पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफलमा रवि « Khabarhub

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफलमा रवि

प्रवक्ता सहित केही पदाधिकारी बुधबार नै मनोनित गर्नुपर्ने दबाब



काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफूले मनोनित गर्ने पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य टुंग्याउने छलफलमा जुटेका छन् । चार पटक संशोधन भएको पार्टीको विधानले सभापति रवि लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य र दश पदाधिकारी मनोनित गर्न सम्पूर्ण अधिकार दिएकाले उनी निकटस्थहरुसँग छलफलमा छन् ।

मुख्यगरी रास्वपासँग समायोजनमा आएका घटकहरू सहित पार्टीबाट प्रधानमन्त्री बनेका वरिष्ठ नेता बालेन्द्र शाहसँग समायोजनका प्रक्रियाहरु टुंग्याउने विषयमा सभापति रविले छलफल गरिरहेको बताइन्छ । रविको सचिवालय स्रोतले दिएको जानकारी अनुसार उनले समायोजनमा आएका विभिन्न समूहलाई पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यमा समेट्ने तयारी गरिरहेका छन् । उनीहरूलाई महाधिवेशनका क्रममा अरु नेताहरुसँग सीधै निर्वाचनमा भिडाउँदा पराजित हुने जोखिम रहेकाले मनोनित कोटाबाट समेट्ने तयारी भइरहेको पार्टी नेता गणेश पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार विभिन्न समूहबाट आएका नेताहरूलाई पार्टीका संस्थापक नेताहरूसँग निर्वाचन भिडाउँदा उनीहरुमाथि अन्याय हुने पार्टीको ठहर थियो । ‘एकता महाधिवेशन भएकाले यही झल्को दिनेगरी उहाँले सबैलाई समेट्नुहुन्छ,’ उनले भने, ‘सभापतिलाई नै विश्वास गरेर यहाँसम्म सबै जोडिएका हौँ । उहाँले त्यही अनुसार काम गर्नुहुन्छ ।’

रविले अहिले गृहमन्त्री सुदन गुरुङ, प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह, विवेकशील साझाकी पूर्वअध्यक्ष समीक्षा बास्कोटा, रञ्जु दर्शना, थारु समायोजनमा आएका लक्ष्मण थारु, दलित समूहबाट पार्टी समायोजनमा आएका खगेन्द्र सुनार र जेन-जी समूहहरूसँग अनौपचारिक रूपमा छलफल गरिरहेका छन् । यस्तै, उनी पार्टीका शीर्ष नेतृत्वसँग पनि निरन्तर संवादमा छन् ।

विधानले मनोनयनको सम्पूर्ण अधिकार दिएपनि पार्टी विधि र नीतिमा चल्नुपर्ने भएकाले विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्ने तयारीमा रहेको उनको सचिवालय बताउँछ । ‘स्वभाविक हिसाबले पार्टीमा क-कसलाई समेट्ने विषयमा अनौपचारिक रुपले नेताहरुसँग सभापतिले छलफल गर्ने नै हुनुभयो । तर, पूरा अधिकार उहाँलाई छ, उहाँले आवश्यकता हेरेर मनोनित गर्नुहुन्छ,’ रविको सचिवालय भन्छ, ‘एकता महाधिवेशन भएकाले सबै समूहलाई एकीकृत गरी केन्द्रीय सदस्य पदाधिकारी र सचिवालय टुङ्ग्याउने तयारी छ । यो आजभोलि नै हुने कुरा होइन, आवश्यकता हेरेर विस्तारै टुङ्गिदै जान्छ ।’

निर्वाचन प्रक्रिया र सर्वसम्मत विधिबाट आएका पदाधिकारी हेर्दा अहिले पार्टीभित्र रवि लामिछाने बलियो देखिएका छन् । तर पार्टी सबैको साझा भएकाले को कति बलियो भन्ने विश्लेषण गर्नु पुरानै राजनीतिक अभ्यासको निरन्तरता हुने पूर्वमहामन्त्री भूपादेव शाह बताउँछन् । ‘पार्टी एक ढिक्का छ । कुनै गुट छैन । को कताको भन्नु पुरानो राजनीतिक दलको अभ्यासलाई निरन्तरता दिनु हो । हाम्रोमा यस्तो छैन,’ महाधिवेशन लगत्तै शाहले भनेका थिए, ‘अब हामी काम गर्छौं । एक भएका छौं । सरकार चलाउनेले सरकार चलाउनुहुन्छ पार्टी चलाउनेले पार्टी चलाउँछौँ ।’

१० पदाधिकारीमध्ये केहीलाई बुधबारै मनोनित गर्न सक्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचनको प्रक्रिया सामना गरेर ५ पदाधिकारी निर्वाचित भएका छन् । यस्तै वरिष्ठ नेतामा वालेन्द्र शाह स्वतः मनोनीत भएको देखिन्छ । छ जना पदाधिकारीमध्ये स्वर्णम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा सोबिता गौतम आउँदा महामन्त्रीमा रवि पक्षका विपिनकुमार आचार्य निर्वाचित भएका छन् । सहमहामन्त्रीमा महिलातर्फ निशा डाँगी र खुल्लातर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् ।

पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । अब बाँकी १० पदाधिकारी रविले मनोनित गर्न पाउनेछन् । १० जना पदाधिकारीमध्ये पार्टीलाई अत्यावश्यक चाहिने पार्टी प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी अहिलेसम्म कसैलाई दिइएको छैन । त्यस कारण पनि रविपक्षका नेताहरू बुधबार नै उनले केही पदाधिकारी मनोनित गर्न सक्ने जानकारी दिन्छन् ।

तर यसबारे पूरै तयारी पुगिनसकेको बताउँछन् । ‘पार्टी प्रवक्ता, कोषाध्यक्ष, महामन्त्री लगायतको पद अति आवश्यक भएकाले बुधबारै केही पदाधिकारी टुङ्ग्याएर जाउँ भनेर हामीले पनि सुझाव दिएका छौँ । सभापतिज्यूले पनि पदाधिकारीमा प्रवक्ता र केही टुङ्ग्याउनुपर्ने कुरा राख्नुभएको छ । तर, फाइनल भएको छैन । छलफलमै छौँ,’ निर्वाचित एक पदाधिकारीले खबरहबलाई भने, ‘पार्टी प्रवक्ता नराख्दा त हामीलाई सुखै छैन, त्यसरी नै एउटा सानो बिल काट्नुपर्ने भएकाले कोषाध्यक्ष पनि टुङ्ग्यानुपर्ने अवस्था छ ।’ अहिलेको कोषाध्यक्षको जिम्मेवारीमा पूर्वकोषाध्यक्ष लिमा अधिकारी नै छिन् । तर, महाधिवेशनलगतै पार्टी प्रवक्ताको जिम्मेवारीबाट मनिष झा बिदा भइसकेका छन् ।

पार्टी प्रवक्ताका लागि अहिले रविका विश्वासपात्र दीपक बोहरा, प्रमोद न्यौपानेको नाम चर्चामा देखिन्छ । धेरै जना नेताले गणेश पराजुलीलाई पनि पार्टी प्रवक्ता बनाउनुपर्ने कुरा अगाडि राख्दा उनी भने कुनै प्रतिक्रिया दिँदैनन् । हुन त मनिषलाई नै पुरानो जिम्मेवारी दिनुपर्ने पनि नेताहरूको आवाज छ । तर, रवि लामिछानेका विश्वासपात्र विपिनसँग महामन्त्रीमा भिडेका मनिषलाई यो पद दिने सम्भावना भने न्यून देखिन्छ ।

बुधबार सभापतिले प्रवक्ता र कोषाध्यक्ष पदमा कसैलाई मनोनित नगरेको खण्डमा कुनै एक सहममन्त्रीलाई प्रवक्ताको जिम्मेवारी दिने बताइन्छ । तर रवि निकट नेताहरूले दिएको जानकारी अनुसार भोलि केन्द्रीय कमिटीको शपथ लगत्तै पदाधिकारीको सपथ भएकाले दुवै सपथ लगत्तै बैठक बसेर केही पदाधिकारी मनोनित गर्ने तयारी भएको छ ।

स्वभाविक हिसाबले रविले प्रवक्ता मनोनीत गर्दा आफ्ना विश्वास पात्रलाई जिम्मेवारी दिनेछन् । महामन्त्रीमा बालेन पक्षबाट भूपदेव शाह आउने सम्भावना रहँदा उपसभापतिमा सुनिल लम्सालको नाम अगाडि देखिन्छ। सुनिल लम्साल या विवेकशील साझाका कोही व्यक्ति उपसभापतिमा आउँदा गणेश पराजुलीको पनि सम्भावना रहेको बताइन्छ ।

कोषाध्यक्षमा धेरैले लिमालाई नै दोहोर्‍याउनुपर्ने मत राखिरहँदा समायोजनको प्रक्रियाबाट आएका विवेकशील साझाकी पूर्वनेत्री रन्जु दर्शनाको पनि नाम छ । धेरैले त दर्शनालाई नै प्रवक्ताको जिम्मेवारी दिनुपर्ने आवाज पनि उठाएका छन् । पदाधिकारीको कुनै भूमिकामा रन्जु दर्शनालाई पनि समेट्ने तयारी भइरहेको हुनसक्ने बताइन्छ ।

पदाधिकारीमा समेट्नुपर्ने अर्को व्यक्ति बसुमाया तामाङ पनि हुन् । उनी २०७९ मा २१ जनाले पार्टी स्थापना गर्दा सँगै थिइन् । सहमहामन्त्रीमा प्रदीपचन्द्र परियार पनि समेटिने सम्भावना छ । यस्तै लक्ष्मण थारु, सुधन गुरुङ, खगेन्द्र सुनार र इन्दिरा राना लगायतका नेताहरू पनि पदाधिकारीमा समेटिने सम्भावना छ । अब रविले पदाधिकारी मनोनित गर्दा समावेशिताको सिद्धान्तलाई ख्याल गरेर मनोनित गर्नुपर्ने हुन्छ ।

सचिवालयमा पनि उस्तै

केही पदाधिकारी सचिवालय सदस्य स्वत हुने विधान पार्टीमा छ। त्यसकारण ३३ जना सचिवालय सदस्यमध्ये रविले आधाभन्दा बढी सचिवालय सदस्य मनोनित गर्न पाउनेछन् । सचिवालय सदस्य मनोनित गर्दा पनि उनले विभिन्न समूहबाट आएका व्यक्तिहरुलाई समेट्ने र आफू निकटलाई पनि अवसर दिने बताइन्छ । समावेशिता र एकताको भावनालाई समेटेर सचिवालय सदस्य र पदाधिकारी मनोनित गर्ने सभापतिले तयारी गरेको नेता प्रदिपचन्द्र परियार बताउँछन्।

हुन त नेत्री समीक्षा बास्कोटा पनि सभापतिलाई नै मनोनित गर्ने सम्पूर्ण अधिकार दिएकाले विवेक पुर्‍याएर मनोनित गर्ने बताउँदै आएकी छन् । ‘पहिलो महाधिवेशन भनेको एकताको महाधिवेशन हो। एकताको झल्को दिने गरी सबै समूहलाई समेटेर उहाँले सचिवालय पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ । सभापतिले कसैलाई पनि अन्याय गर्नु हुँदैन ।’ बाँसकोटाले खबरहबलाई भनिन्, ‘सम्पूर्ण अधिकार सभापतिलाई दिएको भएर उहाँले आफूले काम गर्न सक्ने टिम पनि छनोट पक्कै गर्नुहुन्छ । महाधिवेशनले यो या त्यो पक्ष सबैलाई चिरिदिएको छ । अब सबै पार्टीका सदस्य भयौँ । सबैलाई समावेशिताको सिद्धान्त अनुरुप सहभागीतामूलक हिसाबले जोड्नुहुन्छ । क्यापेबल मान्छे पनि पक्कै पनि हेर्नुपर्ने हुन्छ । किनभने पार्टी चलाउन त सक्षम नेतृत्व जान्ने व्यक्ति पनि चाहियो ।’

५१ केन्द्रीय सदस्य आवश्यकता अनुसार मनोनित गर्दै जाने

केन्द्रीय सदस्य मनोनित गर्ने विषयमा पनि रविसामु धेरै नेताहरूको नाम पुगेको छ । समायोजनबाट आएका विभिन्न नेताहरू सहित जेन-जी र विज्ञ सदस्यहरूलाई पनि केन्द्रीय कमिटीमा समेट्ने तयारी रविले गरेका छन् । केन्द्रीय सदस्यमा नेताहरू मनोनित गर्दै जाने अधिकार रविले उपभोग गर्नेछन् । केन्द्रीय सदस्यको शपथ बुधबार बिहान ११ बजे भएकाले बुधबारै केही केन्द्रीय सदस्य थप्नसक्ने पनि स्रोतले जानकारी दियो । केन्द्रीय सदस्यको शपथ लगत्तै शुभकामना आदानप्रदान कार्यक्रम सकिएपछि उनले सचिवालय बैठकमार्फत यसबारे केही निर्णय लिनसक्ने स्रोतको भनाइ छ । तर अहिलेसम्म एक-एक जानकारी नआएको पार्टी पदाधिकारी बताउँछन् ।

शुक्रबार सकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य र ६ जना पदाधिकारीको सपथ बुधबार हुने भएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको सपथ ग्रहणपछि पहिलो केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भएको पार्टी सहममन्त्री निशा डाँगी बताउँछिन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : २१ बजे

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण