह्यो। क्लब व्यवस्थापनले कठिन सिजनभर स्लटप्रति विश्वास कायम राखेको थियो। विशेषगरी एक चरणमा टोलीले सबै प्रतियोगितामा १२ खेलमध्ये ९ खेल गुमाउँदा पनि उनलाई निरन्तर समर्थन गरिएको थियो।
तर अन्ततः क्लबभित्र परिवर्तन अपरिहार्य भएको निष्कर्ष निकालिएको बताइएको छ। यस सिजन स्लटको खेल शैली अत्यधिक सुस्त र आक्रामकता कम भएको भन्दै आलोचना भएको थियो। क्लबले अब थप आक्रमणमुखी र तीव्र शैलीको फुटबल खेलाउने प्रशिक्षक खोजिरहेको छ ।
स्लटलाई हटाउने निर्णय सजिलो नभएको लिभरपुलले जनाएको छ। जर्गेन क्लोपको स्थानमा सन् २०२४ मा प्रशिक्षक बनेका स्लटले छोटो अवधिमै प्रिमियर लिग जिताएर उल्लेखनीय सफलता दिलाएका थिए।
तर क्लबको भविष्यका लागि नयाँ दिशा आवश्यक रहेको निष्कर्षमा नेतृत्व पुगेको छ। स्लटका सम्भावित उत्तराधिकारीमध्ये बोर्नमाउथका प्रशिक्षक आन्दोनी इराओलाको नाम चर्चामा छ। इराओलाले आफ्नो सम्झौता सकिएसँगै क्लब छाड्ने तयारी गरेका छन्। उनले बोर्नमाउथलाई छैटौँ स्थानमा पुर्याउँदै च्याम्पियन्स लिगमा स्थान दिलाएका थिए।
गत सिजन लिभरपुलले जम्मा ६० अंक बटुलेको थियो, जुन पछिल्लो एक दशककै सबैभन्दा कमजोर प्रदर्शनमध्ये एक हो। टोलीले सबै प्रतियोगितामा १९ हार बेहोरेको थियो। १२५ मिलियन युरोमा अनुबन्ध गरिएका अलेक्जान्डर इसाकसहित केही प्रमुख खेलाडीको चोट र गत जुलाईमा स्ट्राइकर डियोगो जोटाको निधनपछि सिर्जिएको कठिन परिस्थितिले पनि स्लटको काम चुनौतीपूर्ण बनेको थियो।
क्लबका मालिकहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘आर्नेले लिभरपुलमा रहँदा क्लबलाई महत्वपूर्ण योगदान दिएका छन्। उनको नेतृत्वमा क्लबले सफलता पनि हासिल गर्यो। तर टोलीलाई अगाडि बढाउन परिवर्तन आवश्यक रहेको निष्कर्षमा हामी पुगेका छौँ।’
वक्तव्यमा स्लटको क्षमता र योगदानप्रति सम्मान व्यक्त गर्दै उनको लिभरपुल यात्राले क्लबको इतिहासमा महत्वपूर्ण स्थान बनाइरहने उल्लेख गरिएको छ। स्लट सन् २०२४ मे महिनामा डच क्लब फेयेनोर्डबाट लिभरपुल आएका थिए। उनले तीन वर्षको सम्झौतामा क्लब सम्हालेका थिए।














प्रतिक्रिया