मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह « Khabarhub

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

वर्षायाममा झाडापखाला, डेंगु र सर्पदंशबाट कसरी जोगिने ?


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा रोग र स्वास्थ्य समस्याको जोखिम बढ्न थालेको छ । मौसममा आएको असामान्य परिवर्तन, बेमौसमी गर्मी–वर्षा तथा तापक्रमको उतारचढावका कारण झाडापखाला, डेंगु, स्क्रब टाइफस, हैजा लगायतका रोगको संक्रमण बढ्दै गएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका १ हजार ६ सय ५५ बिरामी फेला परेका छन् ।

प्रतिवेदनअनुसार सबैभन्दा धेरै ७ सय २० जना झाडापखालाका बिरामी भेटिएका छन् । त्यस्तै, इन्फ्लुएन्जाजस्ता लक्षण भएका ४ सय ८८, गम्भीर श्वासप्रश्वास संक्रमणका ३ सय ३९, डेंगुका ५३, स्क्रब टाइफसका १९, र्‍याससहितको ज्वरोका १८, जन्डिससहितको ज्वरोका ९ तथा इन्फ्लुएन्जाका ५ जना संक्रमित दर्ता भएका छन् ।

ईडीसीडीका अनुसार झाडापखाला सबैभन्दा ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ । त्यस्तै प्रदेशगत रूपमा झाडापखालाका सबैभन्दा धेरै ३ सय ८१ बिरामी बागमती प्रदेशमा भेटिएका छन् । इन्फ्लुएन्जाजस्तो लक्षण भएका बिरामीमध्ये सुदूरपश्चिममा १ सय ७४ र बागमतीमा १ सय ४८ जना रहेका छन् । गम्भीर श्वासप्रश्वास संक्रमणका बिरामी बागमतीमा ९८ र लुम्बिनीमा ८० फेला परेका छन् ।

डेंगु संक्रमण भने लुम्बिनी प्रदेशमा सबैभन्दा बढी देखिएको छ, जहाँ एक सातामा २२ संक्रमित फेला परेका छन् । स्क्रब टाइफसका १९ संक्रमितमध्ये १७ जना सुदूरपश्चिम प्रदेशका रहेका छन् ।

वर्षायाममा धेरै देखिने रोग र बच्ने उपाय
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिसको समस्या देखिन्छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानी इन्सेफलाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रब टाइफस, कालाजार देखिन सक्छ ।

‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाका कारण लाग्ने यो रोग पानीमा दिसाजन्य पदार्थ वा ढल मिसिँदा सर्ने गर्दछ । संक्रमित व्यक्तिको हातको जीवाणु खानेकुरामा पुग्दा र समयमै उपचार नपाउँदा बिरामीको मृत्युसमेत हुन सक्छ ।

लक्षण: पातलो चौलानी पानीजस्तो दिसा लाग्ने, एक्कासि बान्ता हुने, धेरै तिर्खा लाग्ने र पेट तथा खुट्टाका मांसपेशी बाउँडिने ।

जोगिने उपाय: उमालेको वा निर्मलीकरण गरेको पानी मात्र पिउने, साबुन–पानीले पटक–पटक हात धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

डेंगु
डेंगु रोग ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट सर्छ । हाल लुम्बिनी प्रदेशमा एकै सातामा सबैभन्दा बढी २२ जना संक्रमित भेटिएका छन् ।

लक्षण: ज्वरो आउने, टाउको र आँखाको भित्री भाग दुख्ने, बान्ता र रिँगटा लाग्ने, जिउ दुख्ने र शरीरमा राता बिमिरा आउने ।

जोगिने उपाय: घरवरिपरि पानी जम्न नदिने, पूरै शरीर ढाक्ने कपडा लगाउने, झुलको प्रयोग गर्ने र लामखुट्टे भगाउने क्रिम लगाउने ।

स्क्रब टाइफस
‘ओरेन्सिया सुसुगामुसी’ नामक संक्रमित किर्नाले टोक्दा यो रोग लाग्छ । यो किर्ना मुसा वा अन्य जन्तुको शरीरमा तथा झाडी, खेतबारी र वनजंगलमा पाइन्छ । कुल १९ संक्रमितमध्ये १७ जना सुदूरपश्चिम प्रदेशका छन् ।

लक्षण: किर्नाले टोकेको ठाउँमा कालो दाग बस्ने, ज्वरो आउने, शरीरमा रातो बिमिरा देखिने र जिउ दुख्ने ।

जोगिने उपाय: झाडी वा बारीमा जथाभावी नबस्ने, नाङ्गो खुट्टाले नहिँड्ने, खेतबारीमा जाँदा पन्जा र लामो कपडा लगाउने ।

वर्षाका कारण पानीका मुहान फोहोर हुने हुँदा पानी उमालेर मात्र पिउनुपर्छ । बासी खानाले ‘फुड पोइजनिङ’ हुन सक्ने भएकाले सधैँ ताजा र राम्ररी पकाइएको खाना मात्र उपभोग गर्न डा. पुनको सुझाव छ ।

तराई र भित्री मधेसमा सर्पदंशको उच्च जोखिम
वर्षायाम सुरु भएसँगै तराई तथा भित्री पहाडी क्षेत्रमा सर्पदंशको जोखिम निकै बढेको छ । नेपालमा सामान्यतया वैशाखदेखि असोजसम्म सर्पको प्रकोप बढी हुने गर्छ । कोहलपुर मेडिकल कलेजमा कार्यरत एनेस्थेसियोलोजिस्ट डा. दीपेन्द्र महासेठका अनुसार साउन महिनामा सर्पदंशको जोखिम सबैभन्दा उच्च रहन्छ । सजगता अपनाएमा ९० प्रतिशत करेत सर्पको टोकाइबाट जोगिन सकिन्छ ।

पेट दुख्ने र उल्टी हुने, मांसपेशी शिथिल हुने, आँखाको ढकनी खोल्न गाह्रो हुने, जिब्रो बाहिर निकाल्न र थुक निल्न नसकिने, मुखभरि र्‍याल आउने र बिस्तारै सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ ।

सर्पदंशबाट जोगिने उपाय

भुइँमा नसुत्ने र सुत्ने बेला अनिवार्य झुल लगाउने ।

राति बाहिर निस्कँदा बत्ती (टर्चलाइट) बालेर मात्र निस्कने ।

घरवरिपरिको झाडी सफा राख्ने र जुत्ता लगाउनुअघि राम्ररी टकटक्याउने ।

कुखुराको खोर घरभन्दा टाढा राख्ने र नहेरी खोर वा कुनाकाप्चामा हात नहाल्ने ।

मौसममा आएको तीव्र उतारचढावका कारण स्वास्थ्यमा समस्या देखिनेबित्तिकै हेलचेक्र्याइँ नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जान र आवश्यक सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ९ : ०८ बजे

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको